ad ad

राजनीति


काठमाडौं १ मा ठूला दलसँग मतदाताको असन्तुष्टि, भारी पर्न सक्छन् स्वतन्त्र

रमेश खरेल र पुकार बम मतदाताको घर-घरमा
काठमाडौं १ मा ठूला दलसँग मतदाताको असन्तुष्टि, भारी पर्न सक्छन् स्वतन्त्र

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमको प्रचार प्रसारमा खटिएका दुई युवा । तस्बिर : पुकारको फेसबुकबाट


सागर न्यौपाने
कात्तिक ६, २०७९ आइतबार २२:४९, काठमाडौँ

अनामनगरको उकालो नसकिँदै देब्रेतर्फ मोडिएर केही उक्लिएपछि पुगिन्छ मगर गाउँ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने मगर गाउँमा नयाँ र पुराना गरी दुवै बस्ती छन्।

आइतबार दिउँसो ३ बजे चुनावी माहोल बुझ्न हामी त्यो गाउँमा पुगेका थियौँ।

अनामनगर, पाठशाला स्कुल, रत्न राज्य लक्ष्मी स्कुल र थापागाउँले घेरिएको मगर गाउँमा अहिलेसम्म दुई दल मात्रै प्रचार गर्दै पुगेका रहेछन्।

ठूला र नाम चलेका कुनै उम्मेदवार त्यहाँ छिरेका छैनन्। हामी त्यस क्षेत्रमा पुग्दा केही युवालाई तिहार लागिसकेको थियो,उनीहरु देउसी खेलिरहेका भेटिए।

बल्लतल्ल मोटरसाइकल चल्ने मगर गाउँभित्र खानेपानी मुख्य समस्या रहेछ।

साँघुरो सडक पनि उनीहरुका लागि समस्या बनेको देखियो। 

त्यहाँ १२ वर्षदेखि व्यवसाय गर्दै आएका बाबुराम दाहालका अनुसार दलप्रति त्यो टोलबासी असन्तुष्ट छन्, त्यहीकारण उनीहरु विकल्प खोज्नुपर्ने बताउँदैछन्। 

‘यहाँ अहिलेसम्म चुनाव प्रचारमा दुईवटा दलमात्रै आएका छन्,’ दाहालले नेपालखबरसँग भने, ‘दलप्रति यहाँका बासिन्दा असन्तुष्ट छन्।'

काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ पर्छन्।

मगरगाउँसहित थापागाउँ, रत्नराज्यलक्ष्मी स्कुल, नयाँ बानेश्वर र अनामनगरपारि १० नम्बर वडाको क्षेत्र समेटिएको छ।

मगर गाउँबाट हामी १० नम्बर वडा कार्यालय रहेको क्षेत्र आसपास पुग्यौँ।

कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको निवास त्यही वडा कार्यालयबाट माथि २० मिटर दुरीमा छ।

कांग्रेस र कम्युनिष्टका उम्मेदवार अहिलेसम्म त्यस क्षेत्रमा घरदैलो गर्न पुगेका छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पुकार बमले एक चरण प्रचार गरिसकेका छन्।

उनले घरदैलो गरेर आफ्नो प्रतिवद्धतासहितका पोष्टर बाँडिसकेका रहेछन्। तर, ती पोस्टर त्यसै सडकमा बेवारिस फ्याकिएको भेटियो।

त्यही क्षेत्रमा भेटिएकी एक महिलाकाअनुसार राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारी दिएकाहरुको अहिलेसम्म त्यहाँ चर्चा छ।

‘अहिलेसम्म ठूला दलले चुनाव प्रचार र घरदैलो गरेको  देखिएको छैन, घर–घरमा भित्र–भित्र पुगेको भए थाहा भएन,’ उनले भनिन्, ‘साँच्चै भन्ने हो भने यहाँ त नयाँ उम्मेदवारतिर मानिसहरु झुम्मिएको देखिन्छ।’

त्यस क्षेत्रमा पनि चुनावी चर्चा चिया पसलदेखि रेष्टुरेन्ट र पार्टी प्यालेससम्म चल्न थालेको छ। उम्मेदवारहरु मतदातालाई फकाउन घरदैलोमा गरिरहेका छन्। 

अलमल
चुनावी प्रचार घरदैलोसम्म पुगिरहे पनि अहिलेसम्म मंसिर ४ पछिको परिणामबारे स्पष्ट बताउने चित्र मतदातामाझ पनि बनिसकेको छैन।

काठमाडौंको ३१ नम्बर वडा शान्तिनगर पुग्दा भने हामीले राजनीतिक दलको प्रभाव देख्यौँ।

एक जना अवकाशप्राप्त उच्च कर्मचारीले काठमाडौं क्षेत्र नम्बर १ को चुनावी परिणामबारे अहिले भन्न सक्ने बेला नभएको बताए।

उनले राजनीतिक दलकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण सुनाए।

‘यो क्षेत्रमा प्रकाशमानका झोले कार्यकर्ता छन्, उनीहरुले अन्त मत हाल्दैनन्,’ उनले नेपालखबरलाई सुनाए, ‘यहाँ कुनै न कुनै दलका मान्छे बाहिरबाट आएर स्थायी बसेका छन्, उनीहरुको विकल्प दलबाहिर छैन।’

काठमाडौंकै स्थानीय मतदाताहरु भने यताउता गर्ने सम्भावना रहेको उनले अनुमान लगाए। 

‘नानीमैया दाहाल जिताउने यहीँका मतदाता हुन्, रवीन्द्र मिश्रलाई पनि झण्डै जिताएका,’ उनले थपे, ‘अहिले पनि केही स्वतन्त्र नामका उम्मेदवार छन्। उनीहरुले दलको जीतहारलाई फरक पार्न सक्छन्।’

काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट कांग्रेसका नेता प्रकाशमान सिंह, नेकपा एमालेबाट किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीबाट पूर्व डीआईजी रमेश खरेलसहित ३२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

स्वतन्त्रले अन्योल
वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा लौरो चिह्न लिएका बालेन्द्र शाह स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए। 

उनको विजयले प्रतिनिधि सभा निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिने होडबाजी नै देखिएको छ। 

मतदाता पनि दलकाभन्दा स्वतन्त्र उम्मेदवारतिर आकर्षित देखिएका छन्।

तर, स्थानीय चुनावमा दलहरुलाई हल्लाएको लौरो चुनाव चिह्न अहिले काठमाडौं क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारसँग छैन। यो चिह्न त ‘हाम्रो नेपाली दल’ले पाएको छ।

स्वतन्त्र भनेर उम्मेदवारी दिनेसमेत दलभित्र प्रवेश गरिसकेका छन्। जसले मतदाता झुक्किने सम्भावना उतिकै छ।

स्वतन्त्र उम्मेदवार भनेर सुरुमा चिनिएका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भइसकेका छन्। 

स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका रमेश खरेलले पनि राष्ट्रिय सुशासन पार्टी खोलेर घरदैलो अभियान चलाइरहेका छन्। 

'यसपटक स्वतन्त्र उम्मेदवारको मत बढ्न सक्थ्यो। तर,तिनीहरु दलकै उम्मेदवार बनेकाले मतदाता झुक्किन्छन्,’ शान्तिनगर प्रयाग मार्गमा भेटिएकी एक महिलाले गुनासो गरिन्, ‘नेताहरुले केही गरेनन् भनेका स्वतन्त्र पनि दलमै मिसिएछन्। चिन्ह पनि के के हो के के?’

पैसा लिएर भोट हाले के हुन्छ?
चुनावमा मत तान्न आर्थिक चलखेल भएको त सुनिएकै हो। तर पर्याप्त प्रमाण नहुँदा निर्वाचन आयोगले एक्सन लिन सकेको छैन।

खासगरी निर्वाचनको मौनअवधि सुरु भएपछि आर्थिक चलखेल बढी हुने गरेको मतदाता नै बताउँछन्। 

‘नेताहरुले पैसाका लागि जे गरे पनि भएको छ, यसपटक त म पनि पाँच हजार जसले दिन्छ त्यसलाई भोट हाल्ने हो,’ एक मतदाताले भनिन, ‘जनता सोझा भएर नेताले हेप्नु हेपे।’

केही राम्रा उम्मेदवार उठेको बताउँदै उनले तिनीहरुलाई सहयोग गर्ने योजना सुनाइन्। 

‘पढे लेखेका युवा पनि उठेका छन्, यसपटकको भोट तिनैलाई दिँदा पनि हुन्थ्यो, जितेनन् भने के अर्थ?,’ उनले सुनाइन्, 'अघिल्लो पटक पनि रवीन्द्र मिश्रलाई मत दिएको तर जितेनन्।’

के होला परिणाम?
काठमाडौं क्षेत्र नम्बर १ मा चुनावी परिणामबारे अहिले यसै भन्ने अवस्था छैन।

उम्मेदवार पनि धेरै छन् तर, मतदातामा प्रभाव पार्ने गरी कसैले माहोल  तताउन सकेका छैनन्।

एमालेबाट त्य क्षेत्रका उम्मेदवार किरण पौडेलले कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने दाबी गरे।

त्यसको पुष्टिका लागि उनले दुवै पार्टीको सांगठनिक मत रहेको तर्क दिए। 

बम र खरेल घर-घरमा
काठमाडौं १ का उम्मेदवामध्ये पुकार बम र रमेश खरेलले आइतबार मात्रै घरदैलो गरेनन्।

उनीहरुले शनिबार दिनभर घर घर पुगेर मत मागे। शनिबार बमले त्रिपुरेश्वर क्षेत्र (११ नम्बर वडा) मा घरदैलो गरिएको बताए।

'हिजो हामीले त्रिपुरेश्वर क्षेत्रबासीसँग भोट मागेका थियौँ, आज कार्यक्रम राखिएको छैन,’ बमका सहयोगी सुरज गिरीले नेपालखबरसँग भने, ‘अब भोलि (७ कात्तिक) दिउँसो रवि लामिछानेसँगै नयाँ बानेश्वर क्षेत्रबाट प्रचार थाल्छौँ।’

नेपाल सुशासन पार्टीका रमेश खरेलले पनि आइतबार (६ कात्तिक) घरदैलो गरेनन्, तर, शनिबार उनी मतदाताको घरमा पुगेका थिए। सोमबार पनि दैनिक प्रचार अघि बढ्ने बताए। 

‘म निरन्तर घरदैलोमा छु,’ उनले नेपालखबरसँग भने।

स्थानीय चुनावका बेला डिल्लीबजार (२९ वडा), त्रिपुरेश्वर (वडा ११), बानेश्वर क्षेत्र (१०) र शान्तिनगर ३१ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले लिड गरेका थिए।

अघिल्लो हिसाव
२०७० को चुनावमा त्यस क्षेत्रमा उम्मेदवार नेकपा माओवादीकी रेनु दाहालले ४ हजार ६४ मत ल्याएकी थिइन्।

त्यसबेला कांग्रेसका प्रकाशमान सिंहले १५ हजार १३८ मत ल्याएर चुनाव जित्दा राप्रपा ३७३२ मत ल्याएर तेस्रो भएको थियो।

चौथो बनेको नेकपा एमालेले ३५सय मत मात्रै ल्याएको थियो। 

२०७४ को चुनावमा कांग्रेसकै सिंहले चुनाव जिते। त्यसबेला एमाले–माओवादी तालमेल भएको थियो। 

माओवादीका अनिल शर्माले ५ हजार मात्रै मत ल्याए। विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र दोस्रो भए। उनी ७ सय मतले सिंहसँग पराजित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .