ad ad

राजनीति


सत्ताका शीर्ष नेताले फकाउँदा पनि पछि नहटेका यी ‘बागी’

सत्ताका शीर्ष नेताले फकाउँदा पनि पछि नहटेका यी ‘बागी’

सत्ता गठबन्धनविरुद्ध बागी उठेका उम्मेदवारहरु


केशव सावद
कात्तिक ९, २०७९ बुधबार ७:२५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले यही आइतवार धनगढी पुगेर सुदूरपश्चिमबाट सत्ता गठबन्धनलाई भारी मतले जिताएर सरकार बने राजनीतिक नियुक्ति र जागिरमा धेरै भाग पाइने आश्वासन दिए। 

‘टिकट बाँड्दा अन्याय भएको होला, गठबन्धन हुँदा सबै ठाउँमा कांग्रेसले पाउँदैन,’ उनले ‘बागी’ उठेकाहरुतर्फ लक्षित गर्दै भने, ‘भोलि गठबन्धनको सरकार बने राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा नियुक्ति हुन्छ, त्यसका लागि सुदूरपश्चिमले धेरै भाग पाउनसक्छ, त्यसैले गठबन्धनलाई जिताउनु होला।’

कात्तिक ५ गते जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनले जिते राजदूत र राष्ट्रियसभा सदस्यसहितका राजनीतिक लाभ लिने अवसर बाँकी रहेको बताए। 

उनले पनि गठबनधनका लागि टाउको दुखाइ बनेका ‘बागी’हरुलाई फकाउन उक्त आश्वासन बाँडेका थिए।

धनगढीमा आयोजित प्रदेशस्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री देउवाले र प्रचण्डले जनकपुरधाममा यसो भन्नुको अर्थ थियो–टिकट नपाएर असन्तुष्ट कार्यकर्ता र सत्ता गठबन्धनविरुद्ध ‘बागी’ उठेका नेता फकाउनु। 

प्रधानमन्त्री देउवा र प्रचण्डले राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा नियुक्ति, राजदूत र राष्ट्रियसभा सदस्यसहितका राजनीतिक लाभ लिने अवसर देखाएर फकाउँदा पनि सत्ता गठबन्धनविरुद्ध ‘बागी’ बनेकाहरु ‘टसमस’ भएका छैनन्। 

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावी गठबन्धन गरेर आसन्न निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका छन्। 

सत्ता गठबन्धनबीचको भागबण्डाअनुसार कांग्रेसले ८९, माओवादीले ४७, एकीकृत समाजवादी २०, लोसपाले ७ स्थान र राष्ट्रिय जनमोर्चाले दुई सिट पाएका छन्। 

यद्यपि, कांग्रेसले ९१, माओवादीले ४८, एकीकृत समाजवादीले २१, लोसपाले ५१ र राष्ट्रिय जनमोर्चाले २ सिटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार उठाएका छन्। 

कांग्रेसले काठमाडौं–३ र १० मा माओवादीसँग र धनुषा–२ एकीकृत समाजवादीसँग मैत्रीपूर्ण प्रतिष्पर्धा गर्दैछ। 

यस्तै माओवादीले आफूले उम्मेदवार उठाएका दुई क्षेत्र रुपन्देही–१ र रौतहट–३ मा भने ‘ब्याक’ भएको छ। 

रुपन्देही–१ मा नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाललाई र रौतहट–३ मा एमाले परित्याग गरेका अर्का नेता प्रभु साहलाई सघाउन पार्टीको आधिकारिक उम्मेदवारी निष्कृय बनाएको छ। 

कांग्रेसले सत्ता गठबन्धनमा रहेका साझेदार दलहरुलाई सघाएका क्षेत्रमध्ये १६ स्थानमा कांग्रेसकै ‘बागी’ उठेका छन्। 

पार्टीले चुनावी तालमेलको सहमति गर्दागर्दै माओवादीविरुद्ध १० र एकीकृत समाजवादीविरुद्ध ६ स्थानमा कांग्रेसका नेताहरुले ‘बागी’ उम्मेदवारी दिएका हुन्। 

यस्तै कांग्रेसविरुद्ध तीन स्थानमा माओवादीका ‘बागी’ छन् भने चार स्थानमा कांग्रेसविरुद्ध कांग्रेसकै ‘बागी’ छन्। दुई स्थानमा कांग्रेस उम्मेदवारविरुद्ध कांग्रेसकै पूर्वनेताहरुको उम्मेदवारी परेको छ।  

माओवादीविरुद्ध कांग्रेसका ‘बागी’
गोरखा–२ : पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गणेश देवकोटा
चितवन–३ : भोजप्रसाद अधिकारीविरुद्ध दिनेश कोइराला
रुकुम पश्चिम : जनार्दन शर्माविरुद्ध तारक केसी
कपिलवस्तु–१ : चक्रपाणि खनालविरुद्ध ललित गुरुङ
कैलाली–३ : कृष्णकुमार चौधरीविरुद्ध नवीन बोहरा
बैतडी : नरेन्द्र कुँवरविरुद्ध केशवबहादुर चन्द
मोरङ–४ : अमनलाल मोदीविरुद्ध नवीन खवास
मोरङ–५ : शिव मण्डलविरुद्ध मोहम्मद रेजा हुसेन
झापा–२ : हरि रानामगरविरुद्ध कुमार भट्टराई
दोलखा : गंगा कार्कीविरुद्ध विश्वनिधि पाख्रिन

एकीकृत समाजवादीविरुद्ध कांग्रेसका ‘बागी’
अछाम–१ : शेरबहादुर कुँवरविरुद्ध राजन कुँवर
डोटी : प्रेम आलेविरुद्ध नरेन्द्रबहादुर खड्का
इलाम–१ : झलनाथ खनालविरुद्ध विक्रम पाण्डे
उदयपुर–२ : जगन्नाथ खतिवडाविरुद्ध रामकुमार राई
गुल्मी–२ : रामकुमारी झाँक्रीविरुद्ध दामोदर भुसाल
कास्की–२ : श्रीनाथ बरालविरुद्ध महादेव गुरुङ
सल्यान : प्रकाश ज्वालाविरुद्ध रवीन्द्रबहादुर शाह

कांग्रेसविरुद्ध कांग्रेसकै ‘बागी’
कञ्चनपुर–३ : रमेश लेखकविरुद्ध दीपकबहादुर सिंह र शारदा चन्द
सिन्धुपाल्चोक–२ : मोहनबहादुर बस्नेतविरुद्ध बद्री चौलागाईं
धादिङ–२ : रामनाथ अधिकारीविरुद्ध टीकाराम काप्री
सर्लाही–४ : नागेन्द्रकुमार रायविरुद्ध अमरेश सिंह

कांग्रेसविरुद्ध माओवादीका ‘बागी’
सर्लाही–४ : नागेन्द्रकुमार रायविरुद्ध मधुमलाकुमारी यादव
धनकुटा : सुनीलबहादुर थापाविरुद्ध हेमराज भण्डारी
सप्तरी–१ : रामदेव साहविरुद्ध अशोककुमार मण्डल

कांग्रेसविरुद्ध पूर्व कांग्रेस 
तनहुँ–१ : रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी
कैलाली–५ : डिल्लीराज पन्तविरुद्ध पुस्करनाथ ओझा

रुकुम पश्चिममा माओवादी नेता एवम् अर्थमन्त्री जनार्दन शर्माविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय ३३ वर्षीय तारक केसीले उम्मेदवारी दिएका छन्। 

मातृ पार्टीको निर्णयविरुद्ध किन ‘बागी’ उम्मेदवारी दिएको भन्ने नेपालखबरको प्रश्नमा केसीको जवाफ जस्ताको तस्तैः 

जनार्दनले कांग्रेसलाई हेपे : केसी


–कांग्रेसले रुकुम पश्चिमलाई हेर्ने दृष्टिकोण असमान र हेपाहा प्रवृत्तिको छ। त्यो दृष्टिकोण बदल्न मैले कांग्रेसको पक्षमा रहेको रुकुम पश्चिमको मत लिन उम्मेदवारी दिएको हुँ। 

स्थानीय तहको मतपरिणामअनुसार यहाँ २६ हजार र २०७४ मा प्रतिनिधिसभातर्फ १८ हजार मत थियो। यो मतलाई जोगाएर राख्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने मेरो पहिलो धारणा हो। 

अर्को कुरा रुकुम जिल्लाका ८३–८४ जना कांग्रेसमा आस्था राख्ने मान्छेको यहाँ रगत बगेको छ। त्यो भावनालाई माओवादी प्रतिपक्षी पार्टी हो, उसले सम्बोधन गर्ने कुरा रहेन। 

तर, नेपाली कांग्रेसले नै यो कुरालाई सम्बोधन गर्न नसकेपछि हामीले जनस्तरबाट कांग्रेस प्रतिको जुन आस्था छ, विचार छ, विश्वास छ त्यसलाई जोगाएर राख्नुपर्छ। यसको भावना, मर्ममाथि प्रहार हुन दिनु हुँदैन भनेर पनि मेरो उम्मेदवारी हो। 

वर्तमान पुस्ता राजनीति र समाज सेवाका सबै आयामहरुमा जोडिएर जान सक्छ। प्रतिष्पर्धा गर्न सक्छ। प्रतिष्पर्धा र चुनौतीलाई ‘फेस’ गर्न सक्छ भन्ने कुरा मेरो विवेक र ब्रह्मले दियो।

त्यसपछि मैले हाम्रो वर्तमान पुस्ताबाट प्रतिनिधिसभामा रुकुम पश्चिमबाट उम्मेदवारी दिनुपर्छ र यो पुस्ता आवाजलाई पनि प्रतिनिधित्व गराउनुपर्छ भन्ने मेरो उम्मेदवारीको उद्देश्य हो। 

नेतृत्वले उम्मेदवारी फिर्ता लिनुस् भनेर भन्ने कुरा आफ्नो ठाउँमा छ। तर, हाम्रा मुद्दा सम्बोधन नगरी उम्मेदवारी निष्क्रिय बनाउने कुरासँग सहमत हुन सकिँदैन। 

गठबन्धनका उम्मेदवारविरुद्धको अभिमत मेरो पक्षमा प्रकट हुँदैछ। मेरो उम्मेदवारी बलियो बन्दै गएको छ। रुकुम पश्चिमका विद्यमान तमाम समस्या र भावना सम्बोधन नगरी माथिबाट लादिएको गठबन्धले यहाँ कुनै अर्थ राख्दैन। यो निरर्थक छ। मेरो उम्मेदवारी निरर्थक गठबन्धनको उम्मेदवारीविरुद्ध विद्रोह हो। 

जनार्दन शर्मा राष्ट्रिय नेता हुनुहुन्छ। राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा प्रभाव राख्न सक्नु हुन्छ। तर, रुकुमका सन्दर्भमा उहाँले प्रतिष्पर्धी पार्टी, विपक्षी पार्टीहरु र खास गरी वर्तमान सत्ता साझेदार कांग्रेससँग किन सानातिना कुरा सम्बोधन नगरी नजरअन्दाज गरेर अगाडि बढ्नुभयो?

रोल्पा हेर्न सक्नु हुन्छ। वर्षमान पुनले त्यहाँ एउटा प्रदेशसभामा कांग्रेसलाई दिएर हिँड्नुभएको छ। रुकुम पूर्वमा कांग्रेसले कुनै स्थानीय तह नजिते पनि एउटा प्रदेशसभामा उम्मेदवारी छ। 

तर, रुकुम पश्चिममा कांग्रेसले दुईवटा स्थानीय तहमा नतिजा हात परेको छ। कांग्रेसको बलियो उपस्थिति छ। वडाध्यक्षको मतभार २६ हजार छ भने ३६ हजार माओवादीको छ। यो कुरालाई आकलन नगरेर समस्यालाई दीर्घकालीन समाधान गरेर सहिष्णु राजनीति, सद्भावको राजनीति, कांग्रेस र माओवादीबीचको धमिलिएको सम्बन्धलाई सुधार गरेर लैजाऊँं भन्ने कुरामा उहाँहरुको ध्यानदृष्टि पुग्न सकेन। यसविरुद्ध मेरो उम्मेदवारी हो। 

म ‘बागी’ होइन, स्वतन्त्र  : खड्का


नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेलाई सत्ता गठबन्धनले डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ। 

कांग्रेसले सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई कैलाली–४ मा ल्याएर ओलेलाई डोटीबाट उम्मेदवार बनाएको हो। 

कांग्रेसले पार्टीको बलियो जनमतलाई लत्याएर एकीकृत समाजवादीका नेता आलेलाई आधिकारिक उम्मेदवार बनाएपछि क्षेत्रीय प्रतिनिधि नरेन्द्रबहादुर खड्का ‘बागी’ उम्मेदवार बनेका छन्। 

तर, उनी आफूलाई ‘बागी’ उम्मेदवार भन्न रुचाउँदैनन्। ‘म कसरी ‘बागी’? मैले टिकट मागेर नपाएपछि उम्मेदवारी दिएको भए पो ‘बागी’? नत्र के को ‘‘बागी’,’ पार्टी निर्णयविपरीत ‘बागी’ उम्मेदवारी दिनुको कारणबारे नेपालखबरले राखेको जिज्ञासामा उनले भने, ‘म स्वतन्त्र उम्मेदवार हुँ।’

खड्काले डोटीबाट क्षेत्रीय सदरमुकाम हटाएर कैलालीमा सुदूरपश्चिमको राजधानी स्थापना गर्नेहरुविरुद्ध आफ्नो उम्मेदवारी भएको पनि जिकिर गरे। 

‘डोटीमा राजधानी स्थापनाका लागि हामीले सँगसँगै आन्दोलन गरेका थियौँ। डोटीमा राजधानी नभए राजीनामा दिन्छु भन्नेहरुले त्यसो नभएपछि राजीनामा दिएनन्,’ उनले आलेतर्फ इंगित गर्दै भने, ‘अहिले तिनै मान्छे फेरि उम्मेदवार बन्न आएका छन्। त्यसविरुद्ध मेरो उम्मेदवारी हो।’

खड्काले आफूलाई उम्मेदवारी निष्क्रिय बनाएवापत पैसाको लोभसमेत आएको दाबी गरे। ‘बागी’ उम्मेदवारी दिएका कारण पार्टीले ५ वर्षका लागि कारबाही गरेको स्मरण गर्दै उनले भने, ‘मेरो उम्मेदवारी डोटीको माटोको कुरा हो।’

डोटेली जनताको साथ र सहयोगले निर्वाचन जित्न लागेको दाबी गर्दै खड्काले आफ्नो जीत आफूलाई ५ वर्षका लागि कारबाही गर्नेमाथिको कारबाही हुने पनि जिकिर गरे। 

‘साधारण सदस्य नरहने गरी कारबाही गरिसकेको छ। केही फरक पर्दैन। कुनै डर छैन,’ खड्काले भने, ‘नागरिकता नै खारेज गरेको भए डर हुन्थ्यो कि त थुनेको भए डर हो। म जित्दैछु। मेरो जीत मलाई कारबाही गर्नेमाथिको कारबाही हो।’

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा डोटीमा कांग्रेसको ३४ हजार ४७, एमालेको २४ हजार ९१६, माओवादीको ७७८९, एकीकृत समाजवादीको ३ हजार २०५ र राप्रपा ९८७ मत देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .