राजनीति


‘जसपा नेपाल’ विभाजनको दबाब एकीकृत समाजवादीमा

जनमत र लोसपालाई सरकारमा प्रवेश गर्ने ढोका खुल्यो
‘जसपा नेपाल’ विभाजनको दबाब एकीकृत समाजवादीमा

नेपालखबर
बैशाख २४, २०८१ सोमबार ७:२४, काठमाडौँ

मिति र स्थान फरक भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शनिबार  र एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिएको अभिव्यक्तिमा समानता थियो।

एमाले नवलपरासी जिल्ला अधिवेशनको उद्घाटनमा २१ बैशाख (शुक्रबार) ओलीले अहिलेको सत्तागठबन्धन भत्काउन र सरकार ढाल्ने प्रयास भइरहेको बताएका थिए। 

भोलिपल्ट (१२ बैशाख) सिंहदरबारमा माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डको भनाई पनि उस्तै थियो।

त्यसअघि बिहीबार (२० बैशाख) चितवनमा एकिृकृत समाजवादीका अध्यक्ष माधव नेपालले ‘यही गठबन्धनमा रहेपनि मनमा चैन भने छैन’ भनेका थिए। प्रचण्ड र ओलीले नभनेपनि नेपालको भनाईबाट सरकार ढाल्ने खेलको संकेत मिलिसकेको थियो। 

नेताहरूको यो ‘बेचैनी’ प्रचण्ड नेतृत्वको सरकार ढल्ने कुराको संकेत थियो। प्रचण्ड र ओलीले यसै सन्दर्भमा सरकार ढाल्ने खेल भइरहेको बताउँदै यसका बाबजुद सो खेल सफल नहुने ठोकुवा गरेका थिए।

प्रचण्ड र ओलीको त्यो आत्मविश्वासको कारण आइतबार साँझ स्पष्ट भएको छ। वर्तमान सत्तागठबन्धनका लागि खतराको सूचक बन्दै गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको संघारमा रहेछ। जसपा विभाजन हुँदा विपक्षी खेमा कमजोर बन्ने भएकाले प्रचण्ड–ओली सरकारको निरन्तरताप्रति आत्मविश्वासी देखिएका रहेछन्।

जसपा विभाजन, नेपाललाई चोट
फागुन ३० (२०८०) मा तेस्रो पटक मतदान हुँदा प्रतिनिधि सभाका प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ५७ सांसदले विश्वास जाहेर गरेका थिए। अहिलेको प्रतिनिधि सभाको अंक गणितका आधार प्रधानमन्त्रीले प्राप्त गरेको यो मत निकै कमजोर हो।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा साधारण बहुमतका लागि १ सय ३८ सांसदको समर्थन आवस्यक पर्छ। माओवादी र रास्वपा जस्ता मध्यम र अन्य साना दललाई मिलाएर प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमालेले यो गठबन्धन निर्माण गरेको हो।

उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने एकपछि अर्काे संकटबाट घेरिदै आएका छन्। संकटबाट बच्न उनको एउटै उपाय बनेको छ सत्ता। त्यसैले, तत्काल यो गठबन्धन छाडेर अर्काे गठबन्धनमा जाने स्थितिमा उनी छैनन्।

तर, रास्वपाको साथ नपाउँदापनि माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी (१० सिट) र यादव नेतृत्वको ‘जसपा नेपाल’ (१२ सिट) ले साथ छाड्नासाथ सरकार ढल्ने स्थिति सिर्जना हुन्छ।

विश्लेषण के हुँदै आएको थियो भने, एकिकृत समाजवादी यो गठबन्धनबाट अलग हुनासाथ यादवले पनि साथ छाड्नेछन्। सरकार ढल्ने नै देखिएपछि आफ्नो सुरक्षाका लागि लामिछानेले पनि रास्वपालाई नयाँ गठबन्धनको पक्षमा उभ्याउनेछन्।

खोजेजस्तै ‘सम्मान’ ओलीबाट पाउने स्थिति नहुनुका अलावा यो अंकगणित नेपालको बेचैनीको मुख्य कारण थियो। किनकी, कांग्रेस सभापति शेरबहादुर देउवाले यो गठबन्धन टुटेपछि नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन्। जबकि प्रचण्ड प्रधानमन्त्रीबाट हटे भने प्रतिनिधिसभाको अहिलेको अंकगणितका आधारमा नेपाल प्रधानमन्त्री बन्न पाउन्नन्, संविधानतः प्रधानमन्त्री बन्ने पालो देउवालाई आउँछ।

तर, शुक्रबार अपरान्ह राईको नेतृत्वमा ‘जसपा नेपाल’ विभाजन भएपछि परिस्थिति बदलिएको छ। देउवाले निर्माण गर्न लागेको नयाँ गठबन्धनको पक्षमा बहुमत पुग्ने सम्भावना एकातिर कमजोर बनेको छ।

आइतबार अपरान्हको घटना ‘जसपा नेपाल’ मा मात्र सीमित नहुन सक्छ। अहिले ‘जसपा नेपाल’ विभाजित भयो, अझ ठूलो चक्मा दिने गरी एकिकृत समाजवादी विभाजित नहोला भन्न सकिन्न।

जसपा नेपालमा अशोक राई–राजेन्द्र श्रेष्ठ अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट भएजस्तै सम्मानित नेता झलनाथ खनाल पनि एकिकृत समाजवादीभित्र असन्तुष्ट छन्।

अध्यक्ष नेपाललाई यतिबेला प्रधानमन्त्री पद प्रिय भएजस्तै प्रतिनिधि सभामा रहेका  एकिकृत समाजवादीका बाँकी ९ सांसदलाई सांसद पद प्रिय लाग्न सक्छ। खनालले पहलकदमी लिएभने अस्थिरताको कारक बनेको देखिने गरी नेपाललाई प्रधानमन्त्री बनाउने असफल बाटोमा हिँड्नुभन्दा आफ्नै संसदको बाँकी अवधि पुरा हुनेगरी आफ्नै पदको बचाउमा लाग्नेछन्।

जसपा ‘आउट’, जनमत–लोसपा ‘इन?’  
तीन वर्षअघि सुरुमा नेकपा र त्यसपछि एमालेमा विभाजन सुरु भएपछि ओलीले प्रधानमन्त्रीमा निरन्तरताका लागि यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम विभाजनको प्रयास गरेका थिए।

यसपटक पनि जब गठबन्धन धरापमा पर्ने सम्भावना बढ्दै गर्दा विभाजनको शिकार यादव नेतृत्वकै दल हुन पुग्यो। पार्टीभित्र यादवको स्वेच्छाचारिता विभाजनलाई स्वभाविक देखाउने गजबको कारण बन्न पुग्यो।

भन्न त यो पनि सकिन्छ, ‘जसपाका १२ सांसदको समर्थन सरकारलाई छँदै थियो। यति हुँदाहुँदै पार्टी नै विभाजन गरेर उल्टो ५ सांसद (यादव पक्षीय) हरुको समर्थन गुमाउने काम किन गरिएको होला?’

भनिन्छ, अंक गणित र राजनीतिक गणितको जोडफल फरक–फरक हुन्छ। अंक गणितमा दुई–दुई जोड्दा चार हुन्छ। राजनीतिक गणितमा दुई–दुई जोड्दा जोडफल आठ पनि हुनसक्छ, जोडफल माइनसमा झर्नपनि सक्छ।

तर, यसपटक भने जोडफल ऋणात्मक भन्दा गुणात्मक हुने सम्भावना देखिन्छ।

जस्तो : प्रतिनिधि सभामा जनमत पार्टीको ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ५ गरी ११ सदस्य छन्। प्रचण्ड नेतृत्वको सरकारमा सुरुमा यी दुई दल रहेपनि पछिल्लो पटकको मतदानअघि नै सरकार छाडेका थिए। उनीहरुले सरकारलाई विश्वासको मत दिएनन्।

हुन त, जसपा, जनमत र लोसपा तीनै दल मधेशमा आधारित हुन्। तर यिनीहरुबीचको सम्बन्ध ‘शत्रुतापूर्ण’ छ। जसपाभित्र जस्तै सरकार, संसद र गठबन्धनमा उपेन्द्र यादवको हेपाई यी दुबै दलले भोगेका छन्।

जसपा र लोसपा अक्सर आफू सत्तामा जान अर्काेलाई रोक्ने प्रयासमा रहन्छन्। अक्सर सफलता जसपाले प्राप्त गर्छ। उसको पेलाइमा लोसपा पर्छ। मधेशमा प्रतिस्पर्धी दलको रुपमा जनमत पार्टीको उदय भएपछि यादवले यसैमाथि निशाना साधेका छन्।

जब गत निर्वाचनमा मधेश प्रदेशमा जनमत समानुपातिकतर्फ सबैभन्दा ठूलो दलका रुपमा उदायो, यादवले जनमत पार्टीलाई सरकारमा जान नदिन हर प्रयास गरे। प्रचण्डको प्रयासमा जनमत सरकारमा सहभागी भयो।

तर, यादवकै जोडबलमा चाहेकोे मन्त्रालय जनमतलाई दिइएन।

सिट संख्याका कारण सत्तागठबन्धनमा यादवकै बढी सुनुवाई हुन थालेपछि जनमत र लोसपा सरकार बाहिर छन्।

अहिलेको सत्तागठबन्धनबाट यादव नेतृत्वको जसपा नेपाल बाहिरिनु भनेको जनमत र लोसपा प्रवेश गर्ने ढोका खुल्नु हो।

‘जसपा नेपाल’ विभाजनको जोखिम यो राजनीतिक अंकगणित ख्याल नगरी पक्कै पनि मोलिएको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .