ad ad

राजनीति


भैँसेपाटी पुगेर राष्ट्रियसभा अध्यक्षले भने : यस्तो जीर्ण सडक देख्दा पनि कसैलाई नपोल्ने रहेछ

मन्त्री निवासहरु चाँडो निर्माण पूरा गर्न आग्रह
भैँसेपाटी पुगेर राष्ट्रियसभा अध्यक्षले भने : यस्तो जीर्ण सडक देख्दा पनि कसैलाई नपोल्ने रहेछ

फाइल तस्बिर


नेपालखबर
असोज १३, २०७९ बिहिबार १८:१५, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन
दिएका छन्। 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख तथा मन्त्री निवास निर्माण छिट्टै सक्न निर्देशन दिएका हुन्। 

उनले निर्माण कार्य निकै ढिलो भएको भन्दै २४ घण्टा नै निर्माण कार्यलाई जारी राख्नुपर्ने बताएका छन्। 

तिमल्सिनाले रातदिन काम नगरी समयमा निर्माण कार्य नसकिने भएकाले निर्माण कार्यमा संलग्न श्रमिकहरुको सिफ्ट मिलाएर रात दिन नै काम गराउन निर्देशन दिए। 

‘कतिपय कुराहरु राति पनि गर्न सकिने हुन्छ। जब हामी ढिलोमा छौँ भने राति पनि गराउने। वर्किङ आवर अब २४ घण्टा नै बनाउनुपर्छ। एउटै श्रमिकले २४ घण्टा गर्ने होइन। तर मिलाएर काम गर्न थाल्यौँ भने, यहाँ गर्ने काम हामीले रात, दिन गर्ने गरीकन पनि समयमा सक्ने त्यो बाहेक अर्को विकल्प हुँदैन।’ 

निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै उहाँले भविष्यमा कुनै आयोजना गराउँदा २४ घण्टा नै काम गर्ने गरी सम्झौता गर्नुपर्ने र सोही अनुसारको प्रावधान राख्नुपर्ने बताए। 

अध्यक्ष तिमिल्सिनाले भैँसेपाटीको सडक जीर्ण रहेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले सडकको बिग्रँदो अवस्था देख्दा पनि कसैलाई नपोलेको टिप्पणी गरे। 

‘भीआईपीहरुकै एरिया भैँसेपाटीको त्यो आवास। अनि के हालत छ? कि चाहिँ भीआईपीको होइन एकदम झुप्राको हामी गर्दैछौँ भन्नुपर्‍यो। त्यहाँ भएको भए मान्नुपर्‍यो। हामी गाउँ गाउँ झुपडीहरुमा राम्रो गर्दैछौँ यो भीआईपीहरुमा लास्टमा गर्ने भन्या भए त चित्त बुझाउँला। तर पहिले त आफ्नै गर्न खोज्ने बानी छ। अनि त्यस्तो भएपछि कसरी हुन्छ। कसैलाई पोल्दैन। किन पोल्दैन ? यो त गर्नुपर्‍यो नि,’ उनले भने। 

अध्यक्ष तिमिल्सिनाले सम्बन्धित कर्मचारीहरुलाई पनि काममा नयाँ नयाँ सोच र योजना ल्याउन आग्रह गरे। 

उनले आफू मन्त्री भएको भए स्पष्ट योजना र दृष्टिकोण भएको मान्छेलाई सम्बन्धित विभागको महानिर्देशक नियुक्त गर्ने पनि बताए। 

सम्बन्धित जिम्मेवार मान्छेलाई कडाइ नगरेसम्म काम हुन नसक्ने उनको भनाइ छ। 

‘तपाईँहरु अझ माथि जान्छु। सचिव हुन्छु भन्नेहरुले त अलि नयाँ सोच र भिजन। म मन्त्री हुने हो भने त पहिला यहाँ यो के के गर्ने भनेर अनि डिजी बन्ने बेला तपाईँको वर्क प्लान ल्याउनु, यसै फाइल हेर्‍यो', उनले भने, 'को मान्छे मेरो को अर्को यसो हेरेर गर्ने होइन। भिजन के? त्यसलाई नयाँ कसरी ड्राइभ गर्ने हो? हिजोको भन्दा परिवर्तन गर्नुपर्छ र कसरी लाने हो? त्यो दृष्टिकोण के हो? अनि छ महिना, वर्षदिनमा रिजल्ट आएन भने आफैँ नमस्कार हजुर म सकिनँ भन्ने बनाउनुपर्छ र बल्ल काम हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .