राजनीति


आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने दुष्प्रयास नहोस् : थपलिया

आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने दुष्प्रयास नहोस् : थपलिया

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १९:४०, काठमाडौँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानून अनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताबिरोधी गतिविधि गर्यो भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेतसमेत गराए।

शुक्रवार आयोग कार्यालयमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भीर बन्न पटकपटक आग्रह गरे। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामी कसैको निगरानी गर्दैनौं। हाम्रो गरिदिनोस् भन्छौं। खबरदारी गरिदिनोस् भन्ने हामीले पटकपटक भनिराखेका छौं। यो निर्वाचनको स्वच्छता, मैले तपाईहरुलाई भनेको छु–हामी निर्वाचन मात्रै गर्दैछैनौं। हामी लोकतन्त्रलाई थप सुदृढ गर्दैछौं। हामी जनताको बहुदलीय प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीलाई अझ मजबुत बनाउने अभ्यासमा छौं। तसर्थ, यो अभ्यासलाई कुण्ठित हुने ढंगका र निर्वाचन आयोगलाई खुद्रा मसिना कुरामा अलमल्याएर कतै निर्वाचनको स्वच्छता, भंग गर्न सकिन्छ कि भन्ने दुश्साहस यदी कसैले राखेको छ भने मैले यत भनौं–त्यो दिवा स्वप्न हो। त्यतातिर नलागे हुन्छ। म यहीँबाट हार्दिकतापूर्वक अनुरोध गर्दछु।’ 

उनले थपे, ‘मैले र हाम्रो टिमले प्रेस काउन्सिल ऐन, २०४८ पनि पढेको छ। प्रेस काउन्सिल गठन भएको छ। र, क्रियाशील भएको छ भन्ने पनि बुझेको छु। प्रेस काउन्सिलले के–के काम गर्छ भन्ने पनि जानेको छ। र, यो बेलामा निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित विषयलाई समेत मध्यनजर गरेर प्रेस काउन्सिलले अझै गम्भिरतापूर्वक आफ्नो भूमिका निर्वाह गरिदियोस् भनेर हामी आग्रह गर्दछौं। तर निर्वाचन सम्बन्धी कानूनले कुनैपनि निकायलाई आयोगले निर्देशन गर्नसक्ने अधिकार दिएको छ। हामी त्यसको पालना गर्छौं। प्र्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुनेछैन। आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने प्रयास नगरियोस्।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले निर्वाचन कानून र संवैधानिक मूल्यमान्यता बमोजिम निर्वाचनको कार्य सम्पादन गर्नका लागि विभिन्न निकायहहरुलाई निर्देशन दिनसक्ने व्यवस्था रहेको पनि स्मरण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad