ad ad

राजनीति


रामेछाप कांग्रेसको कार्यक्रममा कुटाकुट, सांसदलाई प्रहरीले जोगाए

घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
रामेछाप कांग्रेसको कार्यक्रममा कुटाकुट, सांसदलाई प्रहरीले जोगाए

नेपालखबर
जेठ ५, २०८१ शनिबार २१:५७, काठमाडौँ

शनिबार दिउँसो रामेछापको खाँडादेवी गाउँपालिका–८ स्थित गाल्बा बजारमा नेपाली कांग्रेसनिकट जनजाती महासंघको प्रथम जिल्ला अधिवेशन थियो। 

सो अधिवेशनको उद्घाटन सत्रमा आ–आफ्नै कार्यकर्ताबीच झडप हुँदा अवस्था असामान्य बन्न पुगेको  छ।

आसनग्रहणको विषयमा विवाद हुँदा झडप असामान्य बन्न पुगेको थियो। प्रहरीले बताए अनुसार, सामान्य आसनग्रहणको विषयमा झडप सुरु भइ कुटपिटसम्म पुगेको हो। 

झगडाले उग्र रुप लिँदा प्रदेश सभा सदस्य उम्मेदवार समेतरहेका जितबहादुर मगर र बेनबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीपकुमार सिंहले नेपालखबरलाई जानकारी दिए।

उनीहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौं उपचारका लागि ल्याइएको र अहिले नर्भिक अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा भेटिएको उक्त भिडिओमा झडपमा उत्रिएका युवाहरूले अत्यन्तै तल्लो स्तरका शब्द (अपशब्दसमेत) बोल्दै एक अर्कालाई ‘मार्ने’ सम्मको धम्की दिएको सुनिन्छ। 

सोही कार्यक्रममा रामेछाप जिल्ला सभापति समेत रहेका सांसद कान्छाराम तामाङ पनि सहभागी थिए। उनलाई प्रहरीले सुरक्षा दिएको थियो।

कार्यकर्तालाई भेदभाव गरेको आरोपमा सुरु भएको विवादले उग्र रुप लिएको हो। आक्रोशित कार्यकर्ताले केही स्थानीय नेताहरूलाई लखेटेको भिडिओमा देखिन्छ।

झडपको अवस्था सिर्जना भएपछि सो कार्यक्रम नै स्थगित भएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .