ad ad

राजनीति


दाङ १ मा तीन चौधरी, विगतका सहकर्मी अहिले प्रतिस्पर्धी

पार्टी विभाजन र बागीले सजिलो छैन शान्तालाई
दाङ १ मा तीन चौधरी, विगतका सहकर्मी अहिले प्रतिस्पर्धी

सुदीप भण्डारी
असोज ३०, २०७९ आइतबार १७:७, रुपन्देही

दाङको देउखुरी क्षेत्रमा आदिवाासी थारु समुदायको बाहुल्यता छ। पूर्वपश्चिम राजमार्ग आसपाको उपत्यका देउखुरी दाङ क्षेत्र नम्बर १ मा पर्छ।

अहिले यो निर्वाचन क्षेत्रमा चौधरी उम्मेदवारको चर्चा छ। प्रतिनिधि सभातर्फ कुल १२ मध्ये ५ जना उम्मेदवार थारु समुदायका छन्। 

नेकपा एमालेबाट शान्ता चौधरी, सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरी, एमाले छोडेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवार भएकी गंगा चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहटकी रुक्मिणी चौधरी दाङ क्षेत्र नम्बर १ का उम्मेदवार हुन्। 

यीमध्ये निवर्तमान सांसद शान्ता, मेटमणि र गंगाको राष्ट्रिय चर्चा पनि हुन्छ। २०७४ सालको चुनावमा तीनैजना एमालेबाट चुनावी अभियानमा थिए। 

एमाले विभाजनपछि मेटमणि एकीकृत समाजवादीमा लागे। बाँकी २ जना एमालेकै सांसद रहे। 

दाङ क्षेत्र नम्बर १ मा एमालेबाट शान्ता र गंगा दुवैको नाम सिफारिस भएको थियो। शान्ताले टिकट पाएपछि गंगाले पार्टी छोडिन्। आफूलाई

स्वतन्त्र उम्मेदवार भनेकी उनले हाम्रो नेपाली पार्टीबाट मनोनयन दर्ता गरेर प्रतिस्पर्धामा छिन्। 

२०७४ को चुनावी नतिजालाई आधार मान्दा दाङ १ मा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

शान्ता चौधरी विगतमा अरुको घरमा कमलरी बसेकी थिइन्। कमलरी मुक्ति आन्दोलन हुँदै उनी एमालेको राजनीतिमा आएकी हुन्। 

२०६४ सालमा समानुपातिक सांसद भएकी शान्ता २०७० सालमा प्रत्यक्ष चुनाव लडेर हारिन्। २०७४ सालको चुनावमा फेरि समानुपातिकबाट सांसद भइन्। एमाले सचेतक समेत भएकी उनी अहिले जनतामा गएर सांसद बन्ने प्रयासमा छिन्। 

एमाले उम्मेदवार शान्ता चौधरी

एमालेबाट नवौँ महाधिवेसनमा केन्द्रीय सदस्य भएका मेटमणि चौधरीले २०७४ सालको चुनावमा टिकट पनि पाए। 

त्यसबेला माओवादी केन्द्रको समर्थनमा विजयी भएका थिए। एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएका मेटमणि अहिले पनि मन्त्री छन्। कांग्रेस र माओवादीको समर्थनमा प्रतिनिधि सभामा उठेका छन्। 

सत्ता गठबन्धनका कारण मेटमणिलाई यो पटक केही सहज देखिन्छ। अघिल्लो पटक जस्तो एमालेलाई माओवादीको साथ नुहनु र पार्टीसमेत विभाजित हुँदा शान्ताको चुनौती बढेको छ।

स्थानीयको हिसाब
स्थानीय चुनावलाई आधार मान्दा दाङ–१ मा कांग्रेस बलियो देखिन्छ। वैशाखमा भएको चुनावमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुको मत २९ हजार ७५७ छ। 

एमालेका वडाध्यक्षले २७ हजार २५ मत पाएका थिए। माओवादीको १९ हजार २७६, राप्रपा २ हजार ३५०, एकीकृत समाजवादीको  २ हजार ३४१ र जसपा ८०७ मत छ।

यसरी हेर्दा गठबन्धनका उम्मेदवार मेटमणी बलियो देखिन्छन्। तर २३ सय मत भएको एकीकृत समाजवादीलाई कांग्रेसले कति मत खन्याउँछ भन्नेमा उनको जित हार निर्भर छ। कांग्रेसको मत स्वतन्त्र वा अन्य दलमा नगए मेटमणिको पक्षमा नतिजा आउन सक्छ। 

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष चुरामणि बेलबासेले गठबन्धनको सहमति इमान्दारपूर्वक कार्यान्वयन भए जित सहज भएको बताए। 

‘सांसद, मन्त्री भएर दाङका मानीयमध्ये सबैभन्दा बढी काम गरेको उहाँले हो जस्तो लाग्छ,’ उनले भने, ‘यहाँ गठबन्धन पनि शसक्त छ। अर्को पार्टी यहाँ कमजोर छ। हामीले त प्रतिस्प्रर्धा नै नहोला कि भन्ने ठानेका छौँ।’ 

एमालेकी शान्त चौधरीलाई गठबन्धन र पार्टी विभाजन चुनौती हो। टिकट नपाएपछि स्वतन्त्र उठ्ने बताएकी गंगा हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह लिएर उठेकी छन्। 

एकीकृत समाजवादीका मेटमणि चौधरी

गंगा बलियो उम्मेदवार नदेखिए पनि केही भोट काट्ने सम्भावना छ। शान्ताले कांग्रेसभित्रको असन्तुष्ट र दलमा आवद्ध नभएकाहरुको मत तान्न सकिन् भने जितको सम्भावना केही बढ्न सक्छ। 

दाङका निवर्तमान प्रदेश सांसद तथा एमाले केन्द्रीय लेखा अयोग सदस्य रेवतीरमण शर्माले एमालेबाट बलियो उम्मेद्वार उठाएको भन्दै गठबन्धनलाई जनताले नपत्याउने उल्लेख गरे। 

‘हाम्रो शान्ता चौधरीमा मुक्त कमलरीबाट आउनुभएको फरक व्यक्तित्व छ। हामीले बलियो महिला उम्मेदवार उठाएका छौँ’, उनले भने, ‘गठबन्धनको कुनै रुपरेखा छैन। नेताहरुको नेतृत्वको मात्रै गठबन्धन हो। जनतासम्म पुग्दा त्यसको अर्थ नै हुँदैन।’

एमालेले केही ठाउँमा राप्रपा र जसपासँग गठबन्धन गरे पनि दाङमा छैन। क्षेत्र नम्बर १ मा राप्रपाबाट लिली बुढाथोकी उम्मेदवार बनेकी छन्। 

जसपाले प्रदेशमा पनि उम्मेदवार उठाएको छ। अर्कोतर्फ सत्ता गठबन्धनमा दाङमा लोकतान्त्रिक समाजवादी पार्टी पनि अटेको छैन। उसका पनि प्रदेशमा आफ्नै उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .