ad ad

राजनीति


डिजिटल चुनावी प्रचार: अनलाइनबाटै मागिन्छ भोट, एमाले र माओवादीको आक्रामक अभियान

कांग्रेस र स्वतन्त्र पनि टोली नै बनाएर प्रचारमा
डिजिटल चुनावी प्रचार: अनलाइनबाटै मागिन्छ भोट, एमाले र माओवादीको आक्रामक अभियान

फाइल तस्बिर


सागर न्यौपाने
कात्तिक १३, २०७९ आइतबार २२:३१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजबाट आफ्नो सरकारको पालाका राम्रा कामको विवरण समेटिएको भिडिओ दैनिक सार्वजनिक हुन्छ।

२०७४ यताका साढे तीन वर्षमा ओली सरकारले गरेका राम्रा काम र गतिविधि समेटिएका फरक फरक भिडिओसँगै ‘सूर्य खबर’ शीर्षकमा भिडिओ समाचार पनि सेयर भइरहेको छ। 

चुनाव प्रचारका लागि ओली दुई दिनदेखि गृहजिल्ला झापामा छन्। तर, ३ लाख ७३ हजार फलोअर रहेको उनको फेसबुक पेजमाा त्यस्ता भिडिओ दिनभरमा २० भन्दा बढी सेयर हुन्छन्।

मतदातासँग प्रत्यक्ष भेटघाट र घरदैलो मात्र होइन, सामाजिक सञ्जाल प्रयोग गरेर पनि फमाउने ओलीको रणनीति देखिन्छ। यसपटक डिजिटल प्लाटफर्म धेरै प्रयोग गरिने एमालेका उपमहासचिव विष्णु रिमालले बताए।

उनका अनुसार सबै उम्मेदवार र नेताहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्न सुझाव दिइएको छ। उनका अनुसार यो काम आक्रामक ढंगले अघि बढाइएको छ।

एमालेले केही दिनमै चुनावी घोषणापत्र ल्याउँदैछ। घोषणापत्रमा ल्याउने कन्टेन्टले पनि मतदातालाई आकर्षित गर्ने तयारी उसको छ।

घरदैलोसँगै मोबाइलमै माग्छन् भोट
एमालेले डिजिटल प्लाटफर्म प्रयोगका लागि कति बजेट विनियोजन गरेको छ भन्ने खुलाएको छैन। तर सबै नेताहरुका फेसबुक पेज, ट्वीटर लगायत प्रभावकारी सामाजिक सञ्जाल अधिकतम् प्रयोग गर्ने उसको योजना छ।

‘डिजिटल प्लाटफर्म प्रयोग गरेर उम्मेदवारले कसरी सूचना प्रवाह गर्ने भन्ने कुरा हामीसँग सोध्नुहुन्छ अनि सिकाउँछौं,’ रिमालले नेपालखबरसँग भने, ‘अन्य अनलाइन सामाग्री उत्पादनसँगै भिडिओ पनि बनाएर टिकटक, फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत प्रचार गरेका छौँ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी प्रचारका लागि जति व्यस्त छन्, त्योभन्दा बढी भ्याइ नभ्याइको अवस्थामा छ—एउटा टिम। 

चुनाव प्रचार सामग्री बनाउन, कन्टेन्ट लेख्न र भिडिओ बनाउन खटिएको त्यो टिममा दश जनाभन्दा बढी छन्।

स्थानीय तहको चुनावमा बनेको उपमहासचिव वर्षमान पुन नेतृत्वको आइटी सेन्टरले त्यो टिम चलाइरहेको छ।

त्यो टिमका एक सदस्यले नेपालखबरलाई दिएको जानकारी अनुसार कन्टेन्ट लेख्न, भिडिओ निर्माण र निर्देशन गर्न, फोटो र अन्य साजसज्जा गर्ने अलग अलग व्यक्ति खटिएका छन्।

‘सुरुमा कन्टेन्ट तयार पारेर नेताहरुलाई देखाउँछौंँ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपमहासचिव लगायत नेताहरुबाट एप्रोभल लिएपछि बल्ल अन्य काम अघि बढाउँछौं,’ यो काममा खटिएका प्रकाश रायमाझीले नेपालखबरसँग भने, ‘कन्टेन्ट ओके भएपछि भिडिओ र फोटोग्राफीको काम हुन्छ।’

भिडिओ विभिन्न स्थानमा गएर खिचिएको उनले बताए।

‘भिडिओ निर्देशन नेपाली फिल्मका सिनियर निर्देशक राजु केसीले गर्नुभएको छ, फोटोमा गौतम धिमाल र कन्टेन्टमा सोमत घिमिरे र गोकर्णप्रकाश भट्ट लाग्नुहुन्छ,’ उनले थपे।

मतदाताको चाहना र रोजाई अनुसारको सामग्री तयार पारेर सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेको रायमाझीले बताए।

अहिलेसम्म माओवादीले शान्तिप्रक्रियामा आएपछि व्यवस्था परिवर्तनमा खेलेको भूमिका, विभिन्न वर्गका नागरिकको अधिकार प्राप्तिमा पहल र नेतृत्व लगायत विषय उठाउँदै मत मागिएको भिडिओमा देख्न सकिन्छ।

यसबाहेक गीत र म्युजिक भिडिओबाट पनि प्रचार गरिएको छ।

यी दुवैका लागि संगीतकार चेतन सापकोटा खटिएका छन्। उनले तिहारअगाडि (८ कात्तिक) ‘गठबन्धनलाई नजिताई भा’छैन, प्रचण्डले भनेजस्तो गर्नै पा’छैन’ बोलको गीत र म्युजिक भिडिओ सार्वजनिक गरेका छन्।

‘सामाजिक सञ्जालको व्यापक प्रयोग गरेर प्रचार गरिरहेका छौँ, अहिलेको युवा पुस्ता सबैभन्दा धेरै इंगेज हुने प्लाटफर्ममा हामी पनि पुगेका छौँ,’ माओवादीको प्रचार हेरिरहेका प्रकाश रायमाझीले भने।

के गर्दैछ कांग्रेस?
एमाले र माओवादी मात्रै होइन, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि प्रचार अभियानमा समाजिक सञ्जाल उपयोग गरिरहेको छ।

कांग्रेसका प्रचार प्रसार उपसमिति नै १३ वटा छन्। त्यसमा पनि राजीव ढुङ्गानाको संयोजकत्वमा सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति बनाइएको छ।

जसको काम नै सामाजिक सञ्जालबाट कांग्रेसका उम्मेदवारको पक्षमा प्रचार गर्नु छ।

ठूला दलमात्र होइन, भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सामाजिक सञ्जाललाई मुख्य प्रचारको माध्यम बनाएको छ।

देशभर १ सय ३७ स्थानमा उम्मेदवार रहेका रवि लामिछाने नेतृत्वको उक्त पार्टीले घरदैलो कार्यक्रम र उम्मेदवारको प्रतिवद्धतापत्र सामाजिक सञ्जालमै राखेको छ।

हरेक कार्यक्रमबारे सूचना दिने मुख्य माध्यम फेसबुक र ट्वीटर लगायतलाई बनाइएको छ।

यस्तै राष्ट्रिय सुशासन पार्टीले पनि फेसबुकलाई नै प्रचारको मुख्य माध्यम बनाएको छ।

हरेक पटक घरदैलो कार्यक्रममा जाँदा काठमाडौं १ का उम्मेदवार रमेश खरेलले भिडिओ खिच्ने, फोटो लिने टिम नै खटाएका छन्। उनको प्रायः सबै घरदैलो कार्यक्रम टिकटकमा लाइभ हुने गरेको छ।

त्यसबाहेक उनी घरदैलोमा जाँदा खिचिएका अफलाइन भिडिओ पनि समय मिलाएर टिकटक, फेसबुक र ट्वीटरमा पनि पोष्ट गर्छन्।

कसको कति लगानी?
सामाजिक सञ्जालबाट चुनाव प्रचार गरे पनि त्यसको खर्चबारे दलहरुले खुलेर बताएका छैनन्।

निर्वाचन आयोगले दलहरुलाई चुनावमा खर्च गर्न पाउने सिलिङ तोकेको छ, त्यसमै सामाजिक सञ्जालमा गर्ने प्रचार पनि पर्छ ।

दलहरुको खर्चबारे आयोगले अध्ययन गर्न टिम राखेको छ। यद्यपि दलहरुले सामाजिक सञ्जालमा गर्ने खर्चबारे बताउन चाहँदैनन्। 

सुशासन पार्टीका अध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार खरेलले सामाजिक सञ्जालको प्रचारका लागि तीनजना युवा राखेको बताए।

‘तीन युवालाई चुनावसम्म जम्मा ७५ हजार दिएको छु,’ खरेलले भने, ‘त्यसबाहेक सबै भोलिन्टियर रुपमा मेरो प्रचारमा जोडिनुभएको पाएको छु, मलाई नै थाहा छैन, कस कसले कहाँ कहाँबाट प्रचार प्रसार गरिरहनुभएको छ।’

खरेलले सामाजिक सञ्जालको प्रयोगबाट धेरै प्रचार भएको स्वीकार गरे।

‘बाहिरबाट पनि प्रचार भइरहेको छ, केही इन्जिनियरले पनि सपोर्ट गरिरहनुभएको छ,’ खरेलले थपे, ‘काठमाडौंमा मेरो, भाषण, भेटघाट र घरदैलोको भिडिओ खिच्ने, फेसबुक र टिकटकमा राख्ने भइरहेको छ। क्षेत्र नम्बर १ र रमेश खरेल जिताऔं अभियान भनेर फेसबुक पेजबाट प्रचार भइरहेको छ।’

एमालेले पनि युवासँग कनेक्ट हुन सामाजिक सञ्जाललाई प्रचारको थलो बनाएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

‘प्रचार माध्यम बदलियो, योङसँग कनेक्ट हुन एमालेले प्रविधिमैत्री बन्दै गएको छ,’ रिजालले नेपालखबरसँग भने, फेसबुक, युट्युव, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालबाट प्रचार गरिरहेका छौँ।’

‘प्रचार विभाग, केन्द्रीय निर्वाचन परिचालन कमिटी र पार्टी केन्द्रीय कार्यालयमा रहेको एक्सन रुमबाट यी काम भइरहेको छ,’ उनले थपे।
सामाजिक सञ्जालमा हुने खर्चबारे उनले अनभिज्ञता प्रकट गरे।

‘उम्मेदवारले निर्वाचन आयोगले दिएको सीमाभित्र रहेर खर्च गर्ने हो, केन्द्रमा आफ्नै स्रोत र साधन प्रयोग भएको छ,’ रिजालले भने, ‘एमाले विशाल संस्था हो, म्याटर दिए पनि शुभेच्छुकले सहयोग गर्नुहुनेछ।’

३१ वैशामा सम्पन्न स्थानीय तहको  चुनावमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालकै अभियानले चुनाव जितेको चर्चा छ।

त्यसले पनि प्रतिनिधि र प्रदेश चुनावमा सामाजिक सञ्जाल प्रयोग गर्ने दलहरुबीच प्रतिस्पर्धा भइरहेको देखिन्छ।

तर, यसबाट मतदाता प्रभावित हुने खतरा रहेको भन्दै निर्वाचन आयोगले केही फेसबुक पेज बन्द पनि गराएको छ।

खासगरी फेसबुकमा एकपटक राखिएको पोष्ट कमेन्ट गरिदियो भने फेरि माथि चलायमान भइरहने भएकोले यसले निर्वाचन आचार संहितालाई असर गर्ने आयोगको बुझाई छ।

चुनावमा सञ्जालको प्रयोग गरेर मत माग्ने अभ्यास युरोप, अमेरिका लगायत विश्वभरका थुप्रै देशहरुमा छ।

नेपालमा अहिले यसको अभ्यास धेरै हुन थालेको छ। अघिल्लो पटक २०७४ को चुनावमा भन्दा यसपटक सामाजिक सञ्जालमा प्रचार गर्ने संख्या बढी देखिन्छ। 

त्यो किन भने पाँच वर्षअगाडि टेलिफोन नपुगेको ठाउँमा यसपटक पुगेको छ, टू जी र थ्री जी चल्ने ठाउँमा फोर जी चल्न थालेको छ।
त्यसमाथि हात हातमा स्मार्ट फोन भएपछि सामाजिक सञ्जालको प्रयोग बढेकै छ।

२०७० को संविधानसभा निर्वाचनसम्म पनि दलहरु भित्तेलेखन र पोस्टरिङलाई प्रमुख प्रचारको माध्यम ठान्थे। तर प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालमा भेटिने मतदाता फकाउन डिजिटल प्रचारतर्फ दलहरु केन्द्रित भएका हुन्। 

कोरोनाको समयमा २०७७ चैत्र ११ देखि २०७८ भदौ पहिलो सातासम्मको अवधिमा भएका लकडाउनमा पढाइको वैकल्पिक उपाय अनलाइन थियो। हो, त्यही बेला अनिवार्य किनिएका स्मार्ट फोन अहिले सामाजिक सञ्जालमा प्रचारको माध्यम बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .