ad ad

राजनीति


गठबन्धनका शीर्ष नेता भन्छन् : हामीले हारे देशकै बिजोग हुन्छ, सत्तारुढको अस्तित्व सकिन्छ

गठबन्धनका शीर्ष नेता भन्छन् : हामीले हारे देशकै बिजोग हुन्छ, सत्तारुढको अस्तित्व सकिन्छ

जनकपुुरमा पाँच दलको कार्यकर्ता भेला। तस्बिर : नेपालखबर


जयन्त ठाकुर
कात्तिक ५, २०७९ शनिबार १९:५८, जनकपुरधाम

संविधान र अहिलेसम्मका उपलब्धिको रक्षाका लागि आफूहरुलाई जिताउनै पर्ने अवस्था रहेको सत्ता गठबन्धनका शीर्ष नेताहरुले बताएका छन्। 

पाँचदलीय सत्ताधारी गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई जिताउनै पर्ने अवस्था रहेको तर्क गर्दै अन्यथा सत्तारुढ घटकको अस्तित्व समाप्त भएर संविधान र उपलब्धि समेत गुम्ने डर रहेको बताए। 

जनकपुरधाममा सत्ता गठबन्धनमा आवद्ध दलहरुको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसको मत तान्नका लागि मतदाता फकाउने कोसिस गरे।

उनले मधेसको समस्या समाधानका लागि सत्तारुढ गठबन्धन नै अग्रसर हुने पनि बताए। नागरिकतासम्बन्धी समस्या समाधानका लागि मधेसका जनताले सत्ता गठबन्धनकै पक्षमा मत दिनु आवश्यक रहेको पनि उनको जिकिर थियो। 

छोटो मन्तव्य दिएका देउवाले नागरिकता विधेयकलाई नै आधार मानेर को मधेशको पक्षमा र को विपक्षमा रहेको सोचेर पहिचान गर्न आग्रह गरे। 

भेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको पराजय भए देशकै बिजोग हुने बताए।

उनले देशलाई सही दिशामा डोर्‍याउन सत्ता गठबन्धनका उम्मेदवारले जित्नु आवश्यक रहेको बताए। 

उनले गठबन्धनले जिते भोलि राजदूत र राष्ट्रियसभा सदस्यसहितका राजनीतिक लाभ लिने अवसर बाँकी रहेको बताउँदै नजिते सबै समाप्त हुने उल्लेख गरे। 

दाहालले टिकट पाइएन भनेर घात गर्ने सोच त्याग गर्न कार्यकर्तालाई आग्रह गरे। 

सर्लाही क्षेत्र नम्बर २ सहितका क्षेत्रहरुमा गठबन्धनमै बागी उम्मेदवारहरु रहेको अवस्थामा उनले उनीहरुमाथि सिधा कारवाही गर्ने निर्णय लिन लागेको उनले बताए। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेश र मधेशीको मात्रै नभई गणतन्त्र, धर्मनिरपेक्षता र संघीयविरोधी केपी ओलीको पछाडि नलाग्न आग्रह गरे।

उनले आफूहरुविरुद्ध जनता समाजवादी पार्टीसँग अपवित्र गठबन्धन गरेको आरोप समेत लगाए। 

'पाँच दलीय गठबन्धन मुलुकलाई संकटबाट बचाउन गरिएको छ। संविधानलाई बचाउन गरिएको छ', उनले भने, 'त्यसकारण गठबन्धनको उद्देश्य पवित्र छ । तर एमाले-जसापको गठबन्धन अपवित्र हो। त्यहाँ संघीयताविरोधी तत्वहरू छन्। उनीहरूलाई परास्त गर्नुपर्छ।'

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले गत स्थानीय निर्वाचनको नतिजालाई निहुँ बनाएर अगामी चुनावमा तितामिठा कुरा नकोटयाउन आग्रह गरे। 

गठबन्धनका कार्यदलका संयोजक रामचन्द्र पौडेलले मधेशमा केपी ओली र एमालेले जित्न लागेको जस्तो हाई हाई गर्नु मधेशीको अहितमा रहेको बताए। 

मञ्च भरिइसकेपछि आसन ग्रहण गराउँदा कार्यक्रममा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष महेन्द्रराय यादवलेबहिष्कार गरेर अन्य कार्यकर्तासँगै बसेका थिए। 

उनलाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने क्रममा दुःख नमान्न र मुख्य मिशन पूरा गर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .