राजनीति


भीम रावलपछि घनश्याम भुसालले पनि एमालेको टिकट नपाउने

भीम रावलपछि घनश्याम भुसालले पनि एमालेको टिकट नपाउने

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार २०:५५, काठमाडौँ

तत्कालीन अवस्थामा एमालेमा देखिएको विवादका क्रममा माधवकुमार नेपाल समूहमा लागेका नेता भीम रावलपछि घनश्याम भुसालले पनि संसदको टिकट नपाउने भएका छन्।

आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने पक्का भएपछि रुपन्देही क्षेत्र नम्बर ३ मा घनश्याम भुसालको पनि टिकट खोसिने भएको हो।

एमालेले राप्रपासँग तालमेल हुँदा रुपन्देही ३ छाड्न लागेको हो। रुपन्देही ३ मा २०७४ को निर्वाचनमा एमालेबाट भुसाल विजयी भएका थिए। 

तर यो पटक राप्रपाबाट उक्त क्षेत्रमा दीपक बोहोरा एमालेको सहयोग लिएर उठ्ने भएका छन्। २०७४ मा यही क्षेत्रबाट भुसालले बोहोरालाई पराजित गरेका थिए। 

एमाले र राप्रपाले तालमेलको औपचारिक निर्णय शनिबार गर्दैछन्। शुक्रबारसम्म एमालेले झापा क्षेत्र नम्बर ३ राप्रपालाई छाडिसकेको छ। जहाँ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभामा दोहोरिने तयारीमा छन्।

यस्तोमा उनका सम्भावित प्रतिस्पर्धी कांग्रेसका कृष्ण सिटौला हुनेछन्। उनलाई २०७४ मा पनि लिङ्देनले हराएका थिए।  

राप्रपाका एकजना नेताका अनुसार एमालेसँगको तालमेल सहमतिअनुसार अहिलेसम्म झापा ३, रुपन्देही ३ र बाँके २ आफूहरुले लिने समझदारी भएको छ।

झापा ३ मा लिङ्देन, रुपन्देही ३ मा बोहोरा र बाँके २ मा धवल शमशेर जबरा राप्रपाबाट उठ्दैछन्। यस्तोमा एमालेका अर्थ तथा योजना विभाग प्रमुख भुसालको यो पटकको संसद यात्रा रोकिने भएको हो। 

रवीन्द्र मिश्र उठ्ने काठमाडौं १ बारे दुई दलबीच सहमति भइसकेको छैन। काठमाडौ‌ं १ मा एमालेले किरण पौडेललाई अघि सारेको छ। यहाँ कांग्रेसका प्रकाशमान सिंह २०७४ मा विजयी भएका थिए। यो पटक पनि उनी मैदानमा छन्।

भुसाल पनि भीम रावल जस्तै चितवनमा भएको दशौँ महाधिवेशनमा एमाले अध्यक्ष ओलीलाई चुनौती दिने एकजना नेता थिए।

ओलीले नेतृत्व सर्वसम्मत चयन गर्न खोज्दा भुसालले बन्दसत्रको मञ्चमै पुगेर आफूहरुलाई प्रतिस्पर्धा गरेर हार्ने अवसर दिन भन्दै अनुनयविनय गरेका थिए। 

सिट बाँडफाँटलाई लिएर ओली र राप्रपा अध्यक्ष लिङ्देनसहितले शुक्रबार साँझ वार्ता गरेका थिए। उक्त वार्ताअनुसार शनिबार दुई दलबीच सिटबारे टुंगो हुनेछन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .