ad ad

समाज


सुप्रिम सहकारी ठगीका फरार अभियुक्त गाउँपालिकाको कुर्सीमा, बराल भन्छन् : म भागेको छैन

सुप्रिम सहकारी ठगीका फरार अभियुक्त गाउँपालिकाको कुर्सीमा, बराल भन्छन् : म भागेको छैन

उजिर कार्की
जेठ ७, २०८१ सोमबार २१:५५, काठमाडौँ

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको मुद्दामा प्रहरीले गाउँपालिकामै भएका उपाध्यक्षलाई पनि फरार भन्दै मुद्दा दायर गरेको खुलेको छ।

सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई पनि प्रतिवादी बनाउँदै अभियोगपत्र जिल्ला अदालत रुपन्देहीमा दायर गरिएको छ।

अभियोगपत्रमा उनलाई फरार भनिएको छ। तर उपाध्यक्ष बरालले आफू फरार नरहेको र गाउँपालिकामा नियमित काम गरिरहेको बताएका छन्।

बराल गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएका हुन्।

बराल सहकारीमा जीबी भन्ने गितेन्द्रबाबु राईसँग पहिलेदेखिकै साझेदार थिए। २०७२ माघ २५ गते उनीहरू तत्कालीन मैत्रेय बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको सञ्चालक समितिमा थिए।

२०७२ फागुन ३० गतेको विशेष साधारण सभाले सहकारीको नाम परिवर्तन गरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सहकारीको सञ्चालक समिति पनि पुनर्गठन गरिएको थियो। सहकारीमा जीबी अध्यक्ष र राजु सचिव भएका थिए।

सहकारीको रकम उनले डेढ लाख बढी लिएको देखिएको छ। अभियोगपत्रमा उल्लेख भएअनुसार २०७३ पुस २८ देखि २०८० असार ३१ गतेसम्म १ लाख ६६ हजार ९८३ रुपैयाँ जम्मा भएको र उक्त रकम झिकिसकेको देखिएको छ।

उनले २० हजार रुपैयाँको सेयर खरिद गरेको र अझै पनि त्यति नै बाँकी रहेको देखिएको छ। सुप्रिम सहकारीका सञ्चालकहरू १६ जनाले रकम अपचलन गरेको भनिएको छ। जसमा राजु बराल पनि छन्।

प्रहरीले उनको विभिन्न कसुरमा संलग्नता रहेको बताए पनि पक्राउ नगरी फरारको सूचीमा राखेर मुद्दा सरकारी वकिल हुँदै अदालतमा बुझाएको हो।

उपाध्यक्ष बरालले भने सोमबार नेपालखबरसँग कुरा गर्दै पहिले आफू सहकारीमा रहेको र त्यतिबेलाकै विषयमा आफूलाई पनि प्रतिवादी बनाएको कुरा पछि थाहा पाएको बताए। अहिले भने आफूले राजीनामा दिइसकेको उनको भनाइ छ।

‘पहिले डेढ लाख रुपैयाँ मेरो नाममा पेस्की रहेछ। त्यसैका लागि मलाई प्रतिवादी बनाएको रहेछ। अब म अदालतमा उपस्थित हुनैपर्ने रहेछ, अदालत जान्छु,’ बरालले भने, ‘वकिललाई लगाएको छु तर म उपस्थित नभई विकल्पै नहुने रहेछ। अब जे जति बिगो पर्छ तिर्नुपर्ने रहेछ।’

आफूविरुद्ध मुद्दा दर्ता गरेको बारेमा कतैबाट पनि जानकारी नपाएको उनले बताए। अहिले फरार भनेको थाहा पाएपछि आफूले बुझेको र फरार भन्ने शब्द भाषा मिलाउन मात्र उल्लेख भएको जानकारी पाएको उनले बताए।

सुप्रिम सहकारीको बचत हिनामिना गरेको प्रकरणमा जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको छ। तर जीबीसहित केही फरार छन्। जीबी विदेश भागेपछि उनलाई नेपाल ल्याउन प्रहरीले रेड नोटिस जारी गरेको छ।

उनीहरूले ८ हजार बढी बचतकर्ताको ९६ करोडभन्दा माथिको रकम हिनामिना गरेको आरोप छ।

उक्त सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो। हाल उनी चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्।

पक्राउ परेका ७ जनामध्ये सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको थियाे।

यो सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने पनि जोडिएका छन्।

लामिछानेको नाममा सहकारीको २ करोड रुपैयाँ गएको अभियोगपत्रमै उल्लेख छ। तर लामिछाने गृहमन्त्री भएकाले प्रहरीले उनलाई प्रतिवादी बनाएको छैन भने यस सम्बन्धमा सामान्य सोधपुछसमेत गरेको छैन।

गृहमन्त्री लामिछाने सुप्रिमका साथै अन्य सहकारी ठगीमा पनि जोडिएकाले संसदीय छानबिनको राखी विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन्। तर उनीमाथि छानबिन गर्न सत्तापक्ष तयार देखिएको छैन।

मन्त्री लामिछानेले भने आफूले रकम अपचलन नगरेको जिद्दी गर्दै आफूमाथि अनुसन्धान गर्नै नपर्ने जिकिर गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .