चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभागका प्रमुख लिउ जिआन्चाओ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतबार (२६ असार) साँझ नेपाल–चीन सम्बन्धका अलावा दुई मुलुकबीचको सम्बन्ध उचाइमा पुर्याउन प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वाह गरेको भूमिकाको पनि चर्चा भयो।
लिउले चीनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन तत्कालीन प्रधानमन्त्री बीपीले गरेको वकालतको प्रसंशा गरे। बीपी प्रधानमन्त्री छँदादेखि नै दुई पार्टीबीच सुमधुर सम्बन्ध रहेको स्मरण पनि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई गराए।
बीपी र चिनियाँ नेताबीचको सम्बन्धबारे विदेश विभाग प्रमुख लिउलाई जति जानकारी थियो र प्रधानमन्त्री देउवासँगको कुराकानीमा कांग्रेस–सीपीसी सम्बन्धबारे उनले जति विवरण उल्लेख गरेका थिए, सोमबार (२७ असार) विहान यसबारे लिउले अझ बढी ज्ञान हासिल गर्ने अवसर प्राप्त गरे।
काठमाडौँको उत्तरीक्षेत्रमा रहेको सुन्दरीजलस्थित बीपी स्मृति संग्रहालयमा गरेको भ्रमणबाट उनले बीपी र चिनियाँ नेताहरुबीचको घनिष्ट र प्रगाढ सम्बन्धबारे विस्तृत जानकारी हासिल गर्ने अवसर प्राप्त गरेका हुन्।
राजा महेन्द्रले २०१७ पुसमा जननिर्वाचित प्रधानमन्त्री बीपीलाई अपदस्थ गरेपछि सैनिक ब्यारेक रहेको सुन्दरीजलमा लगी थुनेका थिए। २०३३ पुसमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि राजा वीरेन्द्रले पनि बीपीलाई थुन्न त्यहीँ पुर्याएका थिए।
बीपीलाई थुनिएको सैनिक व्यारेक अहिले बीपी स्मृति संग्रहालयमा परिणत भएको छ। बीपीबारे थप जानकारी लिन सोमबार (२७ असार) विहान लिउ सुन्दरीजल पुगेका थिए।
तीनदिनअघि नै अग्रिम टोली
विदेश विभाग प्रमुख लिउ संग्रहालय पुग्दा संग्रहालयका अध्यक्ष परशुराम पोखरेलका अलावा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाका विदेश मामिला सल्लाहकार एवं पूर्वराजदूत डा. दिनेश भट्टराई पनि थिए।
‘चिनियाँहरुको स्मरणमा पहिलेदेखि नै बीपी रहने गर्नुभएको छ’, डा. भट्टराईले भने, ‘त्यसैले नेपाल–चीन सम्बन्धबारे चर्चा हुँदा चिनियाँ अधिकारीहरुले नेपाल–चीन सम्बन्धमा बीपीले निर्वाह गर्नुभएको भूमिकाको चर्चा गर्दै आएका छन्।’
२०१६ मा संयुक्त राष्ट्रसंघीय महासभामा सम्बोधनका क्रममा बीपीले चीनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन वकालत गरेका थिए। उनी प्रधानमन्त्री छँदा भएको नेपाल–चीनबीचको शान्ति तथा मैत्री सन्धि र सीमा सम्झौता भएको थियो। बीपी सदैव एक चीन नीतिको पक्षमा समेत उभिए।
गैर कम्युनिष्ट भए पनि यिनै कारणहरुले गर्दा बीपी चिनियाँहरुको स्मरणमा रहेका हुन्।
चिनियाँहरुका लागि बीपी यति धेरै स्मरणीय भए पनि नेपाल भ्रमणमा आउने शीर्ष चिनियाँ अधिकारीहरु बीपीलाई थप बुझ्न सुन्दरीजलमा रहेको बीपी स्मृति संग्रहालय पुग्ने गरेका थिएनन्। अध्यक्ष पोखरेलका भनाइमा, लिउ नै त्यहाँ पुग्ने पहिलो शीर्ष चिनियाँ अधिकारी हुन्।
नेपाल भ्रमणको कार्यक्रम मिलाउने क्रममा नै लिउ बीपी संग्रहालयको अवलोकनमा जाने जाने कार्यक्रम पनि तय गरिसकिएको थियो। उनी त्यहाँ जाने तय भएपछि काठमाडौँस्थित कार्यबाहक चिनियाँ राजदूत वाङ चु २४ असारमा सुन्दरीजल पुगेका थिए।
संग्रहालयका अध्यक्ष पोख्रेलको भनाइमा कार्यवाहक राजदूत वाङको सो भ्रमण विदेश विभाग प्रमुख लिउको अवलोकन भ्रमणका विषयमा केन्द्रित थियो। त्यसक्रममा उनले संग्रहालय र संग्रहालयमा रहेका बीपीसँग सम्बन्धित सामग्रीबारे जानकारी लिएका थिए।
वाङपछि फेरि चिनियाँ राजदूतावासबाटै अर्काे टोली पनि शनिबार संग्रहालय पुगेको थियो।
‘राजदूतावासका अधिकारीहरुबाट दुई–दुई पटक अवलोकन भएपछिमात्र विदेश विभाग प्रमुख लिउ आउनु भएको हो’ अध्यक्ष पोखरेलले भने, ‘यसबाट चिनियाँ पक्षले बीपीबारे चिनियाँहरुमा निकै चासो रहेको हामीले महसुस गर्यौँ।’
लिउको संग्रहालय अवलोकन भ्रमण अगाडि दुई–दुई पटक चिनियाँ दूतावासका अधिकारीहरु सुन्दरीजल पुगेपछि चीन र बीपीबीचको सम्बन्धबारे लिउलाई थप जानकारी हुने गरी संग्रहालयले तयारी गरेको थियो।
बीपी–माओको भेट देखेपछि
१२ बैशाख (०७२) को भूकम्पले संग्रहालयका राणाकालीन भवनहरुलाई पनि क्षति पुर्याएको थियो। त्यसैले, संग्रहालय अहिलेपनि पुननिर्माणकै क्रममा छ। संग्रहालयका भवन पुनर्निर्माण थालिएपछि त्यहाँ रहेका बीपीसँग सम्बन्धित तस्बिर, व्यक्तिगत सामाग्री र बीपीको नेतृत्वमा भएको ००७ को क्रान्तिसम्बन्धी सामाग्रीहरु थन्क्याएर राखिएका थिए।
चिनियाँ नेता संग्रहालयको भ्रमणमा आउने भएपछि कोठामा थन्क्याइएका महत्वपूर्ण सामाग्रीहरु पोका र दराजहरुबाट निकालियो। बाकसबाट निकालेर तस्बिरहरुमा टाँसिएको धुलो पुछियो।
‘संग्रहालयमा बीपीको चीन भ्रमण र बीपी प्रधानमन्त्री छँदा नेपाल भ्रमणमा आउनु भएका चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाईको भ्रमणसँग सम्बन्धित तस्बिरहरु पनि छन्’ अध्यक्ष पोखरेलले भने, ‘उहाँ (लिउ) आउनु हुने भएपछि हामीले ती तस्बिर निकाल्यौँ, ताकि तस्बिरबाट चीन र बीपीबीचको सम्बन्धबारे उहाँलाई थप जानकारी मिल्न सकोस्।’
तिनमा बीपी र माओको भेटघाट, बीपी र चिनियाँ राष्ट्रपति ल्यू शाओची र प्रधानमन्त्री चाउ–एन–लाईबीचको भेटघाटका तस्बिर थिए।
‘बीपीपत्नी सुशीला भाउजूले पनि माओ र चाउ–एन–लाइसँग भेट गर्नुभएको थियो, हामीसँग रहेका यी तस्बिर पनि हामीले निकाल्यौँ र अवलोकन गर्न मिल्ने गरी राख्यौँ’ उनले भने, ‘माओलाई नेपाली टोपी लगाइएको तस्बिर पनि यहीँ लिउले अवलोकन गर्ने अवसर प्राप्त गर्नुभयो।’
संग्रहालयको मूल द्वारमा प्रवेश गर्नासाथ समकालीन चिनियाँ शीर्षनेताहरुसँग बीपीको कस्तो सम्बन्ध थियो, त्यसबारे जानकारी दिनेगरी तस्बिरहरुको संयोजन गरिएको थियो।
‘मूल द्वारमै हामीले माओत्सेतुङ्ग र बीपीबीचको भेटघाटको तस्बिर राखेका थियौँ, त्यसपछि क्रमैसँग बीपी र चाउ–एन–लाईबीचको भेटघाटका तस्बिरहरु थिए’ पोखरेलले थपे, ‘बीपीको चीन भ्रमण र चाउ–एन–लाईको नेपाल भ्रमणका बेलाका तस्बिरहरु पनि उहाँले अवलोकन गर्ने अवसर प्राप्त गर्नुभयो।’
बीपीको माओ–त्से–तुङ्ग र चाउ–एन–लाइसँगका तस्बिरहरु देखेपछि लिउ निकै रोमाञ्चित बने। तस्बिरहरु नियालेर हेरे।
अध्यक्ष पोखरेलले चिनियाँ नेताको प्रतिक्रिया सुनाए, ‘संग्रहालयको मूलद्वारमै बीपी र माओत्सेतुङ्गको तस्बिर देखेपछि लिउको प्रतिक्रिया थियो– ओ हो... !’
बीपीको जनमुक्ति सेना
बिसं २००७ को क्रान्तिमा पटक–पटक आक्रमण गर्दापनि जनमुक्ति सेनाले विराटनगरस्थित बडाहाकिम निवास कब्जा गर्न सकेन। बडाहाकिम निवासको किल्लाबन्दी मजबुत भएकाले किल्लाबन्दी तोड्न कांग्रेस नेतृत्वको जनमुक्ति सेनालाई हम्मे पर्यो।
बिराटनगर कब्जा गर्न बडाहाकिम निवास कब्जा गर्नुपर्थ्यो। तर, बलियो पर्खालभित्र रहेको बडाहाकिम निवास कब्जा गर्न आधुनिक हतियार कांग्रेससँग थिएनन्।
बडाहाकिम निवासको किल्लाबन्दी तोड्न बीपीले जनमुक्ति सेनालाई तोप र ट्याङ्क बनाउने आदेश दिए। तोप बन्यो। तर, बडाहाकिम निवास नजिकै थियो। त्यसको गोली भने निकै परसम्म पुग्थ्यो। यही कारण तोप व्यवहारिक नहुने भयो।
‘आत्मबृत्तान्त’ मा बीपीले उल्लेख गरे अनुसार, टाढामात्र फायर गर्न मिल्ने भएकाले बडाहाकिम निवासमाथि आक्रमण गर्न बैकल्पिक उपाय खोजियो। विराटनगरमा रहेको ट्र्याक्टरलाई ट्याङ्क बनाएर किल्लाबन्दी तोड्ने उपाय निकालियो।
‘फलामका पाताहरुले त्यसलाई बेरेर ट्याङ्कजस्तो बनाउने एउटा सुझाव आयो, त्यसलाई हाँकेर बडाहाकिमको कम्पाउण्डको पर्खाल तोड्ने तय भयो’ आत्मबृत्तान्तमा बीपी भन्छन्, ‘५–६ दिन लगाएर त्यो तयार भयो, त्यो पनि रबरको टायर भएको ट्र्याक्टर होइन, क्याटरपिलर टाइपको ट्र्याक्टर थियो।’
ट्र्याक्टरबाट रुपान्तरित ट्याङ्कले योजना बमोजिम काम गर्यो। बडाहाकिम निवास कब्जा भएपछि बीपी कोइरालाको गृहनगर विराटनरपनि नेपाली कांग्रेसको कब्जामा गयो।
विराटनगर कब्जा गर्न निर्णायक बनेका दुवै हतियार– तोप र ट्याङ्क बीपी संग्रहालयमा सुरक्षित छन्। अध्यक्ष पोखरेलका भनाइमा, ०७ को क्रान्तिकालीन यी दुवै हतियार पनि लिउले निकै रुचिपूर्वक अवलोकन गरे।
बीपीको नेतृत्वमा ०७ को क्रान्ति हुनुभन्दा एक वर्षअघिमात्र माओत्सेतुङ्गको नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको थियो। क्रान्तिका लागि माओ र बीपीले नेतृत्व गरेका सैन्य दस्ताको नाम जनमुक्ति सेना (पिपुल्स लिवरेशन आर्मी–पिएलए) थिए।
‘चीनमा जस्तो हामीसँग अहिले जनमुक्ति सेना त छैन, तर २००७ को क्रान्तिकालिन जनमुक्ति सेनाका तस्बिरहरु छन्’ पोखरेलले भने, ‘ती तस्बिरपनि हामीले लिउलाई देखायौँ र नेपालमा पनि बीपीको नेतृत्वमा जनमुक्ति सेना थियो भनेर उहाँलाई जानकारी गरायौँ।’
२०२९–०३१ को सशस्त्र संघर्षका क्रममा कांग्रेसले अपहरण गरी फार्विसगञ्ज (विहार, भारत) पुर्याएको शाही नेपाल वायसेवा निगम जहाजपनि संग्रहालयमा सुरक्षित छ। लिउलाई सो जहाजको ‘ब्ल्याकबक्स’ पनि देखाइएको थियो।
‘बीपी राजनीतिक नेतामात्र होइन, सैनिक कमाण्डर पनि हुनुुहुन्थ्यो, संग्रहालयमा रहेका सैनिक सामाग्रीमार्फत् हामीले यो कुरा जानकारी गरायौँ’ पोखरेलले भने, ‘जहाजको ‘ब्ल्याकबक्स’ मार्फत् बीपी आकासजस्तै उचाईका ‘क्रान्तिकारी नेता’ हुनुहुन्छ भन्ने देखाउन चाहन्थ्यौँ। लिउले पनि यो कुरा अनुभूत गर्नुभयो।’
बीपी–वीरेन्द्रलाई बुझ्ने अवसर
लिउले माओ–त्से–तुङ्ग र चाउ–एन–लाईसँग बीपीको सुमधुर सम्बन्ध झल्काउने तस्बिर र क्रान्तिकालीन तोप र ट्याङ्कमात्र होइन, २०१७ को ‘कू’ पछि बीपीलाई राखिएको स्थान, उनको भान्सा लगायतका कोठाहरु पनि निकै रुचिका साथ अवलोकन गरे।
‘बीपीको राजनीतिक जीवन र उतारचढावहरु पक्कैपनि लिउलाई जानकारी थियो’ डा. भट्टराईले भने, ‘त्यसैले, बीपी थुनामा छँदा उहाँले प्रयोग गरेका कोठा, भान्सा लगायतका स्थान निकै चासोका साथ अवलोकन गर्नुभयो। ती स्थानबारे जिज्ञासा राखेर प्रश्न पनि गर्नुभयो।’
डा. भट्टराईको भनाइमा, लिउले ‘बीपीलाई कहाँ राखिएको थियो, कति वर्ष राखियो र किन राखियो ?’ भन्ने जिज्ञासा राखेका थिए।
बीपी २०१७ को ‘कू’ पछि ८ वर्ष र २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि थप केही वर्ष सुन्दरीजलमा थुनिएका थिए। एक पटक होइन, दुई–दुई पटक बीपी सुन्दरीजलमा थुनिएको जानकारी लिउका नयाँ सूचना थियो।
चीनले सदैव बैध सत्तासँग निकट सम्बन्ध कायम राख्दै आएकाले राजा महेन्द्र र वीरेन्द्र दुवैको कार्यकालमा दरवारसँग चीनको सुमधुर र निकट सम्बन्ध रह्यो। तर, चीनसँग सुमधुर सम्बन्ध भएका दुवै राजाका पालामा बीपी सुन्दरीजलमा थुनिए।
राजा वीरेन्द्रलाई चिनियाँहरुले निकै मन पराउँथे भन्ने बुझेका पूर्वराजदूत डा. भट्टराईले सुन्दरीजल जेलमा दोस्रो पटक थुनिदा राजा वीरेन्द्र र बीपीकोबीच कस्तो सम्बन्ध थियो, त्यसबारे लिउलाई जानकारी गराए।
‘बीपीलाई दोस्रो पटक बन्दी बनाएर यहाँ (सुन्दरीजल) मा कैद गरेपनि राजा वीरेन्द्र अमानवीय थिएनन्’ डा. भट्टराईले लिउसँग भने, ‘राजाले क्यान्सरको उपचारका लागि थुनामा रहेका बीपीलाई राज्यकै खर्चमा उपचारका लागि अमेरिका पठाउनुभयो।’
चिनियाँ दूतावासका अधिकारीहरुको ब्रिफिङ्गबाट बीपीबारे जति जानकारी प्राप्त गरेका थिए, झण्डै एक घण्टाको अवलोकनबाट बीपी–चीन सम्बन्ध र बीपीका जीवनका विभिन्न आयामबारे लिउले अझ बढी जानकारी प्राप्त गरे।
त्यसैले, सुन्दरीजलबाट फर्कनुअघि अध्यक्ष पोखरेलसँग लिउको प्रतिक्रिया थियो, ‘संग्रहालयको अध्ययनबाट नेपाल–चीन सम्बन्धबारे थप जानकारी हासिल गर्ने अवसर प्राप्त गरेँ। यदि यहाँ नआएको भए निकै ‘मिस’ हुने रहेछ।’
तस्बिर सौजन्य : परशुराम पोख्रेल
Shares
प्रतिक्रिया