राजनीति


ओली र प्रचण्डले यी वाचा पूरा गरेको भए‍‍‍‍....

ओली र प्रचण्डले यी वाचा पूरा गरेको भए‍‍‍‍....

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १८:४८, काठमाडौँ

काठमाडौंदेखि तराई झर्दा फास्ट ट्रयाकको यात्रा। काठमाडौंमा त झनै मोनोरेल, मेट्रो रेल, ट्राम लगायतका अत्याधुनिक यातायात। चक्रपथमा रेल। ६ लेनको पूर्वपश्चिम राजमार्ग। त्यसको साइडबाट पूर्व–पश्चिम सलल चल्ने विद्युतीय रेल। काठमाडौं–पोखरा चल्ने रेलमार्गको निर्माणका क्रममा उडिरहेको धूलो....!

पाँच वर्षअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एउटै मञ्चमा उभिएर समयावधिसमेत तोकेर जनतालाई दिएको आश्वासन पूरा भएको भए अहिले यो समाचार लेख्दै गर्दा काठमाडौंमा रेल कराएको सुनिने थियो। पूर्व–पश्चिम राजमार्गको दूूरी धेरै नै छोटो भइसकेको हुनेथियो।

तर, दुर्भाग्यवस ओली र प्रचण्डको आश्वासन घोषणापत्रमै सीमित रह्यो।

आम निर्वाचन २०७४ का बेला ओली र प्रचण्डले एउटै मञ्चमा उभिएर साझा चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए। उनीहरुले विभिन्न किसिमका हुने, नहुने आश्वासन दिएका थिए।

सँगै मिलेर जनतासमक्ष गरेका बाचा चटक्कै भुलेर अहिले दुबै नेता एक अर्कालाई गाली गर्दै फेरि भोट मागिरहेका छन्। ओली गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा भोट माग्दैछन्। प्रचण्ड गोरखा क्षेत्र नम्बर २ पुगेका छन्।

पाँच वर्षअघि ओली र प्रचण्डले जनतासँग के भनेर भोट मागेका थिए? साझा घोषणापत्रमा भनिएका के–के कुरा पूरा भए, के पूरा भएनन्? अहिले यसलाई सम्झने बेला आएको छ।

०७४ मा एमाले र माओवादीले गठबन्धन बनाएर साझा घोषणापत्रका आधारमा चुनाव लड्ने क्रममा मूल नारा बनाएका थिए– ‘स्वच्छ निर्वाचन लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि वामपन्थी सरकार।’

एमाले–माओवादी गठबन्धनको अर्को नारा थियो,‘स्वाधीनता समृद्धि र समाजवादको आधार, सबै तहमा वामपन्थीहरुको जनपक्षीय सरकार।’

यिनै नाराका आधारमा जनताले मत दिएर वामपन्थीको सरकार पनि बनाइदिएका हुन्, तर अहिले पाँच वर्ष नपुग्दै ०७४ को जनमत खण्डित बनेको छ।

०७४ को चुनावमा ओली र प्रचण्डले जनतासमक्ष के–के गर्ने वचन दिएका थिए त? दीर्घकालीन एवं समय नतोकिएका आश्वासनलाई बिर्सेर हामीले यहाँ ५ वर्षभित्र गर्छु भनेका कामको विवरण मात्र प्रस्तुत गरेका छौं–

– आगामी ५ वर्षमा पूर्व–पञ्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिनेछ। यसै अवधिमा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ।

– पहिलो वर्षदेखि सुरु गरेर दोस्रो वर्षमा सम्पन्न हुने गरी काठमाडौंमा पेट्रोलियम बाहनलाई विद्युतीय बाहनमा प्रतिस्थापन गरिनेछ।

– काठमाडौं–तराई द्रुतमार्ग चार वर्षभित्र निर्माण गरिनेछ। पूर्वपञ्चिम राजमार्गलाई ५ वर्षभित्र ६ लेनमा स्तरोन्नति गरिनेछ।

– आगामी पाँच वर्षमा हुलाकी राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरिनेछ।

– आगामी ५ वर्षमा पहुपतिनगर, चुलाचुली, दमक, धरान, चतरा, त्रियुगा, कमलामाई, हेटौंडा, भरतपुर, देवघाट, रामपुर, रिडी, सन्धिखर्क, प्यूठान, घोराही, सुर्खेत, बाबियाचौर, सुँगुरखाल, अमरगढी र पूर्णागिरिसम्म समेट्ने गरी भित्री तराई कृषि तथा औद्योगिक करिडोर निर्माण गरिनेछ।

–मध्यपहाडी पुष्पलाल राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरी पाँच वर्षमा सम्पन्न गरिनेछ।

– सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याइनेछ।

– पाँच वर्षमा सम्पूर्ण सिँचाईयोग्य कृषिभूमिमा आधुनिक सिँचाइँ प्रणाली लागू गरिनेछ।

–दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाइनेछ। पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्याइनेछ।

– दुई वर्षभित्र राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अध्यावधिक गरिनेछ। वैज्ञानिक भूमिसुधार लागू गरी भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गरिनेछ। भूमिसम्बन्धी सम्पूर्ण अभिलेखहरु डिजिटल प्रणालीमा आवद्ध गरिनेछ।

– महिलामाथि हुने हिंसा, बलात्कारलाई उन्मूलन गरिनेछ। पीडकमाथि कडा कानूनी कारवाही गरिनेछ।

– भूकम्पबाट क्षतिग्रस्त संरचनाको ०७६ सालभित्र पुनर्निर्माण सम्पन्न गरिनेछ।

– बाढी पीडितलाई घर निर्माणका निम्ति ३ लाख अनुदान र ३ लाख दीर्घकालीन निब्र्याजी ऋण उपलब्ध गराइनेछ।

– भारतसँग गरिएको सन् १९५० को सन्धी लगायत सबै असमान सन्धी र सम्झौताको पुनरावलोकन गरी गरी राष्ट्रिय हित र आवश्यकता अनुरुप प्रतिस्थापन गरिनेछ। 

–आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबीसै घण्टा पर्याप्त विजुली उपलब्ध गराइनेछ।

– सरकार बनेको पहिलो वर्षमै पूर्वपञ्चिम राजमार्गको समानान्तर र सुरवागढी–काठमाडौं–वीरगञ्जसम्म ७६५ केभी विद्युत प्रसारण लाइनहरु निर्माण सुरु गरिनेछ।

– आगामी पाँच वर्षमा कर्णाली, गण्डकी र कोसी कोरिडोर तथा मध्य पहाडी पुष्पलाल राजमार्गको समानान्तर उच्च क्षमताका प्रसारण लाइन जडान गरिनेछ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ–
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .