ad ad

राजनीति


वामदेवको प्रस्तावमा बालकोट चुपचाप, खुमलटार उत्साहित

पार्टी बैठकमा प्रचण्डले ल्याउलान् एकता प्रस्ताव?
वामदेवको प्रस्तावमा बालकोट चुपचाप, खुमलटार उत्साहित

फाइल तस्बिर


सागर न्यौपाने
असार १६, २०७९ बिहिबार २०:१३, काठमाडौँ

नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले १६ असार एकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेर एउटै प्रस्ताव राखे–कम्युनिष्ट एक हुनुपर्यो।’

बिहीबार बिहान बालकोट पुगेर गौतमले ठूलो दलको अध्यक्षको हैसियतमा कम्युनिष्ट पार्टीबीचको एकताको पहल लिन ओलीलाई सुझाव मात्र दिएनन्, उनको पार्टीका लिखित निर्णय पनि बुझाए।

गौतमको सुझाव चाख दिएर सुने पनि ओलीले कुनै प्रतिक्रिया जनाएनन्, मौन बसिरहे।

‘कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी हाम्रो पार्टीले गरेका निर्णयबारे मैले उहाँलाई जानकारी गराएँ,’ गौतमले नेपालखबरसँग भने, ‘त्यसबारे उहाँ बोल्नुभएको छैन। मैले हाम्रो निर्णयहरु बुझाएको छु।’

बालकोटमा गौतमले दुई घण्टा ओलीसँग बिताए। दुई नेताबीच नेकपाको विभाजनदेखि विगतको मित्रताका समेत कुरा पनि भए।

त्यसको एक घण्टापछि गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे।

१९ असारमा बस्न लागेको केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन लेखिरहेका प्रचण्डलाई गौतमले प्रस्ताव राखे, ‘कम्युनिष्ट घटकबीचको एकताका लागि तपाईँले प्रयत्न गर्नुपर्‍यो।’
एक घण्टा खुमलटारमा बिताएका गौतमले प्रचण्डलाई पनि पार्टीको निर्णय बुझाए।

त्यसमा सके कम्युनिष्टबीच एकता नभए आगामी प्रदेश र संघीय निर्वाचनसम्म एउटै मोर्चा बनाएर जानुपर्ने विकल्प अघि सारिएको छ।

लगत्तै प्रचण्डले उत्साहित हुँदै आफू कम्युनिष्ट एकताको पक्षमा रहेको बताए।

‘तपाईँले ल्याउनुभएको प्रस्ताव प्रति म सकारात्मक छु, मैले त कम्युनिष्टहरूबीच एकता हुनुपर्छ भन्दै आएको छु यसमा तपाईँले अझ पहल गर्नुभयो धन्यवाद छ,’ प्रचण्डको भनाइ उधृत गर्दै गौतमनिकट एक नेताले नेपालखबरसँग भने, ‘तपाईँले सारेका विकल्पमा अघि जान सकिन्छ।’

‘कुनै विकल्पमा कुरा मिल्छ भने हामी सहकार्यमा जान सक्छौं,’ प्रचण्डले गौतमसँग भने, ‘पार्टी एकता, चुनावी तालमेल, वाम गठबन्धन सबैका लागि म तयार छु, त्यही अनुसार तपाईँ पनि लाग्नुहोला।’

स्थानीय तहको निर्वाचन परिणामपछि एमाले र माओवादी केन्द्रबीच गठबन्धन गराउने प्रयास भइरहेका बेला वामदेव सक्रिय भएका हुन्।

माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट घटकबीचको गठबन्धन निर्माणमा जोड दिइरहेका छन्।

एमालेका नेताहरु माओवादी केन्द्रसँगको गठबन्धनका लागि लचिलो हुनुपर्ने निष्कर्षसहित दोस्रो र तेस्रो तहका नेताहरु पनि भेटघाटमा जुटेका बेला गौतमले १६ असारमा दुई अध्यक्षसँग वार्ता गरेका हुन्।

आफ्नो प्रस्तावमा ओलीले ठोस प्रतिक्रिया नजनाएपछि निराश देखिएका गौतम प्रचण्डले दिएको सकारात्मक जवाफले उत्साहित भएका छन्।

उनले आफूनिकट नेताहरुलाई आफ्नो प्रयास सफल हुनेगरी अघि बढेको बताए।

राजनीतिक प्रतिवेदन लेखनमा जुटेका प्रचण्डले सम्भवतः कम्युनिष्ट पार्टीबीचको एकता प्रस्ताव ल्याउने सम्भावना छ।

‘सिसी (केन्द्रीय समिति) बैठकका एजेण्डा धेरै हुन्छन्, तर, अध्यक्षले ल्याउने राजनीतिक डकुमेन्टमा एउटा विषय एकता पनि हुन्छ,’ प्रचण्डनिकट एक नेताले भने।

प्रचण्डले १५ असारमा विप्लव नेतृत्वका नेकपाका केही नेतालाई माओवादी भित्र्याउँदै सबै कम्युनिष्टलाई एकीकृत गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका थिए।

‘माओवादी मात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ। हामीले सबै सच्चा कम्युनिस्टलाई एकीकृत गर्नुछ, जो माओवादीभन्दा बाहिर पनि छ।’

प्रचण्डले एमालेसँगको एकताको सम्भावना रहेको खुलासा पनि गरेका थिए।

माओवादीभन्दा बाहिर रहेका सबै कम्युनिस्ट अवसरवादी नभएको उनको भनाइ थियो।

‘माओवादीभन्दा बाहिर पनि राष्ट्रिय स्वाधीनताको सुदृढ गर्नैपर्छ भन्ने पनि छन्,’ प्रचण्डको भनाइ छ, ‘एमालेभित्र पनि केपी ओली प्रवृत्ति नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ भन्ने मलाई लाग्छ।’

सम्भवतः प्रचण्डले एमाले, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीबाट विभाजित नेकपा क्रान्तिकारी माओवादी, नेकपा, नेकपा बहुमत लगायतलाई एकैपटक एकता आह्वान गर्न सक्ने सम्भावना पनि छ।

ठीक त्यही बेला राजनीतिक प्रतिवेदन लेखिरहेका प्रचण्डसँग नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेवले भेटेपछि उनी उत्साहित छन्।

बालकोट–खुमलटारबीच दूरी घटाउन दुवैतर्फका नेताहरु सक्रिय भइरहेका बेला वामदेवको दौडधूपले कस्तो नतिजा देला? यसबारे अहिले नै विश्लेषण गर्न नेताहरु मान्दैनन्। किनकी वामदेवकै कारण नेकपामा समस्या आएको एमाले र माओवादी केन्द्रको विश्लेषण छ।

‘वामदेव कहिले कता ढल्कने र कहिले कता ढल्कने गर्दा विगतमा पनि समस्या देखियो, अब फेरि निर्णायक मोडमा उहाँको भूमिका के हुन्छ, विश्वास गरिहाल्न कठिन छ’, माओवादीका एक नेताले नेपालखबरसँग भने, ‘वामदेवजी अडानमा बस्नुभएको भए नेकपा फुट्ने सम्भावना थिएन, अहिले पनि कम्युनिष्टकै सरकार बन्थ्यो।’

वामदेवले पनि १४ असारमा पार्टी घोषणा कार्यक्रममा आफूमाथि लाग्ने गरेको आरोप स्वीकार गरेका थिए।

‘म कल्पनावादी हुँ। नेकपा विभाजनमा मेरो केही गल्ती छैन भन्दिनँ, त्यही भएर त्यो पार्टीमा मेरो माया छ, त्यही भएर  जुटाउन लागेको छु,’ गौतमले भने, ‘कमरेड केपीले भन्नुहुन्छ, पार्टी फुटाउने मुख्य व्यक्ति तपाईं नै हो। कसरी मैले भनेँ? तपाईंले प्रचण्डलाई साथ नदिएको भए मेरोविरूद्ध आउने नै थिएनन्। हो कि होइन? प्रचण्डले पनि कहिले केपीतिर कहिले हामीतिर गरेकाले पार्टी फुटेको हो भन्नुभएको थियो। त्यो पनि हो। किनभने केपी र प्रचण्ड दुवै मेरा अध्यक्ष हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .