राजनीति


एकीकृत समाजवादीले सिट नपाउँदा कञ्चनपुरमा सत्ता गठबन्धन धरापमा

एकीकृत समाजवादीले सिट नपाउँदा कञ्चनपुरमा सत्ता गठबन्धन धरापमा

फाइल तस्बिर


गोकुल जोशी
असोज २२, २०७९ शनिबार १८:३३, कञ्चनपुर

कञ्चनपुरमा सत्तारुढ गठबन्धन धरापमा परेको छ। सिट बाँडफाँटमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी असन्तुष्ट बनेपछि गठबन्धन धरापमा परेको हो।

एउटा पनि संघीय निर्वाचन क्षेत्र नपाएको एकीकृत समाजवादी कञ्चनपुरका ६ वटा प्रदेश सभा क्षेत्रमा पनि नअटाएपछि बाहिरिने तयारी गरेको छ। 

‘समाजवादीलाई बाहिर राखेर कांग्रेस र माओवादीले भागबण्डा गरिरहेको खबर आएको छ, यसरी गठबन्धनमा बसिरहनुको केही औचित्य छैन,’ नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले नेपालखबरसँग भने, ‘एक्लै लड्ने तयारी गरिरहेका छौँ।’

तीन वटा संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर १ माओवादी केन्द्रले पाएको छ भने क्षेत्र नम्बर २ र  ३ कांग्रेसले पाएको छ। 

प्रदेश सभाका ६ क्षेत्रमध्ये ३ माओवादी केन्द्र र ३ कांग्रेसले लिने गरी अन्तिम तयारी भएपछि समाजवादी ससंकित भएको छ। 

‘अझै पनि एउटा सिट पाउने आश छ तर, त्यसो भएन भने मित्रवत् प्रतिस्पर्धाका लागि तयारी गर्न कार्यकर्ताहरुलाई भनिएको छ,’ उनले भने।

क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (१) माओवादी र प्रदेश सभा (२) कांग्रेसले पाएको छ। यस्तै, क्षेत्र नम्बर २ मा प्रदेश सभा (१) माओवादी र (२) कांग्रेसले पाउने पक्कापक्की भएको स्रोतको दाबी छ। 

क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा समाजवादीले अन्तिम समयसम्म दावी छाडेको छैन्। 

एकीकृत समाजवादीले सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री प्रकाश रावलका लागि प्रदेश सभा क्षेत्र नम्बर ३ (१) सुरक्षित गर्न अन्तिमसम्म गृहकार्य गरिरहेको छ। 

तर यो क्षेत्रमा माओवादीको पनि सशक्त दावी छ। माओवादी केन्द्रका संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्टको पक्षमा पार्टीका केन्द्रीय नेताको बढी जोड्बल रहदा समाजवादी बाहिर पर्ने सम्भावना बढेको छ। 

‘अर्थमन्त्री जनार्दन शर्मा स्वयम् भट्टको लबिइङमा शीर्ष नेताहरुलाई भेटन थालेपछि अन्तिममा माओवादीको पोल्टामा यो सिट पर्ने सम्भावना छ,’ स्रोतले भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .