नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकहरूलाई अस्पतालमा आबद्ध हुनुअघि तीन कुरामा सचेत रहन अपिल गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको कानुनी दायित्वसम्बन्धी सचेत गराएको हो।
काउन्सिलले अस्पतालमा आबद्ध हुनुअघि संस्थाको स्वीकृत बेड संख्या, सञ्चालन अनुमति पत्र र जनस्वास्थ्य सेवा ऐनबमोजिम अनुमति प्राप्त सेवाहरुको विवरण अनिवार्यरूपमा बुझ्न अपिल गरेको छ।
त्यस्तै नियुक्तिपत्रसँगै संस्थाको अद्यावधिक नवीकरण प्रमाणपत्र, स्वीकृत सेवाको विवरण माग गरेर जानकार रहन र स्वीकृत क्षमताभन्दा बाहिर गई ऐन, मापदण्ड उल्लंघन गरेको पाइए त्यस्ता अभ्यासहरुमा संलग्न नहुन र संस्थालाई कानुनी दायराभित्र रहन सचेत गराउन पनि काउन्सिलले भनेको छ।
कतिपय संस्थाहरूले आफ्नो स्वीकृत बेड क्षमता र दायराभन्दा बाहिर गई अनाधिकृतरूपमा अन्य सेवा सञ्चालन गरिरहेको र त्यस्ता संस्थाहरूमा चिकित्सकहरू अनभित्र रही वा संस्थाको वास्तविक स्थितिको जानकारीबिना क्षेत्राधिकार बाहिरका विषयमा पनि सेवा प्रदान गरिरहको पाइएको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कानुनविपरीत सञ्चालन भइरहेका संस्थाहरूमा काम गर्दा चिकित्सकहरू पनि गम्भीर कानुनी जोखिम र नैतिक जवाफदेहितामा पर्ने काउन्सिलको भनाइ छ।
Shares

प्रतिक्रिया