राजनीति


चुनावी मैदानमा ३१ चर्चित महिला, कति पुग्लान् संसदमा?

चुनावी मैदानमा ३१ चर्चित महिला, कति पुग्लान् संसदमा?

विभिन्न दलबाट प्रतिनिधिसभा उठेका ३१ चर्चित महिला


केशव सावद
असोज २४, २०७९ सोमबार १६:३३, काठमाडौँ

आसन्न निर्वाचनमा नेपाली राजनीतिक क्षेत्रका ३१ चर्चित महिलाहरु प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। 

मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट ५, नेकपा एमालेबाट ११ र नेकपा माओवादी केन्द्रबाट ७ चर्चित महिलाको उम्मेदवारी परेको हो। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट तीन, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक र स्वतन्त्रबाट दुई महिला पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।  

सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले सहमहामन्त्री डिना उपाध्याय ‘महामक्ष्मी’, निवर्तमान उपसभामुख पुष्पा भुसाल, पूर्व उपसभामुख चित्रलेखा यादव र केन्द्रीय सदस्यद्वय सुजाता कोइराला र सीता गुरुङलाई उम्मेदवार बनाएको छ। 

सहमहामन्त्री उपाध्यायले मकवानपुर–१, भुसालले अर्घाखाँची, यादवले सिरहा–२, कोइरालाले मोरङ–२ र गुरुङले तेह्रथुमबाट मनोनयनपत्र दर्ता गरेका छन्। 

कांग्रेसले २०७४ को निर्वाचनमा ७ महिला नेतृलाई प्रतिनिधिसभा तर्फ उम्मेदवार बनाएको थियो। गत निर्वाचनमा पराजित भएका ७ मध्ये प्रथम महिला डा. आरजु राणा देउवा, केन्द्रीय सदस्यद्वय ईश्वरी न्यौपाने र सरस्वती बजिमय समानुपातिकतर्फ उम्मेदवार छन्।   

प्रमुख प्रतिपक्षी एमालेका तर्फबाट कोमल वली, विद्या भट्टराई, पद्मा अर्याल, शान्ता चौधरी, भगवती चौधरी, निरु पाल, जुलीकुमारी महतो, गौरी वली, ज्वालाकुमारी साह, मञ्जु चौधरी र मञ्जु शर्मा चालिसे उम्मेदवार छन्। 

एमालेले कोमललाई लाई दाङ–३बाट, विद्यालाई कास्की–२, पद्मालाई स्याङ्जा–२, शान्तालाई दाङ–१, भगवतीलाई सुनसरी–३, निरुलाई कञ्चनपुर–३, जुलीकुमारीलाई धनुषा–३, गौरीलाई डोटी, ज्वालाकुमारीलाई बारा–३, मञ्जु चौधरीलाई उदयपुर–१ र मञ्जु शर्मा चालिसेलाई बागलुङ–२ बाट उठाएको छ। 

२०७४ को निर्वाचनमा एमालेले ५ महिलालाई मात्र प्रतिनिधिसभामा टिकट दिएको थियो। 

सत्ता साझेदार माओवादी केन्द्रले उर्जमन्त्री पम्फा भुसाललाई ललितपुर–३, पूर्व उपसभामुख ओनसरी घर्तीलाई काठमाडौं–२, रेखा शर्मालाई दाङ–२, बीना मगरलाई कञ्चनपुर–१, मानुषी यमी भट्टराईलाई काठमाडौं–७, कल्पना धमलालाई काठमाडौं–९ र गोमा कुँवरलाई जुम्लाबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। 

यस्तै एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले पनि चर्चित अभिनेत्री रेखा थापा, महामन्त्री कुन्ती शाही र कुन्ती पोखरेललाई उम्मेदवार बनाएको छ। 

अभिनेत्री रेखाले मोरङ–३, महामन्त्री शाहीले दैलेख–१, पोखरेलले काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गरेका छन्।  

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका तर्फबाट युवा नेत्री रामकुमारी झाँक्री, जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। गठबन्धनले झाँक्रीलाई गुल्मी–२ र पौडेललाई प्यूठानबाट उम्मेदवार बनाएको छ। 

राष्ट्रिय उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन्। नागरिक उन्मुक्ति टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीले कारागारबाटै स्थापना गरेको दल हो। श्रेष्ठ चौधरीकी श्रीमती हुन्। 

स्वतन्त्रतर्फ चर्चित युवा नेत्री रञ्जु दर्शना र गंगा चौधरी सतगौवाले उम्मेदवारी दिएका छन्। 

रञ्जु २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उठेकी थिइन्। चौधरीले एमालेबाट विद्रोह गरेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेकी हुन्। 

२०७४ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ ६ जना महिलाले मात्रै संसदको यात्रा तय गरेका थिए। यो पटक महिलाको उम्मेदवारी बढेकाले विगतको संख्यामा सुधार आउन सक्ने अपेक्षा गर्न सकिन्छ।

प्रतिनिधिसभामा उठेका जम्मा १९१ महिलामध्ये कतिले संसदको ढोका उघार्लान् त्यो मंसिर ४ गतेपछि थाहा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .