संघीय संसदको निर्वाचन मिति जति नजिकिँदै छ, वामपन्थी दलहरुले एकता वा मोर्चा बनाउने तयारी त्यो भन्दा तीव्र पारेका छन्।
फुटेका कम्युनिस्ट घटक (एमाले) बाहेक कम्युनिस्ट एक गराउन सबैभन्दा अगाडि कस्सिएका छन्,– वामदेव गौतम।
उनी नेकपा (राष्ट्रिय एकता पार्टी) का संयोजक छन्। भर्खरै उनको दल निर्वाचन आयोगमा दर्ता भएको छ।
नेकपाकालीन (एमाले–माओवादी एक भएर बनेको) सचिवालयका पाँच नेतासँग उनी निरन्तर संवाद गरिरहेका छन्।
२२ असार र ३ साउनमा दुईपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमसहितका पाँच नेताले छलफल गरिसके।
उनीहरुबीच आगामी चुनावमा मोर्चाबन्दी गर्ने सहमति जुटिसकेको छ।
माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार समाजवादी मोर्चा बनाउने र संघीय संसदका १ सय ६५ स्थानमै उम्मेदवारी दिने तयारी छ।
उता आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेसहित वाम गठबन्धन बनाउनुपर्ने पक्षमा छन्- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ।
श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीसमेत सहभागी कार्यक्रममा (३२ असार) प्रस्ताव राखे,– ‘आदरणीय नेता केपी ओली यहीँ हुनुहुन्छ, म विनम्रतापूर्वक निवेदन गर्छु- अब हामीले ‘तुम सेर तो हम सवा सेर’ छाडिदिऊँ, देशको अस्तित्व संकटबाट जोगाउन वामपन्थीहरू मिल्नुपर्छ। तत्काल पार्टी एकता गर्न नसकिएला तर कमसेकम तालमेल, मोर्चा गरेरै भएपनि अगाडि बढौँ।’
मंसिरमा हुने चुनावअघि नै वामपन्थीहरु एकै ठाउँमा ल्याउन पहल गर्ने गौतम र श्रेष्ठ दुवै जना राष्ट्रियसभाका सदस्य हुन्।
दुवै जना ०७४ को संघीय निर्वाचनमा हारेका थिए।
श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ मा डा. बाबुराम भट्टराईसँग र गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग हारेका थिए।
तर दुवैजना नेकपा रहेकै बेला जोडबल गरेर राष्ट्रियसभामा पुगे। उनीहरुमध्ये बर्दियामा हारेको तीन वर्ष वामदेवले प्रधानमन्त्री हुने महत्वाकांक्षासहित माथिल्लो सदनमा इन्ट्री गरेका थिए।
अर्कातिर प्रतिनिधिसभामा पराजित भएपछि राष्ट्रिय राजनीतिमा पछि पर्ने चिन्ताले नारायणकाजी पनि वामदेवपछि राष्ट्रियसभामै पुगे।
प्रतिनिधिसभामा हारेका उनी चुनाव जितेरै राष्ट्रिय सभामा पुगेका हुन्। यी दुवैजना प्रतिनिधिसभामा हारेको कार्यकालमै माथिल्लो सदनमा पुग्न सफल भएका हुन्।
९ माघ २०७७ मा राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेश अन्य समूहबाट श्रेष्ठ निर्वाचित भएका हुन्।
तत्कालीन नेकपाका सचिवालय सदस्यमा छैटाैँ वरीयतामा रहेका उनले गण्डकी प्रदेशबाट ३ हजार ४ सय ६२ मत ल्याउँदै कांग्रेसका सुरेन्द्र पाण्डेलाई हराएका थिए।
उनी ६ वर्षे कार्यकालका लागि संसदको उपल्लो (माथिल्लो) सदनका लागि निर्वाचित भएका हुन्।
वामदेव गौतम १ असोज २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेर राष्ट्रिय सभा सदस्य बनेका हुन्।
श्रेष्ठ र गौतम दुवैको राष्ट्रिय सभामा रहन ४ वर्ष बाँकी छ।
अहिले दुवै जना कम्युनिस्टबीच एकता वा चुनावी मोर्चा बनाउन किन चाहिरहेका छन्?
दुवै नेताका निकट स्रोतका अनुसार दुई कारण वाम गठबन्धन गर्न उनीहरु मरिहत्ते गर्दै छन्।
पहिलो - अब हुने प्रतिनिधि सभा चुनावमा दुवै उठ्न चाहन्छन्।
दोस्रो - कांग्रेससँगको गठबन्धन दीर्घकालीन हुँदैन र यो वैचारिक कोणबाट पनि उपयुक्त होइन।
दुवै नेता प्रत्यक्ष चुनाव जिते अब प्रधानमन्त्री बन्न आफूलाई तयारीमा राख्न चाहन्छन्।
गौतमले त प्रधानमन्त्री बन्न पाए मात्र राष्ट्रिय सभा सदस्य बन्ने सर्त राखेका थिए। तर उनको त्यो योजना पूरा भएन।
श्रेष्ठले भने प्रतिनिधि सभामा पराजयपछि आफ्नो निर्वाचन क्षेत्र गोरखामा विशेष सक्रियता बढाए।
३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले ११ पालिकामध्ये ९ पालिकामा शानदार जित निकाल्न मुख्य भूमिका खेलेका छन्।
यतिसम्म कि, डा.बाबुराम भट्टराईलाई नै निकै कमजोर बनाएर गोरखामा नारायणकाजी हाबी भए।
कोरोनाकालमा स्वास्थ्य सामग्रीदेखि गोरखाका स्थानीयको उपचार, विकास निर्माणको बजेट पार्ने हरेक कुरामा उनी निर्वाचन क्षेत्र केन्द्रित छन्।
महिनामा दुईदेखि तीनपटक उनी क्षेत्र पुग्छन् र केही दिन बसेर स्थानीयलाई भेटेर फर्कन्छन्।
गौतमले पनि निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन्।
उनी मंसिरमा हुने चुनाव लड्ने तयारीमा छन् त?
राष्ट्रिय सभा सदस्य बनेको साढे दुई वर्षमै श्रेष्ठ यसअघि पराजित भएकै निर्वाचन क्षेत्रमा चुनाव लड्लान्?
उनीनिकट स्रोतले त्यसकै लागि यति धेरै मिहिनेत भएको जवाफ दियो।
‘राष्ट्रिय सभाबाट राजीनामा दिएरै उहाँ प्रतिनिधि सभा चुनाव लड्न गोरखा जानुहुन्छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले उहाँले जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको वस्तुस्थितिदेखि स्थानीयको चासोबारे अध्ययन गरिरहनुभएको छ।’
त्यसो त श्रेष्ठलाई प्रतिनिधि सभा सदस्य पदमा जिताएरै पठाउने सर्लाहीका नेताहरुले जिम्मा लिएका छन्।
‘गोरखा जानुहुन्न भने हामी सर्लाहीबाट चुनाव जिताएर पठाउँछौँ कमरेड अब तपाईं प्रत्यक्ष संघीय चुनाव जितेर संसदमा जानुपर्छ,’ श्रेष्ठलाई भनेको भनाइ उधृत गर्दै स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँलाई प्रतिनिधि सभामै चुनाव लड्न तल्लो तहबाट दबाब छ।’
उनी आफैँ भने यसबारे अहिले केही नसोचेको बताउँछन्।
‘प्रतिनिधि सभामा मेरो उपस्थितिको बारेमा अध्यक्ष कमरेडले कुरा गर्नुहोला,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘व्यक्तिगत रुपमा अहिले मैले त्यसरी सोचेको छैन, अध्यक्षले सोच्नुभएको होला, मेरो व्यक्तिगत कुरा परेन।’
वामदेव गौतमले प्रतिनिधि सभामा उठ्नकै लागि तयारी गरेको उनीनिकट नेता स्वीकार्छन्।
ती नेताहरुको भनाइमा विश्वास गर्ने हो भने वामदेव बर्दियाबाटै चुनाव लड्नेछन्।
तर, गौतमले नेपालखबरसँग आफ्नो त्यसबारे कुरै नभएको दाबी गरे।
‘अहिले मेरो त्यसबारेमा कसैसँग कुरै भएको छैन,’ गौतमले भने, ‘वामहरु एक हुनुपर्छ भन्ने चाहना छ, अहिले म त्यसमै लागेको छु।’
दुवै नेताको क्रियाशीलता र तयारी हेर्दा आगामी चुनावमा उठ्न चाहेको देखिन्छ।
तर, नेपाली कांग्रेससँगको गठबन्धन कायम रहे उनीहरु दुवैले निर्वाचन क्षेत्र पाउने सम्भावना होला कि नहोला?
पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँट गर्दा पहिला जितेका सिट उसैले राखेका थिए।
त्यही फर्मूला फेरि संघीय संसदमा पनि लागू भए दुवैका लागि यसअघिका निर्वाचन क्षेत्र भागमा पर्ने देखिदैँन, तर दुवै नेता उच्च तहका भएकाले सहमति बनाउने आधार छ।
जित्ने भए मात्र चुनाव लड्नसक्ने अर्काे विकल्प दुवैसँग छ।
किनकि हार्नेगरी चुनाव लडेर जोखिम मोल्न दुवै तयार छैनन्। आफूलाइृ सुरक्षित हुने विश्वस्त आधार नभए उनीहरु राष्ट्रिय सभामै रहन सक्ने नेताहरु बताउँछन्।
Shares
प्रतिक्रिया