राजनीति


कैलाली ४ मा कांग्रेस र पूर्वमाओवादीबीच रोचक प्रतिस्पर्धा

एमाले सचिव लेखराजलाई कांग्रेसका प्रदेश सभापति बलायरको चुनौती
कैलाली ४ मा कांग्रेस र पूर्वमाओवादीबीच रोचक प्रतिस्पर्धा

केशव सावद
असोज ७, २०७९ शुक्रबार ११:८, काठमाडौँ

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर र नेकपा एमालेका नेता लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

कांग्रेस सुदूरपश्चिम कार्यसमितिका सभापति बलायरले गृहजिल्ला डोटी छाडेर कैलालीबाट उठ्ने मनस्थिति बनाएपछि मंसिर ४ को निर्वाचनमा एमाले सचिव भट्टसँग रोचक प्रतिस्पर्धा हुने भएको हो।

डोटी नेकपा एकीकृत समाजवादीको भागमा पर्ने भएपछि कांग्रेसले सभापति बलायरलाई कैलाली–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको छ।

कांग्रेस नेतृत्वले बलायरलाई कैलाली–४ का लागि तयारी गर्नसमेत भनिसकेको छ।

यस्तै एमाले सचिव भट्ट पनि आफ्नो गृहक्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन्। उनीनिकट मानिने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य नेत्र पन्तले भट्ट नै एमालेबाट उठ्ने पुष्टि गरे।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बलायर डोटीबाट प्रतिनिधिसभा सदस्यमा उठेका थिए। तर, उनी तत्कालीन एमाले उम्मेदवार प्रेम आलेसँग झिनो मतले हारेका थिए।

उक्त निर्वाचनमा ३२ हजार ५१० मतले आले प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा बलायरले ३० हजार ८७८ मत प्राप्त गरेका थिए। २०७४ मा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल थियो।

यस्तै ०७४ मा कैलाली–४ बाट तत्कालीन माओवादी केन्द्रका भट्ट उम्मेदवार थिए। उनी कांग्रेस उम्मेदवार सुनीलकुमार भण्डारीलाई झण्डै ११ हजार मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

उक्त निर्वाचनमा भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत प्राप्त गरेका थिए। यस्तै स्वतन्त्र उम्मेदवार गीता क्षेत्रीले ३ हजार १७३ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार लक्षीराम आचार्यले १ हजार १०४ मत ल्याएका थिए।

कैलाली–४ बाट माओवादीका तर्फबाट विजयी भट्ट एमालेमा छन्। सर्वोच्च अदालतले २०७७ फागुन २३ मा तत्कालीन नेकपा खारेज गरेपछि एमाले र माओवादी अस्तित्वमा आउँदा भट्ट एमालेतर्फ लागेका थिए। यस्तै डोटीबाट विजयी आले अहिले एमाले विभाजनपछि गठित पार्टी नेकपा एकीकृत समाजवादीमा छन्।

गृहजिल्ला डोटी छाडेर बलायरले रोजेको कैलाली–४ मा कांग्रेसको पकड बलियो देखिन्छ। त्यसमा पनि कांग्रेससहितका ५ दल चुनावी गठबन्धन गरेर निर्वाचनमा जान लागेका कारण कैलाली–४ बलायरको विजयका लागि सहज देखिन्छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कैलाली–४ मा गठबन्धनका पक्षमा ३७ हजार २१९ मत छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा एमालेका पक्षमा उक्त क्षेत्रमा २० हजार ८१ मत छ।  

निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा कांग्रेसको २२ हजार ९९७, माओवादीको १० हजार १२३, एकीकृत समाजवादीको ४ हजार २९ र जनता समाजवादी पार्टी (जसपा) नेपालको ६४ मत छ। स्थानीय तह निर्वाचनमा कैलाली–४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार २३४ र नागरिक उन्मुक्ति पार्टीले १६४ मत प्राप्त गरेका थिए।

कैलालीका गोदावरी र गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिका वडा नम्बर ५ को भूगोल समेटेर निर्वाचन क्षेत्र नम्बर ४ निर्धारण गरिएको छ। कैलाली–४ मा डोटीबाट बसाइँसराइ गरेर आएकाहरूको बाहुल्य छ।

यो क्षेत्रमा डोटीबाट बसाइँसराइ गरेर आएका झण्डै ७० प्रतिशत छन् भने १५ प्रतिशत अन्य जिल्लाबाट बसाइँ सरेर आएका छन्। करिब १५ प्रतशित राना थारु तथा चौधरी थारुको बसोबास छ। 

कैलाली–४ मा डोटीबाट बसाइँ सरेर आएकाहरूको बहुमत रहेका कारण पनि बलायरलाई निर्वाचनमा सहज हुने एकथरीको बुझाइ छ। कांग्रेस सुदूरपश्चिम कार्यसमिति सदस्य सुरत रावत यस क्षेत्रको नेतृत्व कांग्रेसले पाउने निश्चित भएको भन्दै स्थानीय नेता-कार्यकर्तामा उत्साह थपिएको तर्क गर्छन्।

‘गठबन्धनमा भागबन्डा गर्दा अर्को दलले पाउँछ कि भन्ने आशंका थियो। नेतृत्व कांग्रेसले नै पाउने भएपछि यो क्षेत्रका कांग्रेसजन उत्साहित छन्,’ रावतले नेपलखबरसँग भने, ‘त्यसमा पनि केन्द्रीय सभापतिले प्रदेश सभापतिलाई नै पठाउने थाहा पाएपछि झन् उत्साहित हुने नै भए।’

रावतले गठबन्धन इमान्दार भए बलायर १० देखि १२ हजार मतान्तरले विजयी हुनेसमेत दाबी गरे।   

‘पार्टी छाडेका कारण माओवादी कार्यकर्तामा भट्टलाई जसरी पनि हराउनुपर्छ भन्ने भावना देखिन्छ। अर्कातिर एमालेका पुराना कार्यकर्ताले नवप्रवेशी भट्टलाई रुचाइसकेको अवस्था छैन,’ रावतले नेपालखबरसँग भने, ‘गठबन्धन इमान्दार भए १०/१२ हजारको अन्तरले चुनाव जितिन्छ।’

तर, एमाले नेताहरू भने कांग्रेसका सुदूरपश्चिम सभापति बलायरलाई कैलाली–४ मा जित सहज नभएको दाबी गर्छन्।

‘अर्को ठाउँबाट आएर कैलाली–४ मा लेखराज भट्टलाई चुनौती दिन सहज छैन,’ भट्टनिकट एक नेता भन्छन्, ‘आफ्नो राम्रो पकड भएको डोटी छाडेर कैलाली रोज्नु वीरबहादुरजीका लागि प्रतिकूल हो, उहाँलाई जित्न गाह्रो छ।’

यद्यपि, यो क्षेत्रमा डोटीबाट बसाइँ आएकाहरूको बाहुल्य रहेका कारण बलायरलाई अन्य उम्मेदवारको तुलनामा सहज हुनेमा भने एमालेका ती नेता पनि स्वीकार्छन्।

‘कैलाली–४ मा डोटीबाट झरेकाहरूको बाक्लो बस्ती छ,’ उनले भने, ‘यसले अरुलाई जस्तो उहाँ (बलायर) लाई केही सजिलो अवश्य हुन्छ।’

एमाले कैलालीका जिल्ला सदस्य शर्मानन्द भट्ट पनि कैलाली–४ मा सचिव भट्टलाई कांग्रेस प्रदेश सभापति बलायरसँग निर्वाचन लड्न सहज हुने दाबी गर्छन्। ‘कांग्रेसले बलायरलाई टिकट दियो भने हामीलाई अरू उम्मेदवारभन्दा सजिलो हुन्छ,’ उनले नेपालखबरसँग भने।

कैलाली–४ डोटीबाट बसाइँ सराइ गरेर आएकाहरूको बाहुल्य रहे पनि बलायरको हकमा मतदाता क्षेत्रीयताको हिसाबले प्रभावित नहुने भट्टको भनाइ छ।

‘यहाँ डोटीका मान्छेहरू झण्डै ७० प्रतिशत छन्। बलायर नै उम्मेदवार हुनुभयो भने दुवै उम्मेदवार डोटीकै हुने हो,’ एमालेका ती नेता भने, ‘तर, उहाँको फिल्ड डोटी जिल्लामै भएकाले यो क्षेत्रका लागि टुरिस्ट उम्मेदवार नै हो। डोटेली भन्दैमा मतदाता प्रभावित हुने सम्भावना हुन्न।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .