ad ad

राजनीति


‘डेन्जर जोन’मा महन्थ ठाकुर, भारी पर्न सक्छन् हरिनारायण यादव

स्थानीयको परिणाममा कमजोर छ सत्ता गठबन्धन
‘डेन्जर जोन’मा महन्थ ठाकुर, भारी पर्न सक्छन् हरिनारायण यादव

फाइल तस्बिर


जनार्दन पोखरेल
कात्तिक ७, २०७९ सोमबार १७:३५, सर्लाही

०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट फराकिलो जित निकालेका लोकतान्त्रि समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आगामी मंसिर ४ गते हुने निर्वाचन भारी पर्ने आकलन हुन थालेको छ। 

महोत्तरी क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुरसँग नेकपा एमाले नेतृत्वको गठबन्धनबाट जनता समाजवादी पार्टीका हरिनारायण यादवले प्रतिस्पर्धा गर्दैछन्। ‘हेभीवेट’ ठाकुरसँग प्रतिस्पर्धा गर्ने जसपा नेता यादव पूर्वमन्त्री र संविधानसभा सदस्य पनि हुन्।

ठाकुर र यादवबीच रोचक प्रतिस्पर्धा हुने अनुमान हुन थालेको छ। गत ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा दलहरुको मत हेर्दा यो क्षेत्रमा सत्तारुढ गठबन्धन भन्दा एमाले–जसपा गठबन्धन बलियो देखिन्छ। 

महोत्तरी ३ का चार पालिकामध्ये तीन पालिका उपेन्द्र यादव नेतृत्वको जसपाले जितेको छ। एउटा पालिका मात्रै ठाकुर नेतृत्वको लोसपाले जितेको छ। 

पिपरा र एकडारा गाउँपालिका, जलेश्वर र मठिहानी नगरपालिका यो क्षेत्रमा पर्छन्। मनरा सिसवाका तीनवटा वडा पनि यही क्षेत्रमा समेटिएका छन्।

यो क्षेत्रको मटिहानी नगरपालिका र मनरा सिसवाकोको एउटा वडा लोसपाले जितेको छ। सदरमुकाम समेत रहेको जलेश्वरसहित तीनवटा स्थानीय तह जसपाले जितेको छ। त्यसैले यो क्षेत्रमा जसपा सबैभन्दा बलियो शक्ति हो।

स्थानीय तह निर्वाचनमा पालिका प्रमुखहरुको मत मरिणाम हेर्दा यो क्षेत्रमा एमाले-जसपा गठबन्धन सत्तारुढ गठबन्धनभन्दा झण्डै चार हजार मतले अगाडि छ। 

०७४ को निर्वाचनमा मधेशवादी दलको साझा उम्मेदवारको रुपमा चुनाव लडेका ठाकुरले २७ हजार मतसहित वाम गठबन्धनका विजय चौधरीलाई हराएका थिए। त्यतिबेला चौधरीले ८ हजार ६७७ मत मात्रै ल्याएका थिए। ०७४ मा चौधरीसँग ठाकुरको मतान्तर १८ हजार भन्दा थियो।

यो निर्वाचनमा ठूलो मतान्तरको सम्भावना छाडौँ, ठाकुरलाई चुनाव जित्नै कठिन हुने अनुमान हुन थालेको छ। 

‘तत्कालीन मधेसी जनअधिकार फोरमबाट पहिलो संविधानसभा निर्वाचन जितेका हरिनारायण यस पटक ठाकुरलाई भारी पर्ने अनुमान स्थानीयले गर्न थालेका छन्,’ जलेश्वरका सञ्चारकर्मी रञ्जन भण्डारी भन्छन्, ‘पहिलो कुरा, यो क्षेत्रमा सत्तारुढभन्दा एमाले–जसपा गठबन्धन बलियो छ। अर्कोतिर बितेका पाँच वर्षमा ठाकुरले आफ्नो क्षेत्रको लागि खासै काम केही गर्न सक्नु भएन। यसले यसपटक उहाँलाई जनताको मन जित्न त्यति सजिलो छैन।’

महोत्तरी ३ को प्रदेश सभाका दुईवटै क्षेत्र लोसपाले लिएको छ। ‘क’मा लोसपाका अभिराम शर्मा र ‘ख’ मा पनि लोसपाकै रानी शर्मा उम्मेदवार छिन्। 

सत्ता गठबन्धनको सहमतिमा लोसपाकी रानी शर्मालाई उम्मेदवार बनाउन माओवादीले अन्तिम समयमा रामकुमार शर्माको टिकट खोसेको थियो। 

प्रदेश सभातर्फ एमाले जसपा गठबन्धनबाट ‘क’ मा दीपेन्द्र झा (जसपा) र ‘ख’ मा रामदयाल मण्डल (एमाले) उम्मेदवार छन्। 

शीर्ष नेतृत्व तहमा महोत्तरी ३ को प्रदेश सभाका दुवै क्षेत्रमा ठाकुरले आफनो दाबी नछाड्दा स्थानीयस्तरमा सत्तारुढ गठबन्धभित्रै तीव्र असन्तुष्टि देखिएको छ।

प्रदेशमा पनि आफ्ना उम्मेदवार नहुँदा कांग्रेसका नेता कार्यकर्ताले अझै खुलेर ठाकुरसहित लोसपाका उम्मेदवारलाई समर्थन गर्न सकेका छैनन्। 

आफूले पाएको टिकट पनि खोसिएपछि माओवादी पोलिटब्युरो सदस्य रामकुमार शर्मा आफ्नो नेतृत्व र ठाकुरसँग रुष्ट छन्। 

उनले घोषित रुपमै ठाकुरलाई चुनावमा असहयोगको आह्वान गरिरहेका छन्। यसले पनि ठाकुरको विजय यात्रामा चुनौति खडा गरेको छ। 

‘महन्थजीको जनमत छैन। जनमत नभएपछि उहाँ जसरी पनि चुनाव जित्न दारु र भारुको भर पर्नु भएको छ,’ माओवादी नेता शर्माको आरोप छ, ‘यो पटक दारु र भारुले पाउने मत जितको लाग पर्याप्त हुँदैन। त्यसैले हेर्दै जानुहोला, ठाकुरजीको पराजय निश्चित जस्तै छ।’

चुनावमा खडा भएका बागी उम्मेदवारले पनि ठाकुरलाई अप्ठ्यारो पार्ने कतिपयको विश्लेषण छ।

ठाकुरको मुख्य प्रतिस्पर्धी जसपाका यादव हुन्। तर ठाकुरका पूर्व सहकर्मी ब्रिषेशचन्द्र लालले पनि यो क्षेत्रमा तमलोपाबाट उम्मेदवारी दिएका छन्। 

एमालेसँग असन्तुष्ट बनेर रामआधार कापरले पनि स्वन्त्र रुपमा बागी उम्मेदवारी दिएका छन्। लाल र कापरले यादवको भन्दा ठाकुरकै मत बढी काट्ने अनुमान स्थानीय रुपमा हुन थालेको छ।

महोत्तरी ३ मा खस्ने मतको जोड-घटाउले ठाकुरलाई चुनौती खडा गरे पनि लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साह भने लाल र कापरले काट्ने मतले ठाकुरलाई विजयी हुन अझ सहज हुने दाबी गर्छन्। उनले महोत्तरीका चारवटै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरे।

साहले ठाकुर विजयी हुने दाबी गरिरहँदा उमेरको कारणले पनि ठाकुरलाई यो चुनाव सहज छैन। ‘उहाँ ८० वर्षमाथि पुगिसक्नु भयो।  वृद्धअवस्थामा अब विजयी नै भए पनि के नै गर्न सक्नु होला र,’ जलेश्वरका एक स्थानीयले भने, ‘विगत पाँच वर्षमा उहाँले आफ्नो क्षेत्रमा देखिनेगरी केही काम गर्न सक्नु भएको छैन। केही मठमन्दिरको उद्घाटनमै उहाँले आफूलाई सिमित गर्नु भयो। यसले पनि जनता उहाँप्रति सन्तुष्ट छैनन्।’

एउटा पार्टीको राष्ट्रिय अध्यक्ष भएर पनि यो पाँच वर्षको बीचमा ठाकुरले आफ्नो क्षेत्रमा कुनै पनि राष्ट्रिय स्तरको योजना पार्न सकेका छैनन्। 

‘वृद्ध नेता भएकाले उहाँको सम्मानमा केही भोट त जाला। तर, त्यो जितको लागि पर्याप्त नहुन सक्छ,’ जलेश्वरका अर्का स्थानीयले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .