राजनीति


समानुपातिकमा ४ दल ढुक्क, मधेशकेन्द्रित दल संकटमा, राप्रपा र रास्वपाले कटाउन सक्छन् ‘थ्रेसहोल्ड’

समानुपातिकमा ४ दल ढुक्क, मधेशकेन्द्रित दल संकटमा, राप्रपा र रास्वपाले कटाउन सक्छन् ‘थ्रेसहोल्ड’

फाइल


सागर न्यौपाने
कात्तिक २८ , काठमाडौँ

२०७४ को आम निर्वाचनमा राष्ट्रिय पार्टी बन्नका लागि ४९ दलले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएका थिए। तर, चुनावपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गरी पाँच दलले मात्र राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरे। 

राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्छ। तर, प्रत्यक्षतर्फ एक सिट जितेर पनि तीन प्रतिशत मत ल्याउन नसक्दा राप्रपा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय पार्टीको मान्यता पाएनन्।

राप्रपाले समानुपातिकतर्फ १ लाख ९६ हजार ७९२, नयाँ शक्ति पार्टी नेपालले ८१ हजार ४२६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत मात्र ल्याए। त्यसबेला विवेकशील साझा पार्टीले समानुपातिकमा २ लाख १२ हजार ३३३ मत ल्याएको थियो। प्रत्यक्षतर्फ भने उसले एक सिट पनि जित्न सकेन।

मंसिर ४ को आम निर्वाचनका लागि पनि ६८ दलले समानुपातिक सूची बुझाएका छन्। कति दलले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाउलान् त?

थ्रेसहोल्ड कटाउन आवश्यक मत निश्चित छैन। किनभने मंसिर ४ मा कति मत खस्छ भन्ने टुंगो छैन। निर्वाचन आयोगका अनुसार अहिले कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। आयोगका अनुसार यसपटक कम्तीमा ६३ देखि बढीमा ७० प्रतिशतसम्म मत खस्ने प्रक्षेपण छ।

६३ प्रतिशत मत भनेको १ करोड १३ लाख ३२ हजार ७९९ हुन आउँछ। बदर हुने मत समेतगरी आयोगको न्यूनतम प्रक्षेपण ६३ प्रतिशतलाई सदर मत मानेर हामीले मतको हिसाब गरेका छौँ। त्यसअनुसार ३ प्रतिशत कटाउन दलहरुले ३ लाख ३९ हजार ९८३ मत ल्याउनैपर्ने हुन्छ।

कांग्रेस, एमाले र माओवादी केन्द्र बाहेक कुन कुन दल थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्लान भन्ने चासो धेरैमा छ। 

धेरैले एकीृत समाजवादी र जसपा राष्ट्रिय पार्टी बन्ने अनुमान गरेका छन् भने मतदाताको फेरिएको मनोविज्ञान र नयाँ दलप्रतिको आकर्षणका कारण राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना बढेको छ।

बलिया चार दल
विगतका निर्वाचनमा प्राप्त मत र संगठनको अवस्था हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले समानुपातिकमा क्रमशः पहिलो, दोस्रो र तेस्रो मत प्राप्त गर्ने विश्लेषकहरुको भनाइ छ। त्यस्तै, एमालेबाट विद्रोह गरी बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल बनेको डेढ वर्ष नपुग्दै राष्ट्रिय दलको मान्यता पाउने अवस्था देखिँदैछ। 

एकीकृत समाजवादी संसदमा चौथो दलका रुपमा आउने केही आधारहरु छन्। सो पार्टीले प्रत्यक्षतर्फ उठाएका १९ मध्ये १२ क्षेत्रभन्दा बढी जित्ने आकलन छ। त्यस्तै, समानुपातिकको ११० मध्ये १०७ मा उम्मेदवार उठाएकोले पनि यो पार्टीले सहजै थ्रेसहोल्ड कटाउन सक्छ।

३० वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा कांग्रेसले वडा अध्यक्षतर्फ ३९ लाख ५६ हजार १९३ अर्थात् ३४.२८ मत पाएर सबैभन्दा ठूलो दल बनेको थियो। कांग्रेसबाट दुई हजार ६६८ जना वडाध्यक्ष निर्वाचित भएका थिए।

दोस्रोमा रहेको एमालेले वडा अध्यक्षतर्फ ३८ लाख ११ हजार ६०२ मत पाएको थियो। एमालेका दुई हजार १३७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए।  

वडा अध्यक्षमा माओवादीले १५ लाख तीन हजार २४७ मत पाएको छ। माओवादीका एक हजार ५३ जनाले अध्यक्ष जितेका थिए।

उपेन्द्र यादव नेतृत्वको जसपाले स्थानीय तहमा २९५ जना वडा अध्यक्ष जित्दै चौथो स्थानको हैसियत राखेको थियो। वडाध्यक्षतर्फ जसपाले पाँच लाख ७७ हजार ३८० मत पाएको थियो।

स्थानीय चुनावको मतका आधारमा एकीकृत समाजवादी पाँचौँ दलको हैसियतमा छ। सो पार्टीबाट १९० जनाले वडा अध्यक्ष जितेका छन्। उसले चार लाख २२ हजार ७३७ मत पाएको छ। 

देशभरको चुनाव, मतदाताको मनोविज्ञान, उम्मेदवार र दलबारे अध्ययन गरिरहेका एक तथ्यांक विश्लेषकले ४ वटा दलले सजिलै, २ दलले कठिनाइका साथ राष्ट्रिय दलको मान्यता पाउने विश्लेषण गरे। 

‘कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले समानुपातिकमा राम्रै मत पाउँछन् र प्रत्यक्षमा पनि राम्रै सिट जित्छन्,’ ती विश्लेषकले नेपालखबरसँग भने, ‘मधेश केन्द्रित दुई दल मत भए पनि संकटमा छन्, नयाँ २ वटा दलको अवस्था यसै भन्न सकिने खालको छैन।’ 

मेहनत गर्नुपर्ने अवस्थामा दुई मधेशकेन्द्रित दल
पाँच वर्षअघिको चुनावमा (२०७४) चौथो दल बनेको थियो महन्थ ठाकुर नेतृत्वको राजपा। त्यो अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ। सो दल राष्ट्रिय पार्टी बन्नका लागि थप मेहनत गर्नुपर्ने अवस्थामा छ।

स्थानीय चुनावमा १०३ वडाध्यक्ष जितेको लोसपाले २ लाख ४४ हजार ८८२ मत पाएको थियो। आगामी चुनावमा त्यति मात्र मत ल्याएर राष्ट्रिय पार्टी बन्न सम्भव छैन। लोसपा अहिले सत्ता गठबन्धनमा छ। 

उपेन्द्र यादव नेतृत्वको जसपाले भने स्थानीय तहमा २९५ जना वडा अध्यक्ष जित्दै चौथो दलको हैसियत राखेको थियो। वडाध्यक्षतर्फ जसपाले पाँच लाख ७७ हजार ३८० मत पाएको थियो। 

विश्लेषक सुरेन्द्र लाभले लोसपालाई कठिन भए पनि जसपाले थ्रेसहोल्ड कटाउने दाबी गरे।

‘जसपा यथास्थितिको दल बने पनि ओरालो लाग्ने देखिन्छ,’ लाभले नेपालखबरसँग भने, ‘थ्रेसहोल्ड कटाउन लोसपालाई कठिन छ, कति मत खस्छ भन्ने कुरा पनि हो। एमालेसँग मिलेका कारण जसपाले जोगाउँछ।’

‘ठूला दलतिर रुझान बढेको छ, जसपाको प्रभाव खस्कँदो छ, सिके राउतको प्रभाव, प्रभु साहको कारण पनि मधेसी दल संकटमा छन्,’ लाभले थपे।

विश्लेषक चन्द्रकिशोरले जसपा र लोसपा दुवैले थ्रेसहोल्ड कटाउने दाबी गरे।

‘प्रत्यक्षमा थोरै सिटमा लडेकाले थोरबहुत जिते पनि समानुपातिकमा लोसपा र जसपा दुवैको जनाधार होल्डमा छ,’ चन्द्रकिशोरले नेपालखबरसँग भने, ‘कांग्रेस–एमाले पनि कम संख्यामा जित्छन्। कुनै दलले ह्विम ल्याउन सकेका छैनन्, कसैको लहर छैन।’

लोसपा र जसपाको निर्णायक मतको विश्लेषण ३० देखि २ गतेसम्मको अवधिले निर्धारण गर्ने केही नेताहरु बताउँछन्। 

लाभ र चन्द्रकिशोको भनाइले पनि लोसपा र जसपा दुवै दल सन्देहको स्थितिमा रहेको देखिन्छ।

राप्रपा र रास्वपा
नयाँ दलका रुपमा उदाउँदै गरेको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले राष्ट्रिय दल बन्ने संकेत देखाएका छन्। समानुपातिक मत पुग्न सक्ने हुनाले यी दुई दललाई प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नैपर्ने दबाब छ। 

प्रत्यक्षमा राप्रपाले १३७ स्थानमा उम्मेदवारी दिएको छ। राजेन्द्र लिङदेन, धवलशम्शेर राणा, विक्रम पाण्डे, दीपक बोहरा, ज्ञानेन्द्र शाही तथा रेखा थापालाई राप्रापले जित्ने सूचीमा राखेको छ। 

देशभर उम्मेदवार, स्थानीय तहमा ६२ वडाध्यक्ष जितेको राप्रपाले ३ लाख ६४ हजार १६० मत पाएको आधारमा यो चुनावमा थ्रेसहोल्ड कटाउन सक्ने सम्भावना छ। 

अर्कोतिर, रास्वपाले १ सय ४३ क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार उठाएको छ। यस्तै, समानुपातिकमा उसले १०७ उम्मेदवार बनाएको छ।

तर, सो पार्टीले प्रदेश सभामा उम्मेदवारी दिएको छैन। लामिछानेले समानुपातिक मतकै लागि दल दर्ता गराएको बताएका थिए।

‘राप्रपा र रविले उस्तैउस्तै तीन प्रतिशत मत ल्याउन सक्छन्। तर, प्रत्यक्षमा जित्ने निश्चित छैन,’ सो पार्टीलाई नजिकबाट नियालिरहेका एक विश्लेषकले भने, ‘त्यही भएर रविको पछिल्लो जोड कम्तीमा एक सिट प्रत्यक्षमा जित्नेमा केन्द्रित छ।’

होला उथलपुथल?
२०७४ को चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहेकोमा १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो। त्यसबेला ६८ दशमलब ६३ प्रतिशत मत खसेको थियो।

त्यसबेला थ्रेस होल्ड कटाएकामध्ये एमाले ३१ लाख ७३ हजार ४९४ मत समानुपातिक तर्फ पाएर पहिलो दल बनेको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो।

माओवादी केन्द्र १३ लाख ३ हजार ७२१ मत पाएर तेस्रो अवस्थामा रहँदा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २५४ मत समानुपातिकतर्फ पाएको थियो।

यसैगरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ मत समानुपातिकतर्फ पाएको थियो।

तर, अहिले अवस्था उही छैन। दलहरुप्रतिको असन्तुष्टि, काठमाडौं, धरान र धनगढी उपमहानगरमा स्वतन्त्रले जितेर ल्याएको लहरले मतदाताको मनोविज्ञानलाई प्रभावित तुल्याएको छ।

यही अवस्थामा आफू बलियो हुन सक्ने राप्रपाको विश्वास छ। तर ठूला दलहरुले पनि समानुपातिकतर्फ बलियो हुने दाबी गरिरहेका छन्। कांग्रेस, एमाले र माओवादीले पहिलेको भन्दा यसपटक समानुपातिक मत बढ्ने आकलन गरेका छन्।

प्रत्यक्षमा कम सिट जिते पनि समानुपातिकमा मत बढ्ने एमालेको विश्लेषण छ।

‘हामीले स्थानीय तहमा पाएको भन्दा ६ प्रतिशत बढी समानुपातिकमा ल्याउँछौं,’ एमाले उपमहासचिव विष्णु रिमालले भने।

माओवादी केन्द्रले १६ लाख बढी समानुपातिक मत पाउने माओवादीका प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले बताए।

‘यसपटक हाम्रो पार्टीलाई समानुपातिकमा १६ लाखदेखि माथि मत खस्छ,’ महराले भने, ‘देशैभर मत त्यसैगरी मागेका छौँ।’

एकीकृत समाजवादीले संसदको चौथो ठूलो दल बन्ने दाबी गरेको छ।

‘प्रत्यक्षमा राम्रो जित्छौं, समानुपातिकमा पनि राम्रो मत ल्याएर संसदको चौथो शक्ति बन्छौं,’ उपमहासचिव गंगालाल तुलाधरले भने, ‘देशभर हामीले समानुपातिक मतकै लागि माहोल बनाएका छौँ।’

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुराना दलले विश्वास गुमाएको, नयाँ स्वतन्त्रलाई विश्वास गरिहाल्ने अवस्था नभएकाले आफूहरुले बढी मत पाउने दाबी गरे।

‘समानुपातिकमा हामी पहिलो पार्टी हुन्छौँ,’ श्रेष्ठले भने, ‘राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि आकर्षण बढ्यो। राजतन्त्र पक्षधर मत दायाँबायाँ हुँदैन, धेरै क्षेत्रमा उम्मेदवार भएकाले पनि बलियो मत पाउँछौं।’

तर, श्रेष्ठले भनेझैँ राप्रापको शक्तिमा नाटकीय वृद्धि देखिने आधार नभएको विश्लेषकहरु बताउँछन्।

कात्तिक २८, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.