राजनीति


जसपासँग तालमेलले एमालेमा असन्तोष, भोट माग्दै हिँडेका नेताको टिकट खोसियो

धेरै क्षेत्र दिएको भन्दै नेतृत्वको विरोधमा उत्रिए नेताहरु
जसपासँग तालमेलले एमालेमा असन्तोष, भोट माग्दै हिँडेका नेताको टिकट खोसियो

सुमन पुरी
असोज २१, २०७९ शुक्रबार २०:१९, मोरङ

नेकपा एमालले मोरङमा प्रतिनिधि सभाको एक र प्रदेशको तीन निर्वाचन क्षेत्र जसपालाई दिएर चुनावी तालमेल गरेको छ। 

प्रतिनिधि सभाका लागि मोरङ क्षेत्र नम्बर ५ र प्रदेशका लागि ४,५,६ निर्वाचन क्षेत्रको ख क्षेत्र जसपालाई एमालेले दिएको हो। 

अन्तिम समयमा आएर जसपालाई निर्वाचन क्षेत्र दिएपछि एमालेमा तीव्र असन्तुष्टि फैलिएको छ। 

तालमेलपछि उम्मेदवार फाइनल भएर भोट माग्दै हिँडेका नेताहरु भने समस्यामा परेका छन्। 

मोरङ क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डल प्रतिनिधि सभाका लागि उम्मेदवारका रुपमा हेरिएको थियो। 

जीवन विकास समाज नामक संस्थाका निर्देशक मण्डल एमालेमा प्रवेश गरी चुनावी गतिविधिमा व्यस्त थिए। 

मोरङ क्षेत्र नम्बर ६ ख मा परशुराम बस्नेत फाइनल उम्मेदवार भन्दै एक महिनाअघिबाटै भोट माग्दै हिँडेका थिए। 

यस्तै क्षेत्र नम्बर ४ ख मा जीवन घिमिरे समेत उम्मेदवारका रुपमा हेरिएका थिए। उनी पनि महिना दिनअघिबाटै मत माग्न व्यस्त थिए। 

जिल्लामा सोध्दै नसोधी क्षेत्र बाँडफाँट भएको भन्दै एमाले मोङका नेताहरुले केन्द्रको निर्णयमा तीव्र असन्तुष्टि जनाएका छन्। 

एक नेताले भने,'अहिले पनि पुनर्विचारका लागि भनिरहेका छौँ। हामी जसपालाई त्यति धेरै क्षेत्र दिनु हुँदैन भन्ने पक्षमा छौँ।' 

यी हुन एमाले उम्मेदवार 
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ बाट एमालेले घनश्याम खतिवडालाई उम्मेदवार बनाउने भएको छ। 

उनीसँगै पूर्व कानुनमन्त्री  शिवमाया तुम्वाहम्फे पनि  आकांक्षी थिइन्। तर अघिल्लो पटक त्यही क्षेत्रबाट निर्वाचन जितेका खतिवडाले टिकट पाउने एमालेका एक स्थायी कमिटी सदस्यले बताए। 

क्षेत्र नम्बर २ बाट एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल ,४ बाट विनोद ढकाल र ६ बाट लालबाबु पण्डित संघका लागि उम्मेदवार हुने एमालेले जनाएको छ। 

प्रदेशमा भने तालमेलपछि उम्मेदवार हेरफेर हुने भएकाले फाइनल नाम भोलिसम्म आउने एमाले मोरङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .