राजनीति


‘ताइवान चीनको अभिन्न अंग र आन्तरिक मामिला, अमेरिकी हस्तक्षेप गलत’

‘ताइवान चीनको अभिन्न अंग र आन्तरिक मामिला, अमेरिकी हस्तक्षेप गलत’

नेपालखबर
साउन १८, २०७९ बुधबार १९:२०, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले चीनको चर्को विरोधका बावजुद अमेरिकी संसदमा सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति आपत्ति जनाएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले ताइवान चीनको अभिन्न अंग रहेको बताउँदै खनालले अमेरिकी सक्रियताप्रति आपत्ति जनाएका छन्। 

समाजवादीका विदेश विभाग प्रमुख खनालले विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनकै भूमिको मान्यता दिइसकेको अवस्थामा अमेरिकी सभामुख त्यहाँ पुगेर यस क्षेत्रलाई द्वन्द्वतर्फ लैजान खोजेको आरोप लगाएका छन्। 

ताइवान र सम्पूर्ण एसिया क्षेत्रको शान्तिमा खलल पुर्‍याउन खोज्ने कुनै पनि गतिविधिको आफूहरुले विरोध गर्ने पनि खनालले जनाएका छन्। 

'जनवादी गणतन्त्र चीनको गम्भीर विरोधका बाबजुद संयुक्त राज्य अमेरिकाको प्रतिनिधि सभाका सभामुख कंग्रेस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ताइवान पुगेकी छन्', उनले वक्तव्यमा भनेका छन्, 'ताइवान चीनको अभिन्र अंग हो। ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनका आन्तरिक मामिला हुन्। अमेरिका र चीन दुवै पक्षले फरक–फरक समयमा प्रकाशित विज्ञप्तिमार्फत त्यहाँ एउटै मात्र चीन रहेको स्वीकार गर्दै आएका छन्।'

यस्तो अवस्थामा न्यान्सीको ताइवान भ्रमण एक चीन सिद्धान्तविपरीत भएको पनि उनले उल्लेख गरेका छन्। 

'चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै सबै देशहरूले ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएका छन्', उनले अगाडि भनेका छन्, 'यस्तो अवस्थामा न्यान्सी पेलोसीको भ्रमण एक चीन सिद्धान्तविपरीत हो। त्यसैले यसले ताइवान वरपर तनाव सिर्जना गरेको छ।'

खनालले अमेरिकी उक्त कदमले पूरै एसियाको शान्तिमा खलल पैदा हुन सक्ने चिन्ता पनि जनाएका छन्। 

'हाम्रो पार्टीले ताइवान र सम्पूर्ण एसिया क्षेत्रमा शान्ति खलल पार्ने कुनै पनि गतिविधिको सधैँ विरोध गर्छ। त्यसैले, हाम्रो पार्टीको तर्फबाट, म पुन: दोहोर्‍याउन चाहन्छु त्यहाँ एक मात्रै चीन छ, र त्यो जनवादी गणतन्त्र चीन हो', उनले भनेका छन्, 'ताइवान चीनको अभिन्र अंग हो। ताइवान मुद्दा चीनको आन्तरिक मामिला हो। त्यसैले ताइवानको सवालमा चीनले लिएको वैधानिक र शान्तिपूर्ण अडानलाई हामी समर्थन गर्छौं। कुनै पनि देशलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad