ad ad

राजनीति


प्रदेश १ : प्रत्यक्षबाट प्रदेशसभा जान कस्सिएका ठूला दलका यी ६ नेतृ

कसको प्रतिस्पर्धा कोसँग?
प्रदेश १ : प्रत्यक्षबाट प्रदेशसभा जान कस्सिएका ठूला दलका यी ६ नेतृ

सुमन पुरी
कात्तिक १७, २०७९ बिहिबार १७:४९, बुटवल

मंसिर ४ मा हुन लागेको प्रदेश सभा निर्वाचनमा प्रदेश १ मा ठूला दलका ६ जना महिला प्रत्यक्षतर्फ उम्मेदवार छन्। उनीहरू उम्मेदवार बनेको क्षेत्रमा मुख्य प्रतिस्पर्धीसमेत हुन्।

साना दल र स्वतन्त्रबाट प्रत्यक्षतर्फ महिलाले उम्मेदवारी दिए पनि निर्वाचन आउन १८ दिन बाँकी हुँदासमेत उनीहरूको प्रभाव देखिएको छैन।

५६ निर्वाचन क्षेत्रमध्ये ६ वटामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ठूला दलका महिला नेताले प्रभाव देखाइसकेका छन्। 

प्रदेश १ मा नेकपा माओवादी केन्द्रले २ जना, नेकपा एमाले र एकीकृत समाजवादीले २-२ महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाएका हुन्।

एमालेकी शोभा पराजुली

एमालेबाट रिता र शोभा  
एमालेले प्रदेश १ मा रिता न्यौपाने र शोभा पराजुलीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।

एमालेले इलाम क्षेत्र नम्बर १ (क) मा शोभा र मोरङ क्षेत्र नम्बर ६ ‘क’ मा रितालाई उम्मेदवार बनाएको हो। शोभा सन्दकुपर गाँउपालिकाकी निर्वतमान उपाध्यक्ष हुन्। उनको प्रतिस्पर्धा महिलासँगै छ।

उनी एकीकृत समाजवादीकी खिनु लङ्वासँग चुनावी मैदानमा छन्। सो क्षेत्रमा जसले निर्वाचन जिते पनि प्रदेश सभामा महिला नै पुग्नेछन्। 

यस्तै मोरङ क्षेत्र नम्बर ६ (क) मा एमालेबाट प्रत्यक्ष उम्मेदवार बनेकी रिताको प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार जीवन आचार्यसँग हुँदै छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ आचार्य यसअघि पनि त्यस क्षेत्रबाट उम्मेदवार बनेका थिए। त्यसबेला कांग्रेसका चुमनारायण तबदारसँग हारेका थिए।

शिक्षा क्षेत्रमा सक्रिय रिता न्यौपाने निरन्तर गाउँघरमै रहेकी महिला उम्मेदवार हुन्। निजी विद्यालय सञ्चालनसँगै विभिन्न व्यवसायमा संलग्न न्यौपाने त्यस क्षेत्रमा चिनिएकी महिला हुन्।

०७४ सालको स्थानीय तह निर्वाचनमा बूढीगंगा गाउँपालिका उपाध्यक्षमा पराजय भोगेपछि उनी निरन्तर त्यही क्षेत्रमै रहेकी छन्।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भए पनि प्रदेश निर्वाचन क्षेत्रका लागि न्यौपाने नयाँ अनुहार हुन्।

जेसिज, लायन्स, प्याब्सन, खेलकुद क्षेत्रको नेतृत्वमा बसेर काम गरेकाले उनको प्रत्यक्ष भेटघाट युवा र बुद्धिजीवी वर्गसँग देखिन्छ। 

माओवादीकी कुसुम श्रेष्ठ (दायाँतर्फ)

माओवादीबाट सरस्वती र कुसम 
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रदेशका ५६ सिटमध्ये १९ वटामा उम्मेदवारी दिन पाएको छ। तीमध्ये २ वटा क्षेत्रमा उसले महिला उम्मेदवार बनाएको छ।

दुवैजना यसअघि समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका थिए। धनकुटाकी कुसुमकुमारी श्रेष्ठ र सुनसरीकी सरस्वती पोखरेल यसपटक पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ सुनसरी क्षेत्र नम्बर ३ (क) र धनुकटा क्षेत्र नम्बर (ख) बाट उम्मेदवार बनेका छन्।  

धनकुटामा कुसुमसँग एमाले धनकुटाका प्रभावशाली नेता इन्द्रमणि पराजुली प्रतिस्पर्धामा छन्। उनी एमाले धनकुटाका अध्यक्षसमेत हुन्।

०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। सुनसरी क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष उम्मेदवार बनेकी सरस्वतीसँग भने पुराना नेता रोहितबहादुर कार्की प्रतिस्पर्धामा छन्।

उनी एमाले प्रदेश कमिटी सदस्य हुन्। तत्कालीन खनार गाविसका अध्यक्ष भएका कार्कीको मधेसी र मुस्लिम समुदायमा प्रभाव छ।

दोस्रोपटक प्रदेश १ को प्रदेश सभामा छिर्न खोजेका कुसम र सरस्वतीको क्षेत्रमा आफ्नै पार्टी माओवादीको मत भने कमजोर छ। यसैले चुनाव जित्न गठबन्धन दलकै भरपर्नु पर्ने देखिन्छ। 

प्युठानमा जन्मिएकी सरस्वती पोखरेल जनयुद्धका क्रममा पूर्व आइपुगिन्। कम्युनिस्ट नेता मोहनविक्रम सिंहको प्रभावका कारण उनी विद्यालयबाटै वामपन्थी राजनीतिमा संलग्न भइन्।

अनेरास्ववियुको तल्लो कमिटीबाट राजनीतिमा होमिएकी पोखरेल तात्कालीन मालेनिकट अनेरास्ववियुको केन्द्रीय सदस्य भएका बेला माओवादी आन्दोलनमा लागिन्।

२०५८ सालमा २१ जना मालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य माओवादीमा प्रवेश गरेसँगै उनी भूमिगत राजनीतिमा हिस्सेदार बनिन्। 

माओवादी राजनीतिमा लागेसँगै उनी ५९ सालमा काठमाडौंबाट गिरफतार भइन्। कालोपुबाट पक्राउ परेकी पोखरेललाई सुरक्षाकर्मीले यातना दियो।

उनलाई सुरक्षाकर्मीले ८ महिनासम्म बेपत्ता बनाएको थियो। बेपत्ता बनाउँदा चरम याताना खेपेकी पोखरेल ८ महिनापछि रिहा भइन्।

०६० सालमा रिहा भएकी सरस्वतीले ६० वैशाखमा माओवादीनिकट अखिल क्रान्तिकारीका नेता शिव डाँगीसँग विवाह गरिन।

विवाह गरेका डाँगी र पोखरेललाई पार्टीले संखुवासभामा खटायो। भूमिगतकालमै गर्भवती सरस्वतीलाई डाक्टरले शल्यक्रिया सुझाव दिए।

त्यही सुझावका आधारमा सरस्वती र शिव झापा झर्ने तयारीमा थिए। सेना र प्रहरीबाट लुक्दै झापा झरेकी पोखरेलले बाटोमै बच्चा जन्माइन्।

झापा झरेपछि बच्चा हुर्काउन भारत गइन्। ०६४ सालको संविधान सभाको निर्वाचनबाट उनी सुनसरीको राजनीतिमा छिन्।

सुनसरीमा उनी सह–सेक्रेटरी, सेक्रेटरी, इन्चार्ज, जिल्ला अध्यक्ष र पोलिटब्युरो सदस्यसमेत भइन्।

माआवादी फुट्दा मोहन वैद्य 'किरण' नेतृत्वको समूहमा गएकी उनी रामबहादुर थापा बालदसँगै फेरि मूल माओवादीमा फर्कीएकी हुन्। उनी प्रदेश १ की निर्वतमान उपसभामुख पनि हुन्।

०७४ मा माओवादीबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेकी उनी ५ वर्ष उपसभामुख भइन्।

धनकुटाबाट प्रदेश सभामा उम्मेदवार बनेकी कुसुमकुमारी श्रेष्ठ पनि एमालेको राजनीतिबाट माओवादीको राजनीतिमा आएकी हुन्।

पुर्ख्यौली घर धनकुटाको छिन्ताङ भएकी कुसुमको जन्म झापामा भएको हो। झापामा पढ्दा एमालेनिकट अनेरास्ववियुको राजनीतिमा जोडिएकी कुसुम विवाह गरेर धनकुटा पुगिन्।

धनकुटामा उनी एमालेनिकट अखिल नेपाल महिला संघको जिल्ला सदस्य थिइन्। ०५७ सालबाट माओवादीको शुभेच्छुकका रूपमा जोडिएकी कुसुम ०६२/६३ पछि उनी माओवादीको सक्रिय राजनीतिमा आइन्।

वडा इन्चार्ज, नगर र जिल्ला कमिटी सदस्य हुँदै उनी अहिले प्रदेश कमिटी सदस्य छिन्। उनी राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यसमेत भएर काम गरिन्। ०७४ को निर्वाचनमा उनी समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भइन्। 

एकीकृत समाजवादीकी खिनु लङ्वा

एकीकृत समाजवादीबाट खिनु र सरिता

प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका खिनु प्रदेश १ सरकारकी संस्कृति तथा पर्यटन मन्त्री हुन्।

उनी यसअघिको निर्वाचनमा पनि त्यही निर्वाचन क्षेत्रबाट एमालेबाट निर्वाचित भएकी हुन्। यसपटक पनि प्रत्यक्ष निर्वाचनमा होमिएकी छिन्।

संखुवासभा (ख) बाट प्रत्यक्षबाट उम्मेदवार बनेकी सरिता खड्का यसअघि समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेकी छन्।

उनको प्रतिस्पर्धा एमालेका विदुरकुमार लिङ्थेपसँग हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .