ad ad

कारोबार


नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १६:५७, काठमाडौँ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।

यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। 

आईएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ। आईएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो।

तर हाल उक्त प्रक्षेपणलाई घटाएर पाँच प्रतिशत सीमित गरिएको छ। सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै आईएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ। मुद्रास्फीति सन् २०२२ मा ६.३ प्रतिशत र सन् २०२३ मा ७.७ प्रतिशत रहने आइएमएफको सुरुवाती अनुमान थियो। तर अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा ८.१ प्रतिशत र २०२३ मा ७.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले भने मूल्यवृद्धिलाई ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ।

पछिल्लो समय मुल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ। कोभिड महामारी र रुस–युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ। 

आईएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा ६ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३.२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। त्यस्तै, २०२३ मा झन् खस्केर २.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। जुन पछिल्लो दुई दशकयताकै सुस्त हो। 

विश्व मुद्रास्फीति दर यसवर्ष ८.८ प्रतिशत कायम हुने आईएमएफको अनुमान छ। सन् २०२३ मा भने त्यो घटेर ६.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .