काठमाडौँ महानगरपालिकाका मेयर निर्वाचित भएपछि बालेन (बालेन्द्र) शाहले सार्वजनिक जग्गा–जमिनमा अनधिकृत रुपमा कब्जा गरी निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीब्रता दिए।
पछिल्लो समय उनका केही अभियान आलोचित भएपनि सार्वजनिक जग्गा जमिनमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई भने अन्य केही स्थानीय तहले समेत अनुकरण गरेका थिए।
एमालेबाट विभाजित भई निर्माण भएको एकीकृत समाजवादी पनि मेयर शाहको सुरुवाती अभियानबाट प्रभावित भएको देखिएको छ।
पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको सो दलले सोमबार (१४ कार्तिक) मा जारी गरेको चुनाव घोषणापत्रमा कब्जा गरिएका सार्वजनिक सम्पत्ति संरक्षणलाई जोड दिने उल्लेख गरेको छ।
‘कब्जा जमिन र सम्पत्तिको खोजी’ शीर्षक अन्तर्गत एकीकृत समाजवादीको घोषणापत्रमा भनिएको छ, ‘विभिन्न तरिकाले कब्जा गरिएका जमिनलगायतका सार्वजनिक सम्पत्तिको खोजी गरी सरकारको मातहतमा ल्याइने छ।’
‘त्यस्ता सार्वजनिक जमिनहरू पार्क, बगैंचा, खेलमैदान र औद्योगिक ग्राम निर्माणमा प्रयोग गरिने छन्’ सो पार्टीले चुनाव घोषणापत्रमार्फत् भनेको छ, ‘सबै सार्वजनिक सम्पत्तिलाई राज्यको मातहतमा राखिने छ।’
Shares

प्रतिक्रिया