ad ad

राजनीति


बालकोटको फन्को मार्दै ‘वैकल्पिक शक्ति’

कांग्रेसको असन्तुष्ट समूहसँग होला सहकार्य?
बालकोटको फन्को मार्दै ‘वैकल्पिक शक्ति’

एमाले अध्यक्ष ओली र एमालेसँग तालमेल पहलमा रहेका नेताहरु


सागर न्यौपाने
असोज ११, २०७९ मंगलबार १३:२१, काठमाडौँ

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा एमालेले कम्तीमा पाँच दलसँग चुनावी तालमेल र मोर्चाबन्दी गर्दैछ। 

एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले चुनावको मिति नजिकिँदै गर्दा अन्य दलसँग छलफललाई तीव्रता दिएको छ।

एमालेका प्रभावशाली नेताहरु विष्णु रिमाल, विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत नेताहरु चुनावी तालमेलको माहोल बनाइरहेका छन्।

वैकल्पिक शक्ति बनाउने दाबी गरेका दल समेत एमालेसँग चुनावी तालमेल गर्न संवादमा छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा, राप्रपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, कर्ण मल्लको नेपाली कांग्रेस (बीपी) मंसिर ४ गतेको चुनावका लागि तालमेल गर्न तयार छन्। यीमध्ये कतिपय दलले मूलधारका दलको विकल्प आफू भएको दाबी गर्ने गरेका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवासँग उम्मेदवारमा ६०/४० भागवण्डा मागिरहेको शेखर कोइराला पक्षका नेताहरु पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा छन्।

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार तय गर्नुअघि लोसपाले एमालेसँग तालमेलबारे वार्ता गर्न ६ सदस्यीय कार्यदल बनाएको छ। जसका संयोजक राजेन्द्र महतो छन्। 

एमाले अध्यक्ष ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार छलफल गर्ने तयारी छ।

‘ओलीजी झापाबाट फर्कनुभएको छ, आज अध्यक्ष महन्थ ठाकुर र उहाँबीच छलफल गर्ने तयारी छ,’ ठाकुरनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘हाम्रो ६ सदस्यीय कार्यदलले एमाले उपमहासचिव विष्णु रिमालसँग पनि बैठक गरेर तालमेलबारे खाका प्रस्तुत गर्नुहुनेछ।’

मधेशका धेरैजसो स्थान लिएर लोसपाले अन्य क्षेत्रमा सहयोग गर्न चाहेको छ।

तर, एमालेले लोसपालाई बढीमा १० क्षेत्र दिने तयारी गरेको छ।

‘लोसपालाई बढीमा १० क्षेत्र दिनुपर्छ,’ अध्यक्ष ओलीनिकट एक नेताले भने, ‘तालमेल गर्ने ठाउँका विषयमा ती दलहरुको शक्तिअनुसार गर्ने भनेर अध्यक्षले भन्नुभएको छ।’

स्थानीय चुनावमा देशैभर बलियो उपस्थिति जनाएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि एमालेसँगै चुनावी गठबन्धन गर्दैछ।

सो पार्टीबाट उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री भुवन पाठक वार्तामा छन्। उनीहरुले एमालेसँग ६/७ चरण कुरा गरिसकेका छन्।

यसबाहेक अध्यक्ष ओली र लिङ्देनबीच संवाद पनि भइरहेको छ। अहिलेसम्म राप्रपाले पाउने संख्यामा कुरा मिलेको छैन।

राप्रपाका महामन्त्री भुवन पाठकले छलफल भइरहे पनि निर्णय नभएको बताए।

‘हामी निरन्तर छलफलमै छौँ, अहिलेसम्म ठोस निर्णयमा सहमति जुटिसकेको छैन,’ उनले भने।

यस्तै, कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि एमालेसँग मिलेर चुनावमा होमिँदैछ।

राप्रपाका महामन्त्री राजाराम बर्ताैलाका अनुसार अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सिधै कुरा भइरहेको छ र तालमेल गर्ने निश्चित छ।

‘राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेल हुने निश्चित हो, सैद्धान्तिक सहमति जुटिसकेको छ,’ महामन्त्री बर्ताैलाले नेपालखबरसँग भने, ‘अध्यक्ष टू अध्यक्षबीचको संवाद सकारात्मक छ। केही प्रक्रिया (संख्या) मिलाउन बाँकी छ, ४/५ दिनमा निर्णय हुन्छ।’

त्यसबाहेक सिके राउत नेतृत्वको जनमत पार्टीले पनि तालमेलको लागि एमालेका नेतासँग छलफल गरिरहेको छ।

एमालेका एक पदाधिकारीले ठाउँ अनुसार एमालेले विभिन्न दलसँग तालमेलबारे कुरा गरिरहेको बताए।

तर, ती सबै छलफल एमालेलाई फाइदा हुनेगरी भएको ती नेताले दाबी गरे।

उनका अनुसार अहिले पाँच दल एमालेसँग मिलेर जान तयार छन्।

त्यसबाहेक एमाले कमजोर भएको ठाउँमा गठबन्धनको उम्मेदवार हराउन एमालेले जोसुकैलाई सहयोग गर्ने योजना अघि सारेको छ।

त्यस्ता जिल्लाहरुमा डडेल्धुरा, चितवन ३, रौतहट १ र तनहुँ १ छन्।

डडेल्धुरामा एमाले र नेपाली कांग्रेस बीपीबीच तालमेल गर्ने लगभग निश्चित छ।

एमाले अध्यक्ष ओली र बीपीका वरिष्ठ उपसभापति कर्ण मल्लबीच चुनावी तालमेलका विषयमा समझदारी जुटिसकेको छ। अन्तिम निर्णय बाँकी छ। त्यसका लागि दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा छन्।

डडेल्धुरामा एमाले कमजोर देखिन्छ। त्यहाँ बीपीलाई छोड्न एमाले सहमत हुने सम्भावना छ।

त्यसबाहेक कांग्रेसलाई कमजोर पार्न सक्ने स्थानमा एमालेले बीपीलाई सहयोग गर्ने संकेत दिएको छ।  

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उठ्न तयार चितवन ३ राप्रपालाई छोड्न एमाले तयार छ।

‘हामीले चितवन ३ जित्न सक्दैनौँ,’ एमालेका अर्का एक स्थायी समिति सदस्यले भने, ‘राम्रो मान्छे र जित्ने मान्छे पाए हामी जुनसुकैलाई पनि सहयोग गर्छाैँ, अहिलेसम्म राप्रपाका विक्रम पाण्डे बलिया दाबेदारमध्येमा पर्छन्।’

एमालेले तालमेल जति दलसँग भए पनि त्यो राष्ट्रव्यापी नहुने प्रष्ट पारेको छ।

‘जुनसुकै दलसँग तालमेल भएपनि त्यो क्षेत्र हेरी हुन्छ, नेसनवाइड कोहीसँग हुँदैन,’ स्थायी समितिका ती सदस्यले भने, ‘पार्टीलाई समस्या पर्नेगरी तालमेल गर्दैनौँ।’

अहिलेसम्म लोसपालाई १०, राप्रपालाई ५, राप्रपा नेपाललाई २, जनमत पार्टीलाई २ र कांग्रेस बीपीलाई २ सिट दिन एमाले तयार छ।

त्यसबाट बढ्न परे जनमत, संगठन, मत विचार गरेर निर्णय गर्ने एमालेका नेताहरु बताउँछन्। तर, त्यति सिटमा तालमेल गर्न अन्य दल तयार छैनन्। 

त्यसबाहेक आफू कमजोर भएका क्षेत्रमा अन्य दललाई दिएर त्यहाँ समानुपातिक मत लिने एमालेको योजना छ।

यसकारण गठबन्धन  
स्थायी समिति सदस्य गोकुल बास्कोटाका अनुसार एमालेले राजनीतिक जित र संगठन झन् बलियो बनाउनेगरी चुनावी तालमेल गर्नेछ।

‘मूल पार्टी एमाले हुनेगरी तालमेलबारे छलफल गरेका हौँ,’ उनले भने।

तर, पदाधिकारीका अर्का नेता भने कांग्रेसलाई टक्कर दिनकै लागि तालमेलका लागि एमाले तयार भएको बताउँछन्।

‘एमालेको मुख्य योजना भनेकै सबै दललाई आफ्नो वरिपरि राखेर कांग्रेसलाई टक्कर दिनु हो,’ ती नेताले भने, ‘मूल पार्टी एमाले नै हो भन्ने चुनावमै देखाउनेछौँ।’

एमालेसँग तालमेल गर्ने निश्चित भएको दलले बढीमा २०/२२ क्षेत्र मात्र पाउनेछन्। बाँकी १४३ क्षेत्रमा एमाले ती सबै दलको सहयोग लिएर चुनाव लड्नेछ र प्रत्यक्षतर्फ हारेपनि संगठन र समानुपातिक मत बढाउनेछ।

प्रचण्डले कांग्रेससँग मिलेर माओवादी कमजोर बनाएको उनीहरुको विश्लेषण छ।

‘प्रचण्डको योजना राजनीति सकिने, सिट बढ्नेखालको देखियो,’ उनले भने, ‘सौर्यमण्डलको शक्तिशाली सूर्य एमाले भयो, हाम्रो वरिपरि पाँच दल घुम्छन्। उनीहरुको सूर्य कांग्रेस भयो। त्यसवरिपरि माओवादी लगायत घुम्छन्। प्रचण्डले पार्टी लिलामीमा चढाएर टक्करमा लगे, यसले उनैलाई क्षति हुन्छ।’

शेखरसँग हुनसक्छ तालमेल?
एमाले अध्यक्ष ओली र कांग्रेस नेता शेखर कोइरालाबीच गत माघदेखि निरन्तर छलफल भइरहेको छ।

त्यसबेला एमालेले गरेको संसद् अवरोध खुलाउने विषयमा ओली निवास बालकोटा पुगेरै वार्ता गरेका कोइरालाले पछिल्लो दिन सभापति देउवालाई सिट संख्यामा दबाब दिन ओलीसँग भेट गरेको उनीनिकट नेताहरु स्वीकार गर्छन्।

१६ भदौ २०७९मा पनि कोइराला ओलीलाई भेट्न बालकोट पुगे र दुई घण्टा वान अन वान कुरा गरे।

यी सबै कुराले सभापतिसँग बिच्कियो भने कोइराला पक्ष एमालेसँग मिल्नसक्ने सम्भावनाबारे पनि चर्चा चलेको छ।

तर, एमालेले तीन आधारमा मात्र तालमेल वा सहयोग गर्ने एमालेका अर्का पदाधिकारीले बताए।

पहिलो, सूर्य चिन्ह लिएर उठेमा।

दोस्रो, एमाले प्रवेश गरेको अवस्थामा।

तेस्रो, कांग्रेसबाट विद्रोह गरेर पार्टी नै छोडेर उम्मेदवारी दिएको अवस्थामा।

‘शेखर कोइराला पक्षका नेताहरुले विभिन्न चरणमा कुरा भएको साँचो हो, कुरा जोसँग पनि हुन्छ, तर एमालेको भोटले जितेर फेरि कांग्रेस हुन खोज्नेलाई सहयोग गर्दैनौँ,’ ती पदाधिकारीले भने, ‘स्वतन्त्रबाट उठ्ने माओवादीको भोट लिने र कांग्रेस प्रवेश गर्ने?’

कांग्रेसभित्र अहिले जसरी पनि पार्टी ठूलो बनाउने योजनासहित काम भइरहेको आफूहरुले सूचना पाएको ती नेताको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .