ad ad

राजनीति


रुपन्देही २ मा गठबन्धनले जनमुक्तिलाई सघाउने, विष्णु पौडेललाई दिन सक्लान् चुनौती?

रुपन्देही २ मा गठबन्धनले जनमुक्तिलाई सघाउने, विष्णु पौडेललाई दिन सक्लान् चुनौती?

सुदीप भण्डारी
कात्तिक ८, २०७९ मंगलबार २०:३, बुटवल

रुपन्देही क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गर्नेगरी छलफल अघि बढाएको छ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि जनमुक्तिका केशवबहादुर थापा मगरलाई समर्थन गर्ने सम्भावना बढेको हो। 

प्रतिनिधि सभाका लागि रुपन्देही २ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङ उम्मेदवार बनेका थिए।

यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार तीनपटक जितेको क्षेत्र हो। गठबन्धन भएपछि गुरुङले यो पटक पौडेललाई चुनौती दिने ठानिएको थियो।

तर उम्मेदवार मनोनयन भएलगत्तै बैंकिङ कसुरको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गर्‍यो। 

सर्वोच्च अदालतले पनि खारेजीको निर्णय सदर गरेपछि अहिले रुपन्देही २ मा गठबन्धन उम्मेदवारविहीन छ।

उम्मेदवारविहीन भएसँगै एमालेविरुद्ध गठबन्धनले कसलाई समर्थन गर्ला भन्ने धेरैको चासो थियो। गठबन्धनभित्र बढी मत ल्याउन सक्नेलाई सघाउनुपर्ने कुरा उठेको थियो।

पछिल्लो समय गठबन्धनका दल र जनमुक्ति पार्टीसँगको छलफल तीव्र रूपमा अघि बढेको छ। तर निर्णय सार्वजनिक भइसकेको छैन।

राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङले गठबन्धनका दलसँग छलफल भइरहेको बताए।

‘कुराकानी चलिरहेको छ। एउटा सहकार्य गर्नेबारे छलफल भएको हो, निष्कर्षमा पुगिएको छैन’, उनले भने। 

थप छलफलका लागि जनमुक्तिले वार्ता समिति पनि बनाएको छ। सोमबार भएको जनमुक्तिको बैठकले गठबन्धन दलसँग छलफल गर्न महासचिव टोप अस्लामीको संयोजकत्वमा पार्टीका जिल्ला अध्यक्ष प्रेम थापा र युवा संगठनका अध्यक्ष शंकर गाहा रहेको वार्ता समिति गठन गरेको हो। 

यता गठबन्धनले जनमुक्तिसँग मात्रा नभई अन्य दल र स्वतन्त्र उम्मेदवारसँग पनि छलफलको ढोको खुला राखेको बताएको छ।

रुपन्देही २ मा कोसँग सहकार्य गर्ने भन्नेबारे टुंगो लगाउन कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँण, माओवादी केन्द्रका वामदेव क्षेत्री, एकीकृत समाजवादीका राजु गुरुङ र जनमोर्चाका पदमराज श्रेष्ठलाई जिम्मा दिइएको छ। 

उनीहरूले आआफ्ना पार्टीको केन्द्रसँग समन्वय गरेर निर्णय लिने कांग्रेस रुपन्देही २ का क्षेत्रीय सचिव प्रजापाल गिरिले जानकारी दिए।

‘जनमुक्तिसँग मात्र होइन। वार्ताका लागि सबैसँग ढोका खुला छ। त्यसअनुसार उहाँँहरूलाई जिम्मेवारी दिइएको हो’, उनले भने, ‘५ दलीय गठबन्धनमा छैटौं दल मिसिँदा केन्द्रसँग स्वीकृति चाहियो।’ 

तर जनमुक्तिको मत धेरै भएकाले गठबन्धनले उसैलाई सघाउने बढी सम्भावना छ। २०७४ सालको संसदीय चुनावमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा आएको थियो।

एमालेका विष्णु पौडेल ४४ हजार ९ मत ल्याउँदा कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए। राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार रुकबहादुर पुनले ३५ हजार ६८८ मत पाएका थिए। त्यसबेला एमाले र माओवादी एक भएर चुनाव लडेका थिए। 

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकामा जनमुक्तिले ११ जना वडा सदस्य लिएर नेकपा एमालेसँग तालमेल गरेको थियो।

तर एउटा वडा सदस्य मात्र जित्न सक्यो। तालमेल भएकाले स्थानिय चुनावमा बुटवलमा उसको मत प्रस्ट देखिँदैन। तर रुपन्देही २ को केही भाग समेटिएको तिलोत्तमा नगरपालिकामा जनमुक्तिका मेयरका उम्मेदवार तेस्रो स्थानमा थिए। 

को हुन् केशव?
रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका केशवबहादुर थापा मगर सो पार्टीका कार्यकारी अध्यक्ष हुन्। कागजातमा सो नाम भए पनि उनी केशव सूर्यवंशी मगरको नामले समाजमा चिनिएका छन्। 

जनमुक्तिका केन्द्रीय अध्यक्ष केपी पालुंगा इलाममा एमाले उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा उम्मेदवार छन्।

पार्टीमा पालुंगापछि दोस्रो नेता कार्यकारी अध्यक्ष केशव रुपन्देहीमा एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी मैदानमा छन्।

केशवले पहिलोपटक निर्वाचनमा होमिएका हुन्। यसअघि उनले कुनै पनि स्थानीय र संसदीय चुनावमा भाग लिएका छैनन्।  

२०४३ सालतिर केशव मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी निकट प्रगतिशील विद्यार्थी युनियनमा आबद्ध थिए। २०४६ सालको आन्दोलनमा उनी माक्र्सवादीबाटै आन्दोलनमा सहभागी भएका थिए। 

पछि माक्र्सवादी र माले एकीकरण बनेर एमाले बनेपछि उनी खासै राजनीतिमा सक्रिय भएनन्। २०५१ सालमा राष्ट्रिय जनमुक्तिमा आवद्ध भए।

२०५३ सालमा पार्टीको पश्चिमाञ्चल सचिव, ०५६ सालमा केन्द्रीय सदस्य भएका उनी उपमहासचिव, महासचिव हुँदै गत भदौबाट कार्यकारी अध्यक्ष भएका हुन्। 

आगामी मंसिरमा हुने चुनावका लागि जनमुक्ति पार्टीले आफ्नै हिसाबले केशवलाई उम्मेदवार बनाएको थियो। तर फरक परिस्थितिका कारण पाँचवटा पार्टीको समर्थन जुट्ने अवस्था आएको छ।

पाँच दलले इमान्दारीपूर्वक गठबन्धन पालना गरे रुपन्देही २ मा जनमुक्तिका केशवबहादुर थापा मगर र एमालेका विष्णु पौडेलको टक्कर पर्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .