ad ad

राजनीति


ओलीको ‘दश भाइ’ नीति : भीम–घनश्याम रोक्ने, अरु दशलाई टिकट

योगेशको क्षेत्रमा निर्णय हुन बाँकी, रघु पन्त समानुपातिकको पहिलो नम्बरमा
ओलीको ‘दश भाइ’ नीति : भीम–घनश्याम रोक्ने, अरु दशलाई टिकट

नेपालखबर
असोज १६, २०७९ आइतबार १५:११, काठमाडौँ

एमाले अध्यक्ष केपी ओली पार्टीमा आफ्नो नेतृत्वमाथि प्रश्न उठाउँदै आएका भीम रावल र घनश्याम भुसाललाई प्रतिनिधि सभामा टिकट नदिने टुंगोमा पुगेका छन्।

अध्यक्ष ओली निकट एमालेका एक नेताका अनुसार रावलले खासगरी संसद बैठकहरूमा पार्टी नीति विपरित प्रस्तुत भएको कुरामा गल्ती महशुस नगरेसम्म उनले टिकट पाउने सम्भावना छैन।

भुसालले पनि टिकट पाउने सम्भावना छैन। ओलीले उनको क्षेत्र रुपन्देही १ मा राप्रपाका उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने सहमती राप्रपासँग गरिसकेका छन्।

पूर्वाग्रह नराख्ने भनिए पनि नेकपा र एमाले विभाजन ताका माधव नेपालको पक्षमा उभिएका तर पछि एमालेमै समाहित भएका नेताहरूलाई प्रतिनिधि सभा र प्रदेश सभामा टिकट दिन ओली सकारात्मक छैनन्।

ओलीले पार्टी एकलौटी रुपमा सञ्चालन गर्नु नै अहिले एमालेको प्रमुख समस्या बनेको छ। ओलीलाई निर्णायक सल्लाह दिने वा अध्यक्ष सहित कोर लिडरसीपले निर्णय गर्ने अवस्था छैन। 

प्रदेश सभाका ३३० र प्रतिनिधि सभाका समानुपातिक सहित २७५ सिटमै उम्मेदवार छान्ने काममा ओली संलग्न हुँदा यो प्रक्रिया निकै झन्झटिलो र जटिल बनेको एमालेका नेताहरूको भनाइ छ।

एमालेको महाधिवेशनदेखि नै पहिले माधव नेपालको पक्षमा उभिएका नेताहरूलाई पार्टीमा पछि पार्ने क्रम चलिरहेको छ। स्थानीय चुनावमा पनि दर्जनौं त्यस्ता नेताहरूले टिकट नपाएको गुनासो आएको थियो, जुन अहिले प्रदेश र प्रतिनिधि सभाको टिकट वितरणमा पनि दोहोरिने देखिएको छ।

केन्द्रीय नेतामा ओलीको पहिलो तारो रावल र भुसाल हुन् भने जिल्ला जिल्लामा दर्जनौं नेताहरू त्यो मारमा पर्दैछन्।

विकल्प नभएका र कतिपय जित्ने अवस्था नभएका क्षेत्रमा भने हिजो माधव नेपालसँग लागेपनि अहिले आफ्नो पक्षमा बलियोसँग उभिएका नेताहरूलाई ओलीले टिकट दिने निर्णय गरिसकेका छन्।

ओलीले टिकट दिने तयारी गरेका ती नेता हुन्— योगेश भट्टराई ताप्लेजुङ–१, यज्ञराज सुनुवार ओखलढुंगा–१, जयकुमार राई सुनसरी–१, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल चितवन–१ र २, गोकर्ण विष्ट गुल्मी–२, झपट रावल कैलाली–२, ठाकुर गैरे पाल्पा–२, ध्रुव शाही सुर्खेत–१ र निरज आचार्य जाजरकोट हुन्।

ओलीले टिकट दिने सूचीमा राखेका १० मध्ये योगेश भट्टराईको अझै अन्तिम निर्णय भइसकेको छैन।

‘ताप्लेजुङका नेताहरूसँग सल्लाह गरेर निर्णय गर्छु भनेर अध्यक्षले भन्नु भएको छ, तर योगेशले टिकट पाउनुहुन्छ,’ एमाले स्थायी समितिका एक सदस्यले भने, ‘हिजो अर्को पक्षमा लागेका भएपनि अरु नौ जनाले टिकट पाउने करिब निश्चित छ।’

त्यसबेला माधव नेपालको पक्षमा लागेका चर्चित अनुहारमध्ये युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले भने चुनावी राजनीतिबाट स्वच्छिक अवकाश लिन खोजेका छन्। शाक्यले स्थायी कमिटी बैठकमै ‘म अब चुनावी राजनीति गर्दिनँ, उम्मेदवार बन्दिनँ’ भनेर घोषणा गरेपछि टिकटका लागि दौडधुपमा रहेका एमाले नेताहरूबीच एउटा तरंग नै आएको थियो।

‘अष्टलक्ष्मी कमरेडको घोषणाले एक खालको तरंग त ल्यायो, तर ओलीले एक पटक पुनर्विचार गर्नुस भन्नु भएको छ,’ स्थायी कमिटीका ती सदस्यले भने, ‘अष्टलक्ष्मी चुनाव लड्न तयार हुनु भयो भने काठमाडौँ ८ बाट उममेदवार बनाउने ओलीको तयारी छ।’

हिजो माधव नेपालसँग निकै निकट रहेर काम गरेका र पार्टी विभाजन हुँदा एमालेतिर उभिएका रघु पन्त एमालेको समानुपातिक सूचीमा पहिलो नम्बरमा परेकोमा ‘दश भाइ’ नेताहरू पनि छक्क परेका छन्। पहिलो नम्बरमा परेर पन्तले बरु आफ्नो सांसद पद सुनिश्चित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .