ad ad

राजनीति


बैंकिङ कसुरले डुबायो राजुलाई, विष्णु पौडेलको चुनौतीको पहाड पन्छिएकै हो त?

युवामाझ चर्चित कमल भुसाल पनि मैदानबाहिर
बैंकिङ कसुरले डुबायो राजुलाई, विष्णु पौडेलको चुनौतीको पहाड पन्छिएकै हो त?

रुपन्देही २ मा उम्मेदवारी खारेज भएका दुई उम्मेदवार र एमाले उम्मेदवार विष्णु पौडेल


सुदीप भण्डारी
असोज २६, २०७९ बुधबार १०:२३, बुटवल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका कारण बुटवलको चुनावी मुद्दा राष्ट्रिय मसला भइरहेको छ। 

लामो समयदेखि एमालेको नेतृत्व तहमा बसेका उपाध्यक्ष पौडेलको चुनावी क्षेत्र भएकाले देशभरको ध्यान यहाँ पर्ने गरेको छ। 

मंगलबार एकाएक यहाँको चुनावी गतिविधिले देशभर चर्चा पायो। यहाँको निर्वाचन अधिकृतको निर्णयले सत्ता गठबन्धनमै तरंग ल्याएको छ।

बुटवल र आसपास समेटिएको हालको रुपन्दही क्षेत्र नम्बर २ बाट विष्णु पौडेल पाँचौ पटक उम्मेदवार बन्दै छन्। 

उनी अहिले लगातार चौथो जित निकाल्ने प्रयासमा छन्। २०७४ सालमा यही क्षेत्रबाट २२ हजारको फराकिलो मतसहित उनी विजयी भएका थिए। 

एमालेको गढ मानिएको बुटवलमा गत स्थानीय निर्वाचनमा एमालेले मेयरसहित अधिकांश वडा गुमाएको थियो।  

स्थानीय चुनावको नतिजा हेर्दा यो पटक पौडेललाई बुटवलमा चुनौती थियो।

बैंकिङ कसुरमा फसे राजु
तर मंगलबार अबेर राति पौडेलको अगाडि रहेका चुनौतीका पहिरो पखालिएर बाटो खुल्ला देखिएको छ।   

पौडेलसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजु गुरुङलाई उम्मेदवार बनाएको थियो। बलियो प्रतिस्पर्धी मानिएका राजुको उम्मेदवारी नै खारेज भयो।   

बैंकिङ कसुर मुद्दामा कालोसूचीमा परेको भन्दै एकीकृत समाजवादीका उम्मेदवार राजुविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। 

उजुरी छानबिनपछि मंगलबार राति निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज भएको सूचना निकालेको हो। 

गठबन्धनका साझा उम्मेदवार गुरुङ नर्थ वेष्ट नेपाल इन्फा प्रालिका अध्यक्ष हुन्। उनले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै २०७६ सालमा काठमाडौं जिल्ला अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो। 

अदालतले २०७८ मंसिर २१ गते बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई दायित्व तिर्नुपर्ने फैसला गरेको थियो। 

फैसलामा नर्थवेष्ट नेपाल इन्फा प्रालिका गुरुङसहितका ६ जनाले विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैयाँ जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने उल्लेख थियो। 

उक्त रकम नतिरेकाले कालोसूचीमा परेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो। कालोसूचीमा परेकाले राजुको मनोनयन दर्ता खारेज भएको रुपन्देही २ का निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिए।

‘साँझ ५ बजेसम्म कालोसूची हटाइएको भनेर सम्बन्धित पत्र ल्याउन समय दिएका थियौँ,’ उनले भने ‘उहाँ (राजु) ले क्लियरेन्स गर्न सक्नुभएन। त्यसैले खारेज भयो।’ 

समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवसमेत रहेका राजुले लामो समयदेखि विष्णु पौडेलविरुद्ध चुनाव लड्ने तयारी गरेका थिए। 

एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि बुटवलका विभिन्न कार्यक्रममा अबको चुनावमा पौडेलविरुद्ध मैदानमा उत्रिने बताउँदै आएका थिए। 

अन्ततः सत्ता गठबन्धनको भागबण्डामा रुपन्देही २ एकीकृत समाजवादीलाई परेको थियो।

सत्तालाई धक्का
राजुको उम्मेदवारी खारेजीपछि उनको पार्टी एकीकृत समाजवादीसहित सत्ता गठबन्धनलाई नै धक्का लागेको छ। यतिबेला रुपन्देही क्षेत्र नम्बर २ गठबन्धनविहीन भएको छ।  

राजुसँगै हाम्रो नेपाली पार्टीका कमल भुसाल ‘निकोलश’को पनि उम्मेदवारी खारेज भएको छ। 

निकोलसले सरकारी छात्रवृत्तिमा एमडी पढेका हुन्। छात्रवृत्तिमा चिकित्सा शास्त्र पढेपछि २ वर्ष अस्पतालमा सेवा गर्नै पर्ने हुन्छ। 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत उनले सरकारबाट मासिक निर्वाह भत्ता पनि पाउँछन्। 

सरकारी कोषबाट आर्थिक सुविधा पाउने गरि लाभको पदमा रहेकाले भुसालको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

भुसालले पनि लामो समयदेखि रुपन्देही क्षेत्र नम्बर २ मा चुनावी तयारी गरेका थिए। विशेषगरी काठमाडौं महानगरपालिकामा बालेन साहले जितेपछि उनी बुटवलमा चुनाव लड्न तम्सिएका थिए। 

उनी बालेनको चुनावी अभियानका सहयोगी पनि हुन्। बालेनकै शैलीमा रुपन्देहीका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएका थिए। ठाउँ ठाउँमा स्वास्थ्य शिविरदेखि युवालाई भेला पारेर अन्तरक्रिया गर्ने गर्थे।

हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह लिएर चुनावमा होमिएका भुसालको सामाजिक सञ्जालमा माहोल बढ्दै गएको थियो।

यस्तै रुपन्देही २ कै स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको छ। तर उनी सशक्त उम्मेदवार थिएनन्। 

उम्मेदवारी खारेजीमा परेका गुरुङ र भुसाललाई कानुनी प्रक्रियामा जाने बाटो भने खुल्ला छ। निर्वाचन अधिकृतको कार्यालयको निर्णय चित्त नबुझेमा उनीहरु निर्वाचन आयोग जान सक्ने छन्। आयोगको निर्णयपछि अदालत पनि पुग्न पाउँछन्। 

गठबन्धनको साझा उम्मेदवार राजु र युवा पुस्तामाझ माहोल बढाउँदै लगेका भुसालको उम्मेदवारी खारेज भएपछि विष्णु पौडेलको चुनावी यात्रा सहज भएको विश्लेषण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .