ad ad

राजनीति


सुनसरी १ प्रदेश सभा : ‘क’मा ज्वाइँ-ससुरा, ‘ख’मा दाजुभाइ प्रतिस्पर्धी

सुनसरी १ प्रदेश सभा : ‘क’मा ज्वाइँ-ससुरा, ‘ख’मा दाजुभाइ प्रतिस्पर्धी

सुमन पुरी
कात्तिक १२, २०७९ शनिबार १०:५१, विराटनगर

नेकपा एमाले सुनसरीका पुराना नेता रमेश बस्नेत सुनसरी क्षेत्र नम्बर १ 'क' प्रदेश सभाका लागि चुनावी मैदानमा छन्। उनलाई एमाले-जसपा गठबन्धनले मैदानमा उतारेको छ।

सत्ता गठबन्धनका तर्फबाट उमेश थापा उक्त क्षेत्रमा बस्नेतका मुख्य प्रतिस्पर्धी हुन्। उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन्। 

उक्त क्षेत्रमा धरान उप महानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ र १९ नम्बर वडा पर्दछन्। 

धरान उ महागरपालिकाका अधिकांश भूगोल समेटिने त्यस क्षेत्रका यी दुई उम्मेदवारका स्थानीय चुनावी एजेण्डा उस्तै  छन्। 

लाहुरेको सहरका रुपमा चिनिने धरानमा पछिल्लो समय आर्थिक गतिविधि कम हुँदै गएको छ। कारण, लाहु्रेका परिवारलाई बेलायतले दिएको आवासीय भिसा। 

आवासीय भिसाका कारण धरानमा लाहुरेले हङकङ र बेलायतबाट ल्याउने पैसा र पेन्सन आउन छाडेको छ। 

यसका कारण धरानको रौनक पनि दिनदिनै खस्किँदो छ। खस्किँदो धरानको आर्थीक गतिविधिलाई उकास्ने भन्दै दुवै मतदातामाझ पुगिरहेका छन्। 

निर्वाचन आउन २२ दिन मात्रै बाँकी हुदा मतदाताको घरदैलेमा पुगिरहेका यी दुई उम्मेदवार नाताले ज्वाइँ-सुसुरा हुन्। 

एमाले-जसपा गठबन्धनका उम्मेदवार बस्नेतकी आमा र सत्ता गठबन्धनबाट उम्मेदवार थापाकी श्रीमतीकी हजुरआमा र एकै घरका दिदी बहिनी हुन्। 

७१ हजार ३ सय ४० मतदाताले आसन्न निर्वाचनमा कि ज्वाइँलाई जिताउने छन् कि सुसुरालाई। 

उक्त क्षेत्रमा अहिलेसम्म उनीहरुबाहेक प्रभाव जमाउने अरु उम्मेदवार दृश्यमा आएका छैनन्। 

कांग्रेस प्रदेश १ का महासचिवसमेत रहेका थापा यस पटकको प्रतिस्पर्धा परिवारभित्र पनि भएकाले रोचक रहेको बताँउछन्। 

'राजनीतिमा यस्तो हुन्छ। यो पारिवारिक भन्दा पनि सिद्धान्त र विचारको प्रतिस्पर्धा हो', उनले भने। 

उम्मेदवार उमेश थापा पारिवारिक नाता जहिले सम्मानजनक हुने बताउँछन्। तर राजनीति देश र जनताको लागि भएकाले यो प्रतिष्पर्धा स्वाभाविक भएको उनले उल्लेख गरे। 

‘मलाई पार्टीले जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी पूरा गर्नै पर्छ, नाता सम्वन्धलाई सदैव सम्मान र इज्जत गर्छु', उनले भने, 'तर जनताको सेवाको लागि नयाँ भिजन र सोचका साथ अघि बढ्छु।’

एमालेका उम्मेदवार रमेशकुमार बस्नेत पनि चुनावमा दलीय प्रतिष्पर्धा हुने भएकाले यो व्यक्तिगत लडाइँ नभई दलीय प्रतिपस्पर्धा भएको बताउँछन्।

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनले आन्तरिक र बाह्य प्रतिष्पर्धा दुवै स्वीकार्छ', उनले भने, 'त्यसैले दलीय प्रतिष्पर्धा मात्रै हो, व्यक्तिगत लडाइँ होइन।’

चुनावी एजेन्डा
सत्ता गठबन्धनका उम्मेदवार बनेका थापा राजनीतिसँगै २५ वर्षदेखि सामाजिक काममा छन्। 

१० वर्षदेखि रेडक्रस सुनसरीको नेृत्वमा रहेका थापाले जनाताका समस्या समाधान गर्न उम्मेदवार भएको बताँउछन्। 

उनले धरानको आर्थिक गतिविधि चलायमान बनाउन रोजगारी र उद्योग कलकारखाना विकास गर्ने आफ्नो चुनावी एजेण्डा रहेको बताए। 

थापाले धरानको पर्यटनको प्रचार प्रसार गरे यसबाट आयआर्जन बढाउन रोजगारीमूलक उद्योग सञ्चालन गर्ने चुनावी एजेण्डा रहेको बताए। 

बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको व्यवस्थापन सुधार, धरानमा प्रदेश सरकारमातहत १ सय बेडको नगर अस्पताल बनाउने र धरानको सामुदायिक शिक्षालयको सुधृढीकरणका लागि काम गर्ने थापाले बताए। 

बस्नेतको भने धरानको अर्थतन्त्र चलायमान गर्ने फरक योजना छ। उनले धरान-तमोर सुरुङ मार्ग बनाउन सके धरान फेरि यस क्षेत्रको व्यापारिक हब हुने बताए। 'यसका लागि हामी पहल गर्ने छौँ', उनले भने।  

तमोर कोरिडोरको निर्माण तीव्र गतिमा भइरहेकाले पूर्वको ताप्लेजुङ, पाँचथरदेखि भोजपुर र संखुवासभासम्मको व्यापारिक हव धरान भएर यहाँको अर्थतन्त्र चलायमान हुने बस्नेतले तर्क गरे।

उनले यस क्षेत्रको प्राकृतिक र मानवीय श्रोत साधनको उपयोग गर्न सके धरानको रौनक पुन फर्कने बताए। 

क्षेत्र 'ख' मा दाजुभाइ 
सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ मा  दाजुभाइबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। जसपासँगको गठबन्धनबाट उम्मेदवार बनेका छन् एमालेका विजय राई। 

सत्ता गठबन्धनबाट यहाँ नेकपा एकीकृत समाजवादी पार्टीका रेवतरमण राई चुनावी प्रतिष्पर्धामा छन्। 

यस क्षेत्रमा यी दुई जनाबीच संगठनका हिसावले मुख्य प्रतिस्पर्धा हुने छ। आसन्न प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्य बन्ने दौडमा रहेका विजय र रेवतका हजुरबुवा एकै हुन्। 

अर्थात्, समाजवादीका रेवत दिलबहादुर राईका माहिला छोराका छोरा हुन्। एमालेका विजय दिलबहादुरका कान्छो छोराका छोरा हुन्। 

साइनो र राजनीतिक हिसावले भने विजय रेवतभन्दा सिनियर हुन्। विजय एमालेका प्रदेश कमिटी सचिवालय सदस्य छन्। 

रेवत एमालेको जिल्ला अधिवेशन अघिसम्म जिल्ला कमिटी सदस्य थिए। जिल्ला सदस्यमा पराजित भएपछि उनी एकीकृत समाजवादीमा लागेका हुन्। अहिले उनी एकीकृत समाजवादी धरान नगर कमिटी अध्यक्ष पनि छन्। 

मतदाता
उक्त निर्वाचन क्षेत्रमा ७० हजार ५ सय ३८ जना मतदाता छन्। धरान उपमहानगरको २० वडामध्ये ५ वटा वडा यस क्षेत्रमा पर्दछन्। 

यसबाहेक बराहक्षेत्र नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ तथा रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा यो निर्वाचन क्षेत्रमा पर्दछन्। 

समाजवादीका उम्मेदवार रेवतरमण सता गठबन्धन दलको समर्थन भएकाले आफ्नो जीत सुनिश्चित भएको बताउँछन्।

पारिवारिक सम्बन्ध भए पनि राजनीतिमा एक अर्कालाई सम्मान गर्दै अघि बढ्नुपर्ने बाध्यता रहेको भन्दै आफूले विजय प्राप्त गरिसकेको विजय राई बताउँछन्।  

अंक गणित 
०७४ को निर्वाचनमा दुवै क्षेत्रमा एमालेले जितेको थियो। क्षेत्र 'क' बाट तत्कालीन वाम गठबन्धनकातर्फबाट एमालेका प्रदीप भण्डारी विजयी भएका थिए। 

उनले १९ हजार २४३ मत ल्याउँदा कांग्रेसका किशोर राईले १३ हजार ७७० मत ल्याएका थिए। 

उक्त निर्वाचनमा एमालेसँग रहेको माओवादी-कांग्रेस गठबन्धनमा छ। कांग्रेससँगको गठबन्धनमा रहेको जसपा एमालेसँग तालमेलमा छ। 

'ख' मा भने एमालेका भीम आचार्य विजयी भएका थिए। उनले कांग्रेसका बुद्धिबहादुर कटुवाललाई पराजित गरेका थिए। 

त्यसबेला आचार्यले २० हजार २११ मत ल्याँउदा कटुवालले १२ हजार ९६४ मत ल्याएका थिए। 

स्थानीय निर्वाचनलाई हेर्ने हो भने एमालले वडागत रुपमा एमालेले ३३ हजार ४५३ मत पाएको छ। 

सत्ता गठबन्धनबाटै स्थानीय तहको निर्वाचन लडेको कांग्रेसले २४ हजार ९२१ मत पाएको छ। 

माओवादीका वडाअध्यक्षका उम्मेदवारलाई ४ हजार ७५४ मत आएको छ। यस्तै राप्रपाको वडागत मत ३ हजार ६४ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .