ad ad

राजनीति


सुदूरपश्चिमका यी ४ महिला नेतृ : जसले दिँदैछन् ‘हेभिवेट’लाई टक्कर

०७४ को निर्वाचनमा सुदूरपश्चिमबाट एकमात्र महिला संघीय सांसद
सुदूरपश्चिमका यी ४ महिला नेतृ : जसले दिँदैछन् ‘हेभिवेट’लाई टक्कर

गोकुल जोशी
कात्तिक १२, २०७९ शनिबार १४:२०, कञ्चनपुर

मूल धारको राजनीतिमा प्रतिनिधित्व गर्ने महिला थोरै छन्। त्यसमा पनि सुदूरपश्चिमबाट मूल धारको राजनीतिमा महिला औंलामा गन्न सकिने मात्रै छन्। 

सुदूरपश्चिममा प्रतिनिधि सभा प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमध्ये ०७४ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा महिला एक जना मात्रै निर्वाचित भएकी थिइन्। 

उनी हुन्– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित माओवादी केन्द्रकी नेत्री पूर्वमन्त्री बिना मगर।

०७४ सालको संसदीय चुनावमा प्रमुख राजनीतिक दलले केही क्षेत्रमा मात्रै प्रत्यक्षतर्फ महिलालाई चुनावी मैदानमा उतारेका थिए। त्यसबेला एमालेको समर्थनमा माओवादी केन्द्रले कञ्चनपुर १ मा बिना मगरलाई चुनाव लडाएको थियो।

यस्तै नेपाली कांग्रेसले कैलाली ५ मा नेत्री आरजु राणा देउवा र कैलाली १ मा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका भए पनि सफल हुन सकेनन्। नेकपा एमालेले कैलाली १ मा मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाएको थियो। 

उनी तत्कालीन राष्ट्रिय जनता पार्टीका रेशम चौधरीसँग हारिन्। शाह अहिले नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी इन्चार्ज छिन्। 

आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले केन्द्रमा महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन्।

नेकपा एमालेले १६ निर्वाचन क्षेत्रमा २, नेकपा माओवादी केन्द्रले १ जना र नेपाली कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार नै दिएको छैन। तर, यसपालि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले भने प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ जना महिला उमेदवार उठाएको छ।

बिना मगर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी पूर्वमन्त्री बिना मगर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछिन्। 

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहेकी मगर चुनाव जित्दै फेरि प्रतिनिधि सभामा छिर्ने दाउमा छिन्। कञ्चनपुर १ मा मगरका प्रतिस्पर्धी छन्– एमालेका नेता तारालामा तामाङ।

तामाङ एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष भइसकेका नेता हुन्। उनले ०७४ सालमा प्रदेशसभा सदस्य जितेका थिए। 

तामाङले प्रदेशसभामा २० हजार १५ मत ल्याउँदा कांग्रेसका गोपाल गुरुङले ९ हजार २९० मत ल्याएका थिए। तामाङ त्यस क्षेत्रका लागि लोकप्रिय नेता हुन्।

एमाले विभाजन हुँदा उनी एकीकृत समाजवादीतर्फ लागेका थिए। तर, पछि चुनावको सम्मुखमा तामाङ क्षेत्र नम्बर १ बाटै प्रदेश सभामा निर्वाचित तत्कालीन राज्यमन्त्री कुलवीर चौधरीसहित नेता/कार्यकर्तालाई लिएर एमालेमै फर्किएका थिए।

उनी सुदूरपश्चिमका पूर्वआर्थिक मामिलामन्त्री समेत हुन्। ०७४ चुनावमा सारथि रहेका तामाङ यसपटक मगरको प्रतिस्पर्धीका रूपमा खडा भएका छन्।

बिना मगरका पुराना प्रतिस्पर्धी कांग्रेसका दिवानसिंह विष्ट गठबन्धनका कारण यसपटक उनको सहयात्री भएका छन्। विष्ट प्रतिनिधि सभा मगरलाई छाडेर आफू प्रदेश सभा (२) मा प्रतिस्पर्धा गर्दै छन्।

२०७० को संविधान सभा चुनावमा मगर कांग्रेसका विष्टसँग हारेकी थिइन्। ०७४ मा भने एमालेको समर्थनमा मगरले उनै कांग्रेसका विष्टलाई हराएकी थिइन्।

विष्टलाई वाम गठबन्धनबाट माओवादीकी मगरले १९ हजार ५ सय ८४ मतान्तरले हराएकी थिइन्। मगरले ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने विष्ट १९ हजार ४३७ मतमा खुम्चिएका थिए।

रञ्जिता श्रेष्ठ
स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा कैलालीका केही क्षेत्रमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

यीमध्ये एउटा ठाउँ हो– कैलाली निर्वाचन क्षेत्र नम्बर एक। ०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरी भारी मतान्तरले विजयी भएका थिए।

यो क्षेत्रबाट यसपटक नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रेशम पत्नी रञ्जिता संसदीय चुनाव लड्दैछिन्।

एमालेबाट उनका प्रतिस्पर्धी टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावल र सत्ता गठबन्धनबाट कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरी छन्।

कैलाली १ मा सत्तारुढ, एमाले–जसपा गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

स्थानीय तहको मतपरिणामले नागरिक उन्मुक्ति पार्टी हौसिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकाको भूभाग पर्छ। 

नागरिक उन्मुक्ति पार्टीको आधार इलाका मानिएको कैलाली १ लाई सत्तारुढ गठबन्धन र नेकपा एमालेको अंकगणित उथलपुथल पार्ने क्षेत्रका रूपमा हेरिएको छ।

टीकापुर हत्याकाण्डका अभियुक्त चौधरी ०७४ को निर्वाचनमा भूमिगत थिए। भूमिगत अवस्थामै निर्वाचन लडेका उनले वाम गठबन्धनबाट एमालेकी मदनकुमारी शाह (गरिमा) लाई २० हजार ९३५ मतान्तरले हराए। 

चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा शाहले १३ हजार ४०६ मत मात्रै पाएकी थिइन्। भारी मतान्तरले विजयी भए पनि हत्याकाण्डमा मुछिएका रेशम संसद् छिर्न पाएनन्। 

सत्तारुढ गठबन्धनविरुद्ध कैलाली १ मा पहिलोपटक संसदीय चुनाव ‘फेस’ गर्न लागेकी रञ्जितालाई रेशमको विरासत जोगाउनुपर्ने चुनौती छ।
०७४ को चुनावमा कैलाली ३ मा वाम गठबन्धनसँग हारेका पूर्वमन्त्री रामजनम चौधरी गठबन्धनको बलमा हारलाई जितमा बदल्ने योजनाका साथ कस्सिएका छन्। 

उनी कैलाली ३ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गौरीशंकर चौधरीसँग हारेका थिए। अहिले गौरीशंकर माओवादी त्यागेर एमालेमा छन्।

रामजनम २०४८ सालदेखि २०७० सालसम्म अपराजित नेता हुन्। उनले ०४८, ०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते। 

०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले जित हात पारे। ०६४ सालमा चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट सभासद चुनिएका थिए।

०७० सालमा दोस्रो संविधानसभाको चुनावमा मधेसी जनअधिकार फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट चुनाव जिते। अनवरत सांसद हुँदै आएका रामजनमले पहिलोपटक ०७४ सालको चुनावमा पराजय बेहोर्नुपर्‍यो। 

कैलाली ३ मा रामजनम वाम गठबन्धनबाट माओवादीका गौरीशंकरसँग ४ हजार ३८५ मतान्तरले हारे। त्यसबेला गौरीशंकरले २४ हजार ८७९ मत ल्याउँदा रामजनमले २० हजार ४९४ मत ल्याएका थिए। 

यसपटक गठबन्धनको साथले ०७४ को हारको बदला लिँदै रामजनम जित निकालेर फेरि संसद् यात्रा तय गर्ने योजनामा छन्।

निरुदेवी पाल
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेवी पाल कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्दैछिन्।
यो क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम् पूर्वमन्त्री रमेश लेखक चुनावी मैदानमा छन्। 

उनी ०७४ को चुनावमा वाम गठबन्धनका साझा उम्मेदवार एमाले डा. दीपक प्रकाश भट्टसँग झिनो मतान्तरले हारेका थिए। 

माओवादी केन्द्रको साथले हौसिएका लेखक ०७४ को हारको बदला लिँदै संसद् पस्ने दाउमा छन्। नेकपा एमालेले पनि क्षेत्र नम्बर ३ मा राप्रपासँग चुनावी तालमेल गरेको छ।

क्ञ्चनपुर ३ मा लेखक र पालबीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ। पाल पनि यसै क्षेत्रकी निवर्तमान समानुपातिक सांसद पनि हुन्। 
लामो समयदेखि कञ्चनपुरमा एमालेको राजनीति गरिरहेकी निरुदेवी २०६४ को संविधानसभाको उपनिर्वाचन लडेकी थिइन्। 

तर, उनी माओवादीसँग त्यतिबेला हारिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा र कञ्चनपुर ३ बाट चुनाव जितेका थिए। पछि देउवाले कञ्चनपुर ३ छाडेका थिए।

गौरीकुमारी ओली
डोटीमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता एंवम् पूर्वमन्त्री प्रेमबहादुर आलेकी प्रतिस्पर्धी हुन्– गौरीकुमारी ओली।

डोटी इन्चार्जसमेत रहेकी ओली एमालेको पोलिटब्युरो सदस्य पनि हुन्। उनी प्रत्यक्षबाट पहिलोपटक संसदीय चुनावको सामना गर्दै छन्। यसअघि ०७० सालको चुनावमा ओली समानुपातिक सांसद भएकी थिइन्।

गठबन्धनविरुद्ध जित हासिल गर्दै दोस्रोपटक संसद् छिर्ने योजनामा छन्– ओली। त्यसका लागि उनी पूर्व एमालेकै नेता आलेसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

०७४ मा वाम गठबन्धनका साझा उम्मेदवार रहेका आलेले कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरलाई हराएका थिए।
गठबन्धनबाट आलेले डोटी पाएपछि, कांग्रेसले बलायरलाई यसपटक कैलालीको ४ मा झारेर एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँग भिडाएको छ।

डोटीमा समाजवादीको संगठन कमजोर छ। स्थानीय निर्वाचनमा समाजवादीले डोटीमा एक वडाध्यक्ष मात्रै जितेको छ। आलेविरुद्ध कांग्रेसका नेता नरेन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .