ad ad

राजनीति


नागरिकता विधेयकमा लालमोहर नलगाउने हो भने राष्ट्रपतिले ३ घण्टाभित्र मार्गप्रशस्त गर्नुपर्छ : शाक्य

नागरिकता विधेयकमा लालमोहर नलगाउने हो भने राष्ट्रपतिले ३ घण्टाभित्र मार्गप्रशस्त गर्नुपर्छ : शाक्य

सागर न्यौपाने
असोज ४, २०७९ मंगलबार २०:५४, काठमाडौँ

सर्वाेच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भए ३ घण्टाभित्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।

संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि २० भदौमा दोस्रो पटक पठाइएको नागरिकता विधेयक दोस्रो संशोधन राष्ट्रपतिले प्रमाणीकरण नगर्ने भएकी छन्।

अब प्रमाणीकरणका लागि जम्मा ३ घण्टाजति समय मात्र छ। राती १२ बजेसम्म राष्ट्रपतिले हस्ताक्षर नगरे विधेयक स्वतः निष्क्रिय हुनेछ।

संविधानको व्यवस्थाअनुसार दोस्रोपटक संसदको दुवै सदनबाट पारित भएर आएको विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको शाक्यले बताए।

‘नागरिकता विधेयक प्रमाणीकरण गर्दिनँ भन्न राष्ट्रपतिले मिल्दैन। संविधान मिचिन्छ,’ शाक्यले नेपालखबरसँग भने, ‘नागरिकता विधेयक प्रमाणीकरण गर्न बाँकी रहेका अबको तीन घण्टाभित्र राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’

राष्ट्रपतिले राजीनामा दिएको खण्डमा उपराष्ट्रपतिले राष्ट्रपतिको कामकाज गर्न पाउने र नागरिकता विधेयक प्रमाणीकरण हुने सम्भावना बाँकी रहने उनको भनाइ छ।

‘मार्गप्रशस्त पनि नगर्ने, नागरिकता विधेयकमा लालमोहर पनि नगरी संविधानलाई चुनौती दिन मिल्दैन, यसको नैतिक दायित्व नखोज्ने हो भने राजीनामा दिनुपर्छ,’ शाक्यले थपे।

नेपालको संविधानअनुसार राष्ट्रपति कार्यकारी नभएको र विवादमा आउन नहुने कुरामा ख्याल राख्नुपर्ने शाक्यले बताए।

‘नागरिकता विधेयकलाई ढोकाभित्र थुनेर संविधानको उल्लंघन भए पुरै जिम्मेवारी राष्ट्रपतिले लिनुपर्छ, राष्ट्रपति कार्यकारी होइन, विवादमा आउनु हुँदैन, यसबारे मन्त्रिपरिषद् जिम्मेवार हुँदैन,’ उनले भने।

‘सरकारको सल्लाह र सुझाव अनुसार काम गर्नुपर्ने राष्ट्रपति आफैँले विवेक प्रयोग गर्ने राष्ट्रपति भएर निस्किनुभयो, जुन विवेक प्रयोग गर्ने अधिकार उहाँलाई छैन,’ शाक्यले थपे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .