राजनीति


सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउन घनश्याम भुसालको प्रस्ताव

‘नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए एमाले फुट्दैनथ्यो’
सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउन घनश्याम भुसालको प्रस्ताव

नेपालखबर
भदौ १२, २०७९ आइतबार २१:५१, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै मंसिर ४ को चुनावमा जनतासँग बहुमत माग्ने निर्णय गरेको छ । तर, एमाले नेता घनश्याम भुसालले भने जनताले ‘नयाँ नेतृत्व खोजेको’ बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकपूर्व गत विहीबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटीको बैठकमा नेता भुसालले केपी ओलीको नेतृत्वमा चुनावमा गएर सफलता नपाइने संकेत गर्दै नयाँ नेतृत्व अघि सार्नुपर्ने बताएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य भुसालले पूर्वसभामुख नेम्वाङलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्ने संकेत गरेको बैठकमा सहभागी एमाले नेताहरुको भनाइ छ ।

‘हिजो संसद विघटन असफल भएसँगै केपी कमरेडको ठाउँमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए नेकपा एमाले फुट्दैनथ्यो,’ बैठकमा भुसालको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले नेपालखबरसँग भने, ‘फरक समुदायको नेतालाई प्रधानमन्त्री बनाउँदा नयाँ सन्देश दिन सकिन्छ ।’

नेता भुसालले विहीबार स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको लिखित प्रस्तावमा पनि नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने उल्लेख गरेका छन् । भुसालको यो प्रस्तावले ओलीको नेतृत्वमा चुनावमा जाँदा जनताले नपत्याउने दाबी गर्छ ।

भुसालले स्थायी कमिटीमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘यो असाधारण चुनौतिले घेरिएको तर ऐतिहासिक अवसर बाँकी नै रहेको अवस्था हो । यस अवस्थामा पनि इतिहासमा हामीले गरेका कमजोरीको जिम्मेवारीबाट उम्किने प्रयास गर्यौं भने आन्दोलन र पार्टीमाथि घोर बेइमानी हुनेछ । जनताले समग्र राजनीतिमै नयाँ सङ्कल्प र नेतृत्व खोजेका छन्। त्यसलाई नजरअन्दाज गर्ने जोसुकैले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

जनताको विश्वास जित्नका लागि केपी ओलीले त्याग गर्नुपर्नेतर्फ संकेत गर्दै भुसालले लिखित प्रस्तावमा भनेका छन्, ‘आउनुहोस्, जनताको चाहनालाई सम्वोधन गर्न हामी कस-कसले केके त्याग गर्नुपर्ने हो, तयार होऔँ ।’

नेता भुसालले आगामी चुनावमा केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर सफलता नपाइने विश्लेषण गरे पनि शुक्रबार र शनिबार दुई दिन बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भने केपी ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर जनतासँग बहुमत माग्ने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकपछि जारी विज्ञप्तिको शुरुमै भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज २०७९ भदौ ११ गते सम्पन्न भएको छ । बैठकले पार्टी अध्यक्ष कमरेडलाई आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै पार्टीले बहुमत ल्याउन आम निर्वाचन जाने निर्णय गरेको छ ।’

स्थायी कमिटीमा गर्मागर्मी
केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता भुसालवीच केहीबेर गर्मागर्मी बहस भएको थियो । सातै प्रदेशका इञ्चार्जहरुलाई प्रदेशको अवस्थाबारे रिपोर्टिङका लागि दिइएको समय सकिनासाथ नेता भुसालले हामीले बोल्न पाइने कतिखेर हो ? भन्दै गोजीबाट कागज निकालेर वाचन गर्न थाले ।

भुसालको लिखित प्रस्तुतिमा नेकपाको पार्टी एकता टुट्ने कारण दुई नेताहरु (केपी ओली र प्रचण्ड) रहेको निश्कर्ष थियो । त्यस्तै वाम एकता नभए जुनसुकै बाहनाबाजी गरे पनि चुनाव नजितिने उल्लेख थियो । विगतमा दोस्रो पटक संविधानसभाको पुनःस्थापनापछि केपी ओली प्रधानमन्त्रीबाट हट्दै गर्दा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाइएको भए माधव नेपाल अलग नहुने र पार्टी नफुट्ने भुसालको निष्कर्ष थियो ।

भुसालले चुनाव हारिने आशयको अभिव्यक्ति दिएपछि यो लिखित प्रस्तावले चुनावका बेला निराशा जगाउने भन्दै अध्यक्ष ओलीले मिडियामा नलैजान भनेका थिए । भुसालले पनि यसलाई मिडियामा नलाने तर आफ्ना कुराहरु बैठकमा छलफल हुनुपर्ने बताएका थिए ।

तर, केहीबेर पछि अर्का नेता अग्नि खरेलले मोबाइल हेर्दै गर्दा अनलाइन पत्रिकामा भुसालको डकुमेन्ट छापिइसकेको फेला पारे । खरेलले बैठकमा भने, ‘यो तरिका ठीक भएन ।’

खरेलले यसो भनिसकेपछि कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरुले भुसालको आलोचना गर्न थाले । त्यसपछि अध्यक्ष ओली पनि जंगिए । नेतृत्वमा लागि अझै १५–२० वर्ष धैर्य गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले नेतृत्वलाई धेराबन्दी नगर्न र लिन प्याओ प्रवृत्ति नदेखाउन भने ।

ओली र भुसालबीचको विवादले स्थिति असामान्य बन्ने संकेत देखेपछि केही नेताहरुले ‘यो विषयलाई यहीँ टुंग्याऔं’ भन्दै हस्तक्षेप गरेपछि विहीबारको स्थायी कमिटीको बैठकको विवाद साम्य भयो ।

सात प्रदेशको रिपोर्टिङ
विहीबारको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले छोटो सम्वोधन गरिसकेपछि सातै प्रदेशका इञ्चार्जहरुलाई रिपोर्टिङ गर्न भनिएको थियो । यसक्रममा प्रायः सबै प्रदेशको रिपोर्टिङ निराशाजनक देखिएको एक नेताले बताए ।

प्रदेश १ मा आन्तरिक एकता कायम गरेर अघि बढेको खण्डमा गठबन्धनसँग एमालेले प्रतिस्पर्धा गर्न सक्ने र जित निकाल्न सक्ने देवेन्द्र दाहालले रिपोर्टिङ गरेका थिए ।

मधेस प्रदेशबाट रघुवीर महासेठ र प्रभु साहले बेग्लाबेग्लै रिपोर्टिङ गरेका थिए । दुबै नेताले मधेसमा अरुभन्दा एमाले ठूलो दल बन्ने सम्भावना रहेको दाबी गरेका थिए । तर, पार्टीभित्र एकता हुनुपर्ने उनीहरुको भनाइ थियो ।

वागमती प्रदेशबाट स्थानीय चुनावमा सोचेजस्तो परिणाम नआएको तर, एकता​बद्ध भएर अघि बढेको खण्डमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न सकिने रिपोर्टिङ भएको स्रोतले बतायो । लुम्बिनीबाट पनि स्थानीय चुनावमा सोचेजस्तो परिणाम नआएको रिपोर्टिङ भएको थियो ।

गण्डकीका इञ्चार्ज स्थायी कमिटी बैठकमा नआएकाले रिपोर्टिङ भएन भने कर्णालीमा एक सिट जित्न समेत मुस्किल रहेको रिपोर्टिङ भएको थियो । सुदुर पश्चिममा पनि पार्टीलाई गठबन्धनसँग मुकाविला गर्न चुनौतीपूर्ण रहेको नेता लेखराज भट्टले रिपोर्टिङ गरेका थिए ।

केन्द्रीय कमिटीमा कसले के भने ?
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि सुझाव दिन ९ वटा समूह बनाइएका थिए । शुक्रबार समूहका नेताहरुले छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गरेका थिए ।

समूहको निष्कर्ष प्रस्तुत गर्दै भानुभक्त ढकालले समानुपातिकमा दुईपटक भन्दा बढी सांसद बन्न नपाइने व्यवस्था गरिनुपर्ने बताए । त्यस्तै, गत स्थानीय चुनावमा हारेका वा जितेकालाई उम्मेदवार बनाउन नहुने, निर्वाचन प्रणालीबारे सोच्नुपर्ने र चुनावलाई कम खर्चिलो बनाउनुपर्ने सुझाव आएको उनले बैठकमा बताए ।

अर्का समूहका नेता लेखराज भट्टले राष्ट्रियसभाको चुनावमा हारेका लाई टिकट दिन नहुने बताए । साथै सुकुमबासी, मुक्त कमैया, हलियाहरुको विषय पनि अध्यक्ष ओलीको प्रतिवेदनमा समेटिनुपर्ने भट्टले सुझाव दिए ।

     कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेलले तलबाट उमेदवारको नाम सिफरिस गरेर पठाउँदा सकभर एकजनाको मात्रै नाम पठाउँदा राम्रो हुने सुझाव दिए । अन्य पार्टीसँग तालमेल गर्दा लाभ हानी विचार गरिनुपर्ने टोली नेता कँडेलले बताए ।

लुम्बिनी प्रदेशबाट टोली नेता छानिएका राधाकृष्ण कँडेलले आफ्नो समूहको राय बैठकमा प्रस्तुत गरेका थिए । उनले स्थानीय चुनावमा उमेदवार बनेकाहरुलाई प्रतिनिधिसभा वा प्रदेशसभामा उमेदवार बनाउन नहुने बताए । साथै प्रदेश र संघमा अवसर पाइसकेकाहरुलाई फेरि दोहोर्याउन नहुने सुझाव आएको बैठकमा सुनाए ।

केन्द्रीय कमिटीको बैठकमा आ–आफ्नो समूहका तर्फबाट टोली नेताहरुले ओलीको प्रतिवेदनमाथि सुझाव दिएका थिए । यसक्रममा मधेस प्रदेशबाट राम अवतार यादव, प्रदेश १ बाट देवराज घिमिरे, गण्डकीबाट गोविन्द नेपाली, वागमतीबाट काशीनाथ अधिकारी लगायतका नेताले बोलेका थिए । अधिकांश टोली नेताले समानुपातिकमा दोहोर्याएर टिकट दिन नहुने सुझाव सुनाएका थिए । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .