ad ad

राजनीति


गुल्मीमा चिरप्रतिद्वन्द्वी ज्ञवाली र भण्डारी आमनेसामने, कसको पल्ला भारी?

गुल्मीमा चिरप्रतिद्वन्द्वी ज्ञवाली र भण्डारी आमनेसामने, कसको पल्ला भारी?

फाइल तस्बिर


सुदीप भण्डारी
कात्तिक १, २०७९ मंगलबार २१:२३, रुपन्देही

 २०५६ सालमा गुल्मीको तत्कालीन क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले प्रतिनिधिसभाको टिकट पहिलो पटक पाए। 

त्यो चुनावमा ज्ञवालीले नेपाली कांग्रेसका चन्द्र केसीलाई पराजित गरि प्रतिनिधि सभा सदस्य बने। 

२०६४ सालको संविधान सभाको चुनावमा ज्ञवालीले अर्का चन्द्रलाई प्रतिस्प्रर्धीको रुपमा पाए। १५ वर्षअघि भेट भएका कांग्रेसका चन्द्र भण्डारीलाई पनि उनले हराए। 

त्यसयता ज्ञवाली र भण्डारीको प्रतिस्पर्धा निरन्तर चलिरहेको छ। 

०६४ सालको संविधान सभा चुनाव जितेका ज्ञवालीलाई भण्डारीले ०७० को चुनावमा पराजित गरे। 

०७४ सालको चुनावमा भण्डारीलाई पराजित गरी ज्ञवालीले नतिजा आफ्नो पक्षमा पारेका थिए।  

आगामी मंसिर ४ गतेका लागि अहिलेको गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप पाँचौ पटक उम्मेदवार बनेका छन्। चन्द्र भने चौथो पटक मैदानमा छन्। 

लामो समय एमालेको केन्द्रीय तहमा रहेका ज्ञवाली नवौँ महाधिवेशनबाट पार्टी सचिव भएका थिए। 

मंसिरमा भएको दशौँ महाधिवेशनयता उनी उपमहासचिवको भूमिकामा छन्। 

अर्कातिर नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै कांग्रेसको मूलधारमा आएका भण्डारी यसअघि केन्द्रीय सदस्यसम्म भएका थिए।

कांग्रेसको चौधौँ महाधिवेशनमा पार्टीको केन्द्रीय उपसभापतिमा भिडे पनि पराजित भए। 

अहिले भण्डारी केन्द्रीय समितिमा पनि छैनन्। ज्ञवालीले पटक पटक मन्त्री बन्ने अवसर पाए तर  भण्डारीले अहिलेसम्म उक्त उपलब्धि लिन पाएका छैनन्। 

ज्ञवाली र भण्डारी दुवै अध्ययन र लेखनमा रुचि राख्ने प्रखर वक्ता हुन्। दुवैजना तुलनात्मक रुपमा कम आलोचित र बढी रुचाइएका नेता हुन्। त्यसकारण पनि गुल्मी १ को चुनावी प्रतिस्पर्धाबारे धेरैको चासो छ।

गुल्मीका एमाले कार्यकर्तासँग प्रदीप ज्ञवाली

उम्मेदवारी मनोनयनसँगै गुल्मी १ मा चुनावी अभियानले तीव्रता पाएको छ। राजनीतिक दलहरु दैनिक घरदैलो अभियानमा लागिसकेका छन्। 

कांग्रेसले टोल समितिहरुलाई सक्रिय बनाएको छ। गठबन्धनसहितको टोल समितिलाई सक्रिय बनाउनुका साथै युवा र महिलाका संगठन पनि सक्रिय छन्। 

अहिले सबै भ्रातृसंगठनहरुलाई पनि परिचालन गरिएको कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताए।

त्यस्तै एमालेले क्षेत्रीय कमिटी अन्तर्गतका सबै पालिकामा पालिकास्तरीय विस्तारित बैठक राखिसकेको छ। 

अहिले निर्वाचन क्षेत्रदेखि पालिका र वडासम्म चुनावी प्रचार कार्यालय खोलिएको एमालेका केन्द्रीय सदस्य जंग नेपालीले जानकारी दिए।

पुरानो नतिजा
पाँच वर्षअघि ०७४ को चुनावमा एमालेका ज्ञवाली ३७ हजार ८१४ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका भण्डारीले ३० हजार २५६ मत पाएका थिए।

ज्ञवालीलाई त्यसबेला माओवादी केन्द्रको साथ थियो। अहिले माओवादी र कांग्रेस मिलेका छन्।

स्थानीयको अंकगणित
गत स्थानीय चुनावको नतिजालाई हेर्दा गुल्मी १ मा एमाले अगाडि देखिन्छ। 

एमालेबाट वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७०१ मत पाएका छन्। 

कांग्रेसबाट वडाध्यक्षका उम्मेदारले ३१ हजार २९४ मत ल्याएका थिए। 

त्यसैगरि माओवादी केन्द्रले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाको १ हजार ६०० र एकीकृत समाजवादीको ४९७ मत थियो।

गुल्मीमा मतदातामाझ कांग्रेस नेता चन्द्र भण्डारी

चुनौती 
स्थानीय चुनावका आधारमा एमाले अगाडि देखिए पनि गठबन्धन दल एक हुँदा ज्ञवालीलाई दोहोरिन चुनौती छ। 

गठबन्धनको बलमा भण्डारीलाई केही सहजता हुने छ। केपी शर्मा ओली नेतृत्वको सरकारमा ज्ञवाली प्रराष्ट्रमन्त्री थिए। कांग्रेसले ज्ञवालीसँग जोडेर प्रतिनिधिसभा विघटनको एजेन्डा पनि मतदातामाझ लैजान सक्छ।

यता भण्डारीलाई अंक गणितले सहज देखिए पनि गठबन्धन पूरै कार्यान्वन हुनेमा शंका छ। 

अर्कोतर्फ गुल्मी १ बाट पार्टीमा डा. शेखर कोइराला पक्षका भण्डारीसँगै शेरबहादुर देउवापक्षका केन्द्रीय सदस्य चन्द्र केसी पनि आकांक्षी थिए। 

टिकट वितरणको बेलाको  असन्तुष्टि चुनावमा देखिएमा भण्डारीको मत केही घट्न पनि सक्छ। यसले ज्ञवालीलाई फाइदा हुने सम्भावना छ।

कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले मनोनयनसँगै पार्टीभित्र कुनै असन्तुष्टि नरहेको दाबी गरेका छन्। उनले यो पटक भण्डारीको जित सहज भएको दाबी गरे। 

‘स्वभाविक रुपमा आकांक्षी धेरै हुनुहुन्थ्यो। अहिले चाहिँ पार्टीले दिएको टिकट र गठबन्धनको उम्मेदरीमा असन्तुष्टि छैन,’ उनले भने, ‘गठबन्धनका उम्मेदवारले जित्ने रणनीति बनाएर मतदाताको रायअनुसार अघि बढेका छौँ। आममतदाताले गठबन्धनलाई मत दिन्छन्। अहिले हार्ने कल्पना गरेका छैनौँ।’

एमाले केन्द्रीय सदस्य जंग नेपालीले सांसद हुँदा गरेको विकास र व्यक्तित्वका कारण ज्ञवालीले मत पाउने बताए। 

नेपालीले स्थानीय चुनावको मतमा पनि धेरै सुधार हुने दाबी गरे।

‘उहाँको कार्यकालका विकास निर्माणप्रति जनताको गुनासो छैन। यसपटक पनि जनताले धेरै आशा गरेका छन्,’ उनले भने, ‘स्थानीय चुनावका आधारमा गठबन्धनको केही बढी मत देखिए पनि त्यो संसदीय निर्वाचनमा कायम रहँदैन। मतदातासँग ज्ञवालीको आफ्नै किसिमको सम्पर्क र सम्बन्ध छ।’

गुल्मी १ मा गठबन्धनबाट प्रदेश सभा १ (क) मा माओवादीका सुदर्शन बराल र १ (ख) मा कांग्रेसका धनेन्द्र कार्की उम्मेदवार छन्। 

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले १ (क) मा मनोनयन दर्ता गरे पनि अहिले  उम्मेदवारी निष्क्रिय पारेको छ। एमालेको तर्फबाट १ (क) मा चिन्तामणि पाण्डे र १ (ख) मा फर्सराम पाण्डे मैदानमा छन्। 

प्रतिनिधि सभातर्फ गुल्मीमा ज्ञवाली र भण्डारीसहित दलका ६ र स्वतन्त्रबाट २ जना गरि ८ उम्मेदवार छन्। 

प्रदेश सभातर्फ १ (क) मा १० जना र १ (ख) मा ११ उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .