ad ad

राजनीति


विप्लव समूहमा अलमल, बहिष्कारवादी पनि चुपचाप

निर्वाचनमा जाने नजाने निर्णय महाधिवेशनबाटै
विप्लव समूहमा अलमल, बहिष्कारवादी पनि चुपचाप

फाइल तस्बिर


रुपक चौलागाईं
साउन ९, २०७९ सोमबार १४:१५, काठमाडौँ

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग २१ फागुन ०७३ मा ३ बुँदे सहमति गरेर शान्ति प्रक्रियाको बाटो रोजेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा यतिबेला अलमलमा परेको छ।

एकातिर सरकारसँग भएको सम्झौता पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन। अर्कोतर्फ, आफैंसँग रहेका सहयात्री नेताहरु धमाधम पार्टी छाडेर हिँड्न थालेका छन्। सरकारसँग वार्ता गरेको डेढ वर्ष नपुग्दै गत स्थानीय चुनावअघि नै पार्टी विभाजित भएको छ।

संसदीय राजनीतिलाई स्वीकार गरेको र अदृश्य रुपमा चुनावमा उम्मेदवार उठाएको आरोप लगाउँदै धर्मेन्द्र बास्तोला समूहका नेताहरुले नयाँ दल नै गठन गरेका छन्। धर्मेन्द्रसहित हेमन्तप्रकाश वली ‘सुदर्शन’ लगायत नेताहरुले विद्रोह गरेपछि विप्लव एक्लिएका छन्।

ओमप्रकाश पुन लगायतका नेताहरु विप्लवको साथ छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन्। पार्टीका नेताहरुमा असन्तुष्टि बढ्न थालेपछि विप्लव यतिबेला कसरी अघि बढ्ने भन्ने अलमलमा परेका हुन्।

०७४ निर्वाचन बिथोल्न सक्रिय भएको विप्लव समूह ३० वैशाखको स्थानीय निर्वाचनसम्म आइपुग्दा चुनावमा भाग नलिने तर विरोध पनि नगर्ने निर्णयमा पुगेका थियो।

महाधिवेशनबाटै आमनिर्वाचन रणनीति
अघिल्लो निर्वाचन बहिष्कारको नीति लिएको विप्लव समूह यो पटकको स्थानीय तह निर्वाचनसम्म आइपुग्दा केही ‘सफ्ट’ देखिएको छ।

यद्यपि आगामी मंसिरमा हुने आम निर्वाचनमा पार्टीका तर्फबाट कस्तो भूमिका हुने भन्नेबारे औपचारिक निर्णय भने भएको छैन। विप्लव नेतृत्वको नेकपाले आगामी १ असोजमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्दैछ।

त्यही महाधिवेशनबाट आम निर्वाचनको बारेमा ठोस निर्णय लिनेगरी तयारी भएको विप्लव निकट एक नेताले बताए। 

‘अहिलेलाई महाधिवेशन केन्द्रित हुने कुरा छ,’ ती नेताले नेपालखबरसँग भने, ‘चुनावको बारेमा ठोस निर्णय महाधिवेशनले नै गर्छ।’

विप्लवसहितका ४ दलले गत पुसमा बनाएको रणनीतिक मोर्चा बनाएर छलफल अघि बढाएका थिए। 

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी र ऋषिराम कट्टेलको नेतृत्वको नेकपा उक्त मोर्चामा सहभागी थिए।

मोर्चामा सहभागी भएकामध्ये चन्द, आहुति र कट्टेल अहिले पनि संवादमा छन्। यद्यपि वैद्यसँगको संवाद भने कमजोर बन्दै गएको विप्लव निकट एक नेताले बताए।

बहिस्कारवादी कता?
गत स्थानीय तह निर्वाचनमा जाने भएपछि ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मतभेद सुरु भयो। नेता बास्तोलासँगै अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत नेता भने निर्वाचनमा जान तयार थिएनन्।

विप्लवनिकट नेताहरु भने निर्वाचनप्रति ‘सफ्ट’ भए। यसपछि उत्पन्न विवादकै बीच आपसमा कारबाहीमै उत्रिए

अन्ततः बास्तोलासहितका नेताहरु अलग भएर नेकपा बहुमत नै स्थापना गरे। नेकपा बहुमत स्थापना गरेका बास्तोलासहितका नेताहरु पछिल्लो समय मोहन वैद्य ‘किरण’सँग नजिकिएका छन्।

गत पुसमा बनेको रणनीतिक मोर्चाबाट वैद्य बाहिरिएपछि बास्तोला, ओली लगायतका नेताहरु वैद्यसँग नजिकिएका हुन्। तर, वैद्यको पार्टीमा जाने/नजाने भन्ने विषयमा भने सोही समूहभित्र मतभेद सुरु भएको छ।

‘वैद्यसँग एकताको प्रयास भइरहेको छ,’ एक नेताले भने, ‘त्यहाँभित्र पनि एक थरीले हुन्छ भनेका र अर्को थरीले हुँदैन भनेका छन्।’

वैद्य समूहमा विशेषतः ओलीको कारण समस्या भएको ती नेता बताउँछन्। बास्तोलालाई ल्याउनमा समस्या नभएपनि ओलीको यसअघिको विवादित छविका कारण पनि वैद्यसँगै तत्काल एकताको प्रयास संभव हुन गाह्रो भएको ती नेताको दाबी छ।

‘सुदर्शनले कञ्चनभन्दा आफू ‘सिनियर’ भएको ठान्छन्,’ ती नेताले भने, ‘उता सांस्कृतिक विचलन भएको मान्छेलाई कसरी अघि ल्याउने भन्नेमा सुदर्शनप्रति नै असन्तुष्टि बढेको छ, सुदर्शनबारे रिजर्भेसन छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .