ad ad

राजनीति


३० वर्षदेखि डडेलधुराका विजेता, घरदैलोबिनै छपाछप भोट

३० वर्षदेखि डडेलधुराका विजेता, घरदैलोबिनै छपाछप भोट

केशव सावद
कात्तिक १६, २०७९ बुधबार १८:३६, काठमाडौँ

‘शेरबहादुर देउवा याँ’का महापुरुषै हुन्। हाम बोट त सदाइँ उनैलाई दिनाइ आइ¥याउँ। आँजी लै बोट त उनैलाई छपाछप हाल्या हौँ रे, एकफेर उनरो अनार हेद्द पाएले हुनेइथ्यो,’ अजयमेरु गाउँपालिकामा पर्ने बसाना गाउँका ६२ वर्षीय ऐर थरका वृद्धले मत माग्न घरमा पुगेको नेपाली कांग्रेसको टोलीसँग डोटेलीमा गरेको संवादको अंश हो यो। 

जसको नेपाली अर्थ हुन्छ– शेरबहादुर देउवा यहाँका महापुरुष जस्तै हुनुहुन्छ। हामीले उहाँलाई नै मत दिँदै आएका छौं। फेरि पनि भोट उहाँलाई नै दिन्छौँ। तर, एक पटक उहाँको अनुहार हेर्न पाए हुन्थ्यो।

चुनावी प्रचार–प्रसारको रिपोर्टिङका लागि गएका नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारीका अनुसार ती वृद्धले घरदैलोमा गएका प्रदेश सभा सदस्य उम्मेदवार गोविन्द बोहरासँग प्रधानमन्त्री देउवाको अनुहार हेर्ने इच्छा देखाएका हुन्। 

‘बुढाले प्रधानमन्त्रीज्यूलाई भेट्ने इच्छा देखाएपछि गोविन्द दाइले भद्रपुरमा कार्यक्रम छ। भरसक चमडा ल्याउने प्रयास गर्छौं भन्ने जवाफ दिनुभयो,’ अध्यक्ष भण्डारीले नेपालखबरसँग भने। 

२०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका कांग्रेस सभापति देउवा भेट्न र उनलाई हेर्न अहिले पनि डडेल्धुरीहरु लालायित हुन्छन्। पञ्चायती व्यवस्थाको अन्त्यपछि पहिलो पटक गृहजिल्ला पुग्दाजत्तिको ‘क्रेज’ नभए पनि उनीप्रति डडेल्धुराबासीको आशा, भरोसा र विश्वास अझै पनि कायमै रहेको उक्त संवादले देखाउँछ। 

प्रजातन्त्र पुनर्स्थापनापछि सम्पन्न भएको पहिलो निर्वाचनताका कस्तो थियो त प्रधानमन्त्री देउवाको ‘क्रेज’? 

२०४८, २०५१ र ०५६ को निर्वाचनमा देउवाको प्रचार–प्रसारमा सहभागी भएका तत्कालीन खलंगा गाविस–९ सुनेडाका मुकुन्द रावल भन्छन्, ‘४८ सालमा पहिलो दिन शेरबहादुर देउवा डडेल्धुरा आइपुग्दा ठूलो जनमानसको उपस्थिति थियो। उहाँ चुनावी सभा सम्बोधन गर्न आउनुभएको थियो। खलंगा, टुंडिखेलमा भएको त्यति ठूलो आमसभा मैले फेरि देखेको छैन।’ 

२०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भएर जाँदा देउवालाई स्थानीयले भव्य स्वागत गरेको तारागाउँ विकास समितिका अध्यक्षसमेत रहेका डडेल्धुराका सुरेश जोशी स्मरण गर्छन्। 

‘०४८ मा शेरबहादुर देउवालाई बागबजारबाट टुँडिखेलसम्म स्थानीयले काँधमा बोकेर बाजागाजासहित पुर्याएका थिए,’ उम्मेदवारका रुपमा देउवा डडेल्धुरा पुगेको दिनको स्मरण गर्दै उनले नेपालखबरसँग भने, ‘डडेल्धुराका स्थानीयले उहाँलाई प्रत्यक्ष देखेकै थिएनन्। बेलायतबाट फर्किनुभएको थियो, उहाँलाई हेर्न पाए हुन्थ्यो भन्ने जनतामा थियो।’ 

चुनावी कार्यक्रममा सहभागी हुन गृहजिल्ला जाँदै देउवा

२०४८ सालमा घरदैलो
पहिलो पटक प्रतिस्पर्धा गरेको निर्वाचनको प्रचारका लागि देउवाले डडेल्धुराका प्रायः गाउँमा पैदल हिँडेर घरदैलो गरेका थिए। 

‘त्यो बेला डडेल्धुरामा बाटोघाटो केही थिएन। उहाँ पैदल हिँडेरै डडेल्धुराका प्रायः जसो गाउँका घरघरै जानुभएको थियो,’ सुनेडाबाट बसाइँसराइ गरी कञ्चनपुरको महेन्द्रनगर बस्दै आएका रावल भन्छन्, ‘सम्भव नभएका ठाउँमा मान्छेहरु जम्मा पार्न कार्यकर्ताहरु परिचालन गरिएका थिए। त्यहाँ पुगेर भाषण गर्नुभएको थियो।’

त्यसपछिका निर्वाचनबाट भने प्रधानमन्त्री देउवाले घरदैलो अभियान गरेर मतदातासँग मत माग्न जान भने छाडेका छन्। २०५१ को आम निर्वाचनमा बहालवाला गृहमन्त्री भएका कारण २०४८ को निर्वाचनमा जस्तो घरदैलोमा जान नभ्याएको कांग्रेस कार्यकर्ता बताउँछन्। 

रावल भन्छन्, ‘त्यो बेला उहाँ गृहमन्त्री भएका कारण व्यस्त हुनुहुन्थ्यो। घरदैलोमा जानुभएको होइन। ठाउँ–ठाउँमा भेलाहरु गरेर प्रचार गर्नुभएको थियो।’ 

उनले २०५१ को आमनिर्वाचन हुँदा भित्री मधेशमा पर्ने जोगबुढासम्म गाडी चल्ने बाटो बनिसकेका कारण प्रचार–प्रसारका लागि केही सहज भएको विगत स्मरण गरे। 

‘०५१ सालको आमनिर्वाचन हुँदा डडेल्धुरामा कहीँकहीँ बाटो बनेको थियो। जोगबुढासम्म गाडी चल्ने बाटो बनिसकेको थियो। हामी मोटरसाइकलमै हिन्थ्यौँ,’ रावलले भने, ‘कार्यकर्ताहरुले उहाँलाई हामी यहाँ जम्मा भएका छौं, गाउँलेहरु जम्मा गरेका छौँ, तपाईं आउनुस्, जनताका कुरा सुनिदिनुस् भन्थे। उहाँ पुग्नुहुन्थ्यो। कुरा सुन्नुहुन्थ्यो।’

तारागाउँ विकास समितिका अध्यक्ष जोशी भने २०५१ को आमनिर्वाचनमा पनि देउवाले २०४८ सालको निर्वाचनमा जसरी घरदैलो गरेको बताउँछन्। 

‘०४८ मा त घरघरै पुगेर घरदैलो गर्नुभएको हो,’ उनले नेपालखबरसँग भने, ‘०५१ मा पनि घरदैलौ गर्नुभएको हो। तर, ०४८ जस्तो भने थिएन।’ 

जोशीका अनुसार २०५६ को आमनिर्वाचनमा प्रधानमन्त्री देउवाले बस्तीहरु भ्रमण गरेर चुनाव प्रचार–प्रसार गरेका थिए। ‘०५६ को चुनावमा बस्ती भिजिट गर्नुभयो। ०४८–०५१ को जस्तो घरदैलो गर्नुभएन। ०६४ बाट कम गर्नुभएको छ।’

डडेलधुरामा कांग्रेसको कार्यक्रम

२०६४ देखि आमसभामा सम्बोधन मात्र
२०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनयता देउवाले डडेल्धुराका सीमित स्थानमा आयोजना हुने आमसभाहरुमा मात्र पुगेर मत माग्दै आएका छन्। पछिल्लो समय उनले डडेल्धुरामा घरघर–बस्तीबस्ती पुगेर मत माग्नु पर्ने आवश्यकता नै नरहेको कांग्रेस नेता–कार्यकर्ताहरु बताउँछन्। 

‘उहाँ (देउवा) लाई डडेल्धुराका बस्तीबस्तीका बारेमा थाहा छ। मत माग्न ती बस्तीहरुमा नगए पनि हुन्छ,’ कांग्रेस डडेल्धुराका उपसभापति एवम् अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी भन्छन्, ‘हामी जिल्लाका नेताहरु गर्छौं उहाँका लागि घरदैलो।’

देउवाका लागि घरघर पुगेर मतदाताहरुसँग मत माग्नु पर्ने आवश्यकता नरहनुको कारणबारे तारागाउँ विकास समितिका अध्यक्ष जोशी भन्छन्, ‘कुन समदायका के–के समस्या छन् र समाधान कसरी गर्नु पर्छ भन्नेबारे उहाँ जानकार नै हुनुहुन्छ। फलाना गाउँको अगुवा फलानो भन्ने पनि थाहा छ। गाउँ समाजका अगुवा बोलाएर कुराकानी गर्नुहुन्छ।’

उपसभापति जोशीका अनुसार प्रधानमन्त्री देउवा निर्वाचनको समयमा डडेल्धुराका केही सीमित स्थानमा आयोजना हुने आमसभामा मात्र उपस्थित हुने गरेका छन्। उनले सदरमुकाम आसपासका गाउँ लक्षित गरेर सदरमुकाममा, अजयमेरु क्षेत्र लक्षित गरेर चमडामा, गन्यापधुरा क्षेत्र लक्षित गरेर बडालमा, नवदुर्गा क्षेत्रका लागि घुप्ता, भागेश्वर लक्षित गरेर बगरकोट–रुपाल र भित्री मधेश लक्षित गरेर जोगबुढामा पार्टीले देउवाको प्रमुख आतिथ्यमा आमसभाहरु गर्दै आएको जानकारी दिए। 

मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पनि कांग्रेस डडेल्धुराले प्रधानमन्त्री देउवाका लागि ४ दिने कार्यक्रम तय गरेको छ। उपसभापति जोशीले कात्तिक १७ देखि २० गतेसम्म प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने गरी कार्यक्रम गरिएको जानकारी दिए। 

देउवाको चुनावी कार्यक्रम तालिका 
घरदैलोमा जिल्ला नेतृत्व 
प्रधानमन्त्री देउवाका लागि कांग्रेस डडेल्धुराको जिल्ला नेतृत्व १० दिने घरदैलो अभियानमा छ। जिल्ला कार्यसमितिले सत्ता गठबन्धनमा रहेका दलहरुलाई पनि समेटेर कात्तिक १४ गतेबाट १० दिने घरदैलो अभियान सञ्चालन गरिरहेको छ। 

‘हामीले १४ गतेबाट २४ गतेसम्मका लागि घरदैलो सुरु गरिसकेका छौं। जिल्लादेखि वडासम्मका कार्यसमितिहरु परिचालन गरेका छौं,’ उपसभापति जोशीले भने, ‘गठबन्धनमा रहेका दलहरुसहितको समिति बनाएर चुनावको प्रचार–प्रसार, अन्तरक्रियाहरु गरिरहेका छौं।’

कांग्रेस डडेल्धुराले चुनाव प्रचारका लागि जिल्ला सभापति भीमबहादुर साउदको संयोजकत्वमा ५५१ सदस्यीय मूल समिति गठन गरेको छ। जसमा सत्ता गठबन्धनका दलका नेताहरुलाई पनि सहभागी गराइएको छ। 

यस्तै माओवादी नेता भरत धानुक ‘पुकार’ को संयोजकत्वमा प्रदेश ‘क’ र कांग्रेसका प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार तारक बुढाऐरको संयोजकत्वमा प्रदेश ‘ख’ का लागि प्रदेशस्तरीय प्रचार–प्रसार समिति गठन गरिएको छ। 

कांग्रेसले युवा परिचालन समिति पनि गठन गरेर प्रधानमन्त्री देउवाका लागि चुनावको प्रचार–प्रसार गरिरहेको छ। जिल्ला कार्यसमितिले वडा कार्यसमितिहरुलाई पनि सत्ता गठबन्धनमा रहेका दलका वडा नेतृत्वको सहकार्यमा प्रचार–प्रसारमा लाग्न निर्देशन दिएको छ। 

कांग्रेसले चुनावी प्रचार–प्रसारको प्रभावकारिता अनुगमन गर्न पदाधिकारी र जिल्ला सदस्यहरुलाई स्थानहरु तोकेर अनुगमन र परिचालन समिति समेत गठन गरेको उपसभापति जोशीले जानकारी दिए। 

देउवाको जितको इतिहास
२०४८ को प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ५७० मत प्राप्त गर्दै देउवाले संसदीय यात्राको सुरुवात गरेका थिए। उक्त निर्वाचनमा उनका प्रतिस्पर्धी नेकपा एमालेका गोविन्दप्रसाद कलौनीले ६ हजार ६२८ र राप्रपा चन्दका गणेशप्रसाद भट्टले ३ हजार ५८० मत पाएका थिए। निर्वाचन आयोगका अनुसार ७५ हजार ७८ मतदातामध्ये ३७ हजार २३७ मत खसेको थियो भने ३४ हजार ७७८ मत सदर भएको थियो। 

निर्वाचन आयोगका अनुसार २०५१ को आमनिर्वाचनमा ७८ हजार ५५३ मतदातामध्ये ३४ हजार ८४६ मत खसेको थियो। ३३ हजार ५२३ सदर मतमध्ये देउवा २० हजार ७०१ का साथ सांसद बनेका थिए। उनका प्रतिस्पर्धी नेपाल जनवादी वाममोर्चा (नेजवामो) का खेमराज भट्ट ‘मायालु’ ले ९ हजार ९६६, राप्रपाका लालबहादुर खडायतले २ हजार ८५६ मत पाएका थिए। 

२०५६ को आम निर्वाचनमा भने प्रधानमन्त्री देउवाले एमाले बागेश्वरी चटौतलाई भारी मतान्तरले पराजित गरेर ‘ह्याट्रिक’ गरेका थिए। देउवाले २८ हजार ६५१ मतसहित जित्दा एमालेका नेता चटौत ७ हजार ८४० मा सीमित भएका थिए। तेस्रो भएका राप्रपा चन्दका नेता गणेशप्रसाद भट्टले ४ हजार ८९३ मतमा चित्त बुझाउनु परेको थियो। 

२०६४ को संविधान सभा निर्वाचनमा भने देउवा झिनो मतले विजयी भएका थिए। देउवा २० हजार ५२९ मत ल्याएर संविधान सभा सदस्यमा विजयी हुँदा तत्कालीन नेकपा माओवादीका नेता खगराज भट्टले १९ हजार १६१ मत ल्याएका थिए। एमाले उम्मेदवार विक्रमबहादुर शाहीको ७ हजार ९८२ मत आएको थियो। 

दोस्रो संविधान सभा निर्वाचनमा पनि तत्कालीन एकीकृत नेकपा माओवादीले भट्टलाई नै देउवाविरुद्ध चुनावी प्रतिस्पर्धामा उतारेको थियो। तर, उनी दोस्रो पटक पनि झण्डै दोब्बर मतअन्तरले पराजित भएको थियो।  

देउवाले २३ हजार ९२० मत ल्याउँदा भट्टले १२ हजार ४९३ मत प्राप्त गरेका थिए। तेस्रो भएका एमालेका नेता ताराप्रसाद जोशीको ७ हजार १९० मत आएको थियो। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि नेकपा माओवादीका नेता भट्ट नै देउवाको निकटतम् प्रतिस्पर्धी रहे। देउवा २८ हजार ४४६ मतले प्रतिनिधि सभा सदस्य बन्दा भट्टको २१ हजार ४९८ मत आएको थियो। उक्त निर्वाचनमा उनलाई एमालेले सघाएको थियो। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा डडेल्धुरामा अझै पनि कांग्रेसको बलियो उपस्थिति देखिन्छ। निर्वाचन आयोगको मतपरिणामले डडेल्धुरामा कांग्रेसको पक्षमा २१ हजार ७३५, माओवादी केन्द्रको पक्षमा १२ हजार ८७८, एमालेको पक्षमा १० हजार ४४९, नेकपा एकीकृत समाजवादीको पक्ष्मा ५ हजार ४१, राप्रपाको पक्षमा ७१४ र जनता समाजवादी पार्टी (जसपा) को पक्षमा १५६ मत छ। 

यी हुन् देउवाका प्रतिस्पर्धी
श्याम सिनाल– जसपा 
गोविन्द खडायत–राप्रपा 
कर्णबहादुर मल्ल– नेपाली कांग्रेस (बीपी) 
स्वतन्त्र– विक्रमबहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल, लालबहादुर कठायत 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .