ad ad

राजनीति


ताइवान मामिलामा पश्चिमा मुलुक भर्सेज चीन, नेपाललाई तान्ने प्रयास

ताइवान मामिलामा पश्चिमा मुलुक भर्सेज चीन, नेपाललाई तान्ने प्रयास

युरोपेली देशका काठमाडौँस्थित राजदूतहरु (फाइल फोटो)


सन्तोष घिमिरे
साउन २५, २०७९ बुधबार २१:३६, काठमाडौँ

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको अन्तिम तयारी चलिरहेको थियो। त्यहीबेला गत शुक्रबार (१८ साउन) युरोपेली संघमा आबद्ध काठमाडौँस्थित राजदूतहरुले मन्त्री खड्कासँग भेट्न समय माग्दै मन्त्रालयमा सम्पर्क गरे।  

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सामूहिक भेटका लागि राजदूतहरुले सोमबार (२३ साउन) को समय मागेका थिए। तर मन्त्री खड्काले युरोपेली राजदूतहरुसँग भेट्न चाहेनन्। 

‘चीन भ्रमणपछि मात्र भेटका लागि समय मिलाउँला भन्नू’ भनेर परराष्ट्रमन्त्री खड्काले मन्त्रालयका अधिकारीलाई निर्देशन दिए। 

त्यसैबमोजिम परराष्ट्र मन्त्रालयले युरोपेली मुलुकका राजदूतहरुलाई अवगत गरायो। 

खड्का मंगलबार (२४ साउन) साँझ चीन उडिसकेका छन्। चीनबाट फर्केपछि युरोपेली राजदूतहरुले परराष्ट्रमन्त्री खड्कासँग भेट गर्छन् वा गर्दैनन्, त्यो त निश्चित भइसकेको छैन। तर, मन्त्री खड्काको चीन भ्रमणअघि नै पश्चिमा मुलुकका कूटनीतिज्ञहरुले जरुरी भेट गर्न खोज्नुमा भूराजनीतिक प्रतिस्पर्धा नै प्रमुख कारण रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन्। 

खासगरी अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि नेपालले ताइवान मामिलाबारे सार्वजनिक गरेको धारणा र परराष्ट्रमन्त्री खड्काको चीन यात्राप्रति असन्तुष्टि जनाउन युरोपेली संघ आबद्ध राजदूतहरुले भेट्न लागेको अधिकारीहरुको भनाइ छ। 

परराष्ट्र मन्त्रालयले गत शुक्रबार (१८ साउन) नै नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको सार्वजनिक गरेको थियो भने त्यही दिन मन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा पनि भएको थियो। 

अर्का एक सरकारी अधिकारीका अनुसार युरोपेली मुलुक र अमेरिकाले परराष्ट्रमन्त्री खड्काको भ्रमणको समय उपयुक्त नरहेको सन्देश नेपाल सरकारलाई अनौपचारिक रुपमा दिइसकेका थिए। ती अधिकारीको भनाइमा ताइवानवरपर चीनले सैन्य अभ्यास गरिरहेको बेला परराष्ट्रमन्त्री खड्का चीन जाँदा बेइजिङप्रति नेपालको पुरापुर समर्थन रहेको सन्देश जान्छ भन्ने उनीहरुको चिन्ता थियो।

‘अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीचको सम्बन्धमा थप तनाव आउँदा मन्त्रीज्यूको चीन भ्रमण निश्चित भइसकेको थियो र आवश्यक तयारी भइरहेको थियो,’ मन्त्रालयका अधिकारीले भने। 

त्यसो त चीनले अमेरिकी सभामुख पेलोसी गत मंगलबार र बुधबार ताइवान भ्रमणमै रहेका बेला विश्वका अन्य मुलुकहरुसँग ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्धता खोजेको थियो। त्यसैबमोजिम नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि बुधबार विज्ञप्ति जारी गरी ताइवानका सवालमा नेपालले लिएको नीतिको सराहना गरेकी थिइन्। 

राजदूत होउले ‘ताइवान स्वतन्त्रता’ मुद्दामा नेपालले दृढतापूर्वक विरोध गरिरहेकामा प्रशंसा गर्दै आगामी दिनमा पनि त्यो समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी थिइन्।  

राजदूत होउको वक्तव्यमा दुई कुरा प्रस्ट थिए। पहिलो– चीनको अभिन्न अंग ताइवान टुक्र्याउने गतिविधि मान्य छैन र त्यसमा अमेरिकाको हस्तक्षेप किमार्थ स्वीकार्य छैन। यस मामिलामा नेपालले अहिलेसम्म लिइरहेको अडान ठीक छ। दोस्रो– अबका दिनमा पनि नेपालले त्यसैगरी ताइवान मामिलामा चीनलाई सहयोग गरिदेओस्। 

चिनियाँ राजदूत होउले ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराउनुलाई अर्थपूर्ण मानिएको थियो। 

‘चिनियाँ राजदूतको विज्ञप्तिपछि नै हुनुपर्छ, पश्चिमा मुलुकका राजदूतले पनि आफ्नो कुरा सुनाउन मन्त्री खड्कासग भेट्न चाहे,’ मन्त्रालयका ती अधिकारीले भने, ‘तर उनीहरुलाई मन्त्रीज्यूले भेट्न चाहनुभएन।’   

अमेरिकी सभामुख पेलोसीको भ्रमणसँगै ताइवान मामिलामा अमेरिका र चीनको टकराव बढेको छ। त्यससँगै अमेरिका र चीनले अन्य मुलुकलाई आफ्नो धारमा तान्न कोसिस गरिरहेका छन्। अमेरिकाले ताइवानजस्तो चीनका लागि अत्यन्त संवेदनशील मुद्दामा अबका दिनमा नेपाललाई डोर्याउन खोजेको खण्डमा नेपालका लागि परराष्ट्र सम्बन्ध सञ्चालनमा निकै चुनौतीपूर्ण परिस्थिति आउनसक्ने परराष्ट्र सम्बन्धका जानकारहरुको बुझाइ छ। 

अमेरिकी सभामुख न्यान्सी पेलोसीले गतसाता ताइवानको अघोषित भ्रमण गरेपछि त्यसले विश्व राजनीति नै तरंगित भइरहेको छ। भ्रमणसँगै चीन–अमेरिका सम्बन्धमा थप तनाव देखिएको छ। भ्रमणलाई चीनले ‘एक चीन नीति’ बाट अमेरिकको विचलनका रुपमा लिएको छ। 

चीनले ताइवाननजिक विशाल सैन्य अभ्यास गरिसकेको छ भने ताइवानले पनि जवाफी सैन्य अभ्यास थालेको छ। अमेरिका, जी–सेभेन मुलुक र युरोपेली संघले गतसाता नै संयुक्त वक्तव्य निकालेर पेलोसीको भ्रमणको निहुँमा ताइवाननजिक सैन्य गतिविधि नगर्न चीनलाई चेतावनी दिएका थिए। उक्त संयुक्त वक्तव्यलाई चिनियाँ विदेशमन्त्री वाङ यीले ‘बकवास’ को संज्ञा दिइसकेका छन्। 

अमेरिकाले नेपाल सरकारलाई ताइवान मामिलामा आफ्नो अडान बताएको कुराको स्वतन्त्र पुष्टि भएको छैन। तर, काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाल सरकारलाई ताइवानबारे कूटनीतिक पत्राचार भएको संकेत गरेको छ। 

दूतावासकी प्रवक्ता अन्ना रिची–एलेनले नेपालखबरसँगको कुराकानीमा भनिन्, ‘कूटनीतिक आचासंहिताअनुसार अमेरिकी सरकारले निजी तहमा भएका छलफल सामग्री बाहिर ल्याउँदैन।’ 

अमेरिकाले नेपालले ‘एक चीन नीति’ को पालना गरेको बुझेको बताइन् र अमेरिकाले पनि त्यही गरेको प्रवक्ता एलेनले बताइन्। 

उनले भनिन्, ‘तर संयुक्त राज्य अमेरिकाले ताइवानको शान्ति र स्थायित्वमा स्थायी चासो राखेको छ र विशेषगरी बलपूर्वक यथास्थिति परिवर्तन गर्ने कुनै पनि एकपक्षीय प्रयासको विरोध गर्दछ।’   

चीनले ताइवानतर्फ ११ ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्नु गम्भीर रहेको उनको भनाइ थियो।

‘जापानले ती ११ मध्ये पाँचवटा क्षेप्यास्त्र आफ्नो आर्थिक क्षेत्रमा अवतरण गरेको बताएको छ,’ उनले भनिन्, ‘तीमध्ये केही आक्रामक रुपमा ताइवानको आकाशमाथि उडे।’ 

अमेरिकालगायत पश्चिमा मुलुकले ‘एक चीन नीति’ स्वीकार गरे पनि चीनले ताइवानमा गरेको सैन्य अभ्यासको चर्को विरोध गरिरहेको छ। 

परराष्ट्रमन्त्री खड्कालाई युरोपेली संघका राजदूतले पनि सम्भवतः ताइवान वरपर चीनले गरेको सैन्य अभ्यासमा बोल्न दबाब दिने उदेश्यले भेट्न चाहेका थिए।

तर, परराष्ट्र अधिकारीहरु ताइवानका मामिलामा नेपालको नीति प्रष्ट रहेको बताउँछन्।

‘छिमेकीको सार्वभौमसत्ताको कुरा छ,’ मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘हामीले पश्चिमा मुलुकको कुरा सुनेर चीनलाई चिढ्याउने कुरै आउँदैन।’    

अमेरिका र उसका रणनीतिक साझेदार रहेका मुलुकले आफ्नो सैन्य अभ्यासको विरोध गरिरहँदा चीन ‘एक चीन नीति’मा जतिसक्यो बढी मुलुकको समर्थन जुटाउन कूटनीतिक ‘लबिइङ’मा लागेको छ।    

नेपालले ‘एक चीन सिद्धान्त’ अन्तर्गत ताइवान, तिब्बत र हङकङलाई चीनको अभिन्न अंग मानेको छ। चीनसँग हुने औपचारिक/अनौपचारिक कुराकानीमा नेपालले ‘एक चीन नीति’ प्रति प्रतिबद्धता जनाउँदै आएको छ। 

बुधबार चिनियाँ समकक्षी वाङसँग सान्दोङ प्रान्तको छिन्दाओमा भएको भेटवार्तामा पनि परराष्ट्रमन्त्री खड्काले नेपालको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धता पुनः दोहोर्याएका छन्। 

मन्त्री खड्का बिहीबार (२६ साउन) काठमाडौं फर्केपछि युरोपेली मुलुकका राजदूतले भेटेर आफ्नो मुलुकको धारणा उनलाई सुनाउलान् वा नसुनाउलान्– यो कूटनीतिक मामिलामा चासो राख्नेहरुका लागि चासोको विषय बनेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .