ad ad

राजनीति


बागमतीका २१ क्षेत्रमा गठबन्ध ‘ग्रिन जोन’ मा, १२ क्षेत्रमा एमालेको कडा टक्कर

बागमतीका २१ क्षेत्रमा गठबन्ध ‘ग्रिन जोन’ मा, १२ क्षेत्रमा एमालेको कडा टक्कर

सागर न्यौपाने
कात्तिक ३०, २०७९ बुधबार १०:४१, काठमाडौँ

२०७४ मा भएको चुनावमा बागमती प्रदेशमा पर्ने प्रतिनिधि सभाका ३३ निर्वाचन क्षेत्रमध्ये २० क्षेत्र जितेर नेकपा एमाले पहिलो दल बनेको थियो। त्यसबेला एमालेसँग गठबन्धन बनाएको माओवादी केन्द्रले ७ क्षेत्र जित्दा नेपाली कांग्रेसले ५ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको थियो।

अहिले परिस्थिति ठिक उल्टो भएको छ। यतिबेला एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र, एमालेबाट फुटेको एकीकृत समाजवादी र कांग्रेसले पाँच दलीय गठबन्धन बनाएको छ। त्यसैले आगामी निर्वाचनको नतिजामा व्यापक हेरफेर हुने पक्का छ।

गठबन्धनबाट बागमतीका ३३ मध्ये १८ मा कांग्रेस, ११ मा माओवादी केन्द्र र ४ मा एकीकृत समाजवादीबीच भागबण्डा भएको छ। काठमाडौँ १० मा कांग्रेस र माओवादी दुवैले उम्मेदवार उठाएका छन्।

३३ मध्ये २१ सिटमा सत्ता गठबन्धन ‘ग्रिन जोन’ मा अर्थात् जित्ने अवस्थामा देखिन्छ। तर सत्ता गठबन्धन र सुरक्षा निकायका मंगलबारसम्मका रिपोर्टहरूमा भने बागमतीका २३ सिटमा गठबन्धनका उम्मेदवारलाई ‘ग्रिन जोन’ मा देखाइएको छ। 

सत्ता गठबन्धन र सुरक्षा निकायका पछिल्ला रिपोर्ट तथा २०७४ र स्थानीय निर्वाच परिणामको आधारमा विश्लेषण गर्दा उम्मेदवारी दिएका १८ मध्ये १० क्षेत्रमा कांग्रेस निकै अगाडि छ। त्यस्तै, उम्मेदवारी दिएका ११ मध्ये ७ क्षेत्रमा माओवादी केन्द्र अगाडि देखिन्छ भने एकीकृत समाजवादी ४ वटै क्षेत्रमा अगाडि छ।

कांग्रेस ‘ग्रिन जोन’ मा रहेका ११ क्षेत्र 
काठमाडौं १, ३, ४, ५, ६ र १० सहित नुवाकोट २, धादिङ २, सिन्धुपाल्चोक २, काभ्रे २, रामेछाप, सिन्धुली १, मकवानपुर १, चितवन १ र २, रसुवा, ललितपुर १, भक्तपुर २ मा कांग्रेसका उम्मेदवार छन्। 

गत ३० वैशाखको स्थानीय चुनावको परिणाम, त्यसबेला गठबन्धनमा भएको भोट ट्रान्सफर, २०७४ को प्रतिनिधि सभामा चार दलले प्राप्त गरेका मत र संगठन सबै पक्षलाई हेर्दा कांग्रेस ११ क्षेत्रमा ‘ग्रिन जोन’ अर्थात् जित नजिक छ। ती क्षेत्र हुन्– काठमाडौं ४, ६ र १०, भक्तपुर २, सिन्धुपाल्चोक २, काभ्रे २, धादिङ २, ललितपुर १, रामेछाप, रसुवा, र सिन्धुली १।

कांग्रेस र एमोलबीच तीव्र प्रतिस्पर्धा हुने ७ क्षेत्रमा नतिजा अनिश्चित देखिन्छ। जसमा काठमाडौं १, ३, ५, मकवानपुर १, चितवन १ र २ तथा नुवाकोट २ पर्छन्।यद्यपी काठमाडौँ १ लाई गठबन्धन र सुरक्षा निकायले ‘ग्रिन जोन’ राखेका छन्। 

कांग्रेसलाई जित्न कठिन क्षेत्र
चितवन २
चितवन २ मा कांग्रेसका उमेश श्रेष्ठ ‘रेड जोन’म छन्। उनी त्यहाँ राजनीति गरेका नेता हैनन्। उनी सबै निर्वाचन क्षेत्रका मतदातासम्म नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले घरदैलो गरिसकेका थिए।

गठबन्धनसँग बिच्किएका त्यहाँका कांग्रेस कार्यकर्ताका कारण बलियो संगठन र मत भए पनि श्रेष्ठले सबैको मत पाउने सम्भावना कम छ। सुरक्षा निकायका केही रिपोर्टमा पनि उमेश श्रेष्ठलाई ‘एल्लो जोन’ मा राखिएको छ। 

यहाँ एमालेका कृष्णभक्त पोखरेलको उम्मेदवारी छ। अझै पाँच दिन बाँकी रहेकोले चितवन २ मा परिस्थिति बदलिने कांग्रेस नेताहरु दाबी गर्छन्।

‘हाम्रो पक्षमा माहोल निकै बढिसकेको छ,’ कांग्रेस चितवन जिल्ला उपसभापति राजीव न्यौपानेले भने, ‘पहिले असन्तुष्ट साथीहरु पनि प्रचारमा हिँड्नुभएको छ, गठबन्धन एकढिक्का छ।’

माओवादी र एकीकृत समाजवादीले पनि क्षेत्र नम्बर २ मा कांग्रेसका श्रेष्ठ जिताउन मरिमेटेर लागेको उनले दाबी गरे।

काठमाडौं १
कांग्रेसबाट निवर्तमान सांसद प्रकाशमान सिंह उठेको काठमाडौं १ मा रमेश खरेल, पुकार बम, रवीन्द्र मिश्र तथा नेकपा एमालेसँगको प्रतिस्पर्धाले परिणाम प्रक्षेपण गर्न कठिन भएको हो। 

स्वतन्त्र उम्मेदवारले ज्यादा चर्चा पाएको यो क्षेत्रमा कांग्रेसको सांगठनिक मत पुरै उसैलाई खस्ने सम्भावना कम छ।  

सिंहले बढाउँदै लगेको चुनावी महोल, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट आउने मतले उनलाई जित निकाल्न सहज हुँदै त गएको देखिन्छ, तर धेरै उम्मेदवारले मत खोस्दा यसै भन्न सक्ने अवस्था छैन। गठबन्धन र सुरक्षा निकायले यो क्षेत्रमा प्रकाशमान सिंहलाई ‘ग्रिन जोन’ राखेका छन्। 

काठमाडौं ३
कांग्रेसका सन्तोष चालिसे यो क्षेत्रमा उम्मेदवार छन्। उनलाई गठबन्धनको साथ छ। 

स्थानीय तहको परिणामअनुसार कांग्रेसका वडाध्यक्षले काठमाडौं ३ मा पाएको मत १५ हजार ७९५ छ। यस्तै माओवादी केन्द्रले १ हजार ७३०, एकीकृत समाजवादीले १ हजार ५६ मत पाएको छ। यसलाई आधार मान्दा यो क्षेत्रमा गठबन्धन राम्रो अवस्थामा छ। 

तर, एमालेका वडाध्यक्षले पनि स्थानीय तहमा १४ हजार ८७६ मत पाएका छन्। यस्तै राप्रपाले १ हजार ३१४ मत ल्याएको छ। त्यसबाहेक कृष्णबहादुर राई सो क्षेत्रमा चर्चित अनुहार हुन्।

२०७४ मा गठबन्धनबाट राई १९ हजार १६९ मत पाएर जितेका थिए भने कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन्।

काठमाडौं महानगरपालिकाको वडा नं ६, कागेश्वरी नगरपालिकाको वडा नं १, २ र ३ तथा गोकर्णेश्वर नगरपालिकाका सबै वडा यो क्षेत्रमा पर्छन्। यहाँ ८ जना स्वतन्त्रसहित २३ उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवारले चालिसे र राई दुवैको मत काट्ने निश्चित छ। त्यसबेला परिणाम अनुमान गरेभन्दा फरक आउनसक्छ।

काठमाडौं ५
काठमाडौं ५ मा कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्वतन्त्रकी रञ्जु दर्शना सहित ३० उम्मेदवार यहाँ प्रतिस्पर्धामा छन्।

त्यसबाहेक विगतमा कांग्रेसमै राजनीति गरेका प्रणयशमशेर राणाको स्वतन्त्र उम्मेदवारीले पौडेललाई अप्ठेरो पार्नेछ। राणा घण्टी चिन्ह लिएर उठेका छन्। युवा मत तान्न सक्ने अर्की स्वतन्त्र उम्मेदवार हुन् रञ्जु दर्शना।

२०७४ मा काठमाडौं महानगरपालिकाको मेयर उठेकी उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन्। त्यही भएर उनले काट्ने मतले पनि परिस्थिति बदल्न सक्छ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा एमालेका ईश्वर पोखरलले १० हजार अन्तरले (२३ हजार २९ मत ल्याएर) कांग्रेस नेता प्रकाशशरण महतलाई हराएका थिए। महतले १३ हजार १६९ मत मात्र पाए। यो कांग्रेसको निश्चित मत हो। अहिले यसमा एक हजार मत थपिएको कांग्रेसको अनुमान छ। 

तर, ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा गठबन्धनभन्दा बढी मत एमालेले पाएको छ। उसले १९ हजार २२९ मत पाएको छ। कांग्रेसले १४ हजार ५३२, राप्रपाले २ हजार ७३९, एकीकृत समाजवादीले १ हजार ५५३, माओवादी केन्द्रले १ हजार १३९ मत पाएका थिए।

काठमाडौं–५ मा काठमाडौं महानगरको वडा नं २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्छन्। 

गठबन्धनका सबै दलको मत पौडेललाई खस्ने सम्भावना छ। तर, त्यस क्षेत्रमा राप्रपाको आफ्नै उम्मेदवार भएकोले उसले पनि मत काट्दा नतिजा फरक आउन सक्छ।

मकवानपुर १
मकवानपुर १ मा कांग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना) गठबन्धनकी उम्मेदवार हुन्। तर, राप्रपाका दीपक सिंह, एमालेको समर्थन पाई सूर्य चिह्नबाट उठेका कमल थापाको कारण चुनावी नतिजा अनिश्चित छ।

गठबन्धनका माओवादी र एकीकृत समाजवादीको मत राम्रै खस्दा कांग्रेस उम्मेदवारले जित्ने सम्भावना छ। 

चितवन १
कांग्रेसको आन्तरिक विश्लेषणमा यो क्षेत्रबाट उम्मेदवारी दिएका विश्व पौडेल अहिलेसम्म दबाबमा छन्। 

एमालेका सुरेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालको उम्मेदवारीले पौडेल दबाबमा परेका हुन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादीको पुरै मत ट्रान्सफर हुँदा पौडेल असुरक्षित छैनन्।

सो क्षेत्रमा कांग्रेसले आफ्नै संगठन प्रभावकारी रुपमा परिचालन गर्न सकेको छैन। 

नुवाकोट २
नुवाकोट २ मा उम्मेदवार छन् अर्जुननरसिंह केसी। उनको उम्मेदवारीको विषयमा कांग्रेसभित्रै असन्तुष्टि छ। केसी २०७४ को चुनावमा एमालेका नारायण खतिवडासँग १० हजार बढी मतले पराजित भएका थिए। 

माओवादी–एमाले गठबन्धन उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत पाई चुनाव जित्दा केसीले २६ हजार ३ सय ३५ मत मात्र ल्याए। 

तर, पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचन परिणाम कांग्रेसको पक्षमा छ। सो क्षेत्रमा वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेसले २९ हजार ८ सय ६१ मत ल्याएको छ। माओवादी केन्द्रकोे १६ हजार ६७ मत छ। एकीकृत समाजवादीले ९ सय ६१ मत पाएको थियो। 

एमालेले २६ हजार ३ सय ६६ मत पाएको छ। राप्रपाले २ हजार २ सय ११ मत ल्यायो। तर, पार्टीभित्रको अन्तसंघर्ष र पटकपटक उम्मेदवारी दिएका केसीप्रतिको असन्तुष्टि प्रकट भए उनलाई चुनाव जित्न मुस्किल पर्ने देखिन्छ।

माओवादीले जित्ने ७ क्षेत्र 
माओवादीले ललितपुर ३, काभ्रे १, नुवाकोट १, दोलखा, सिन्धुली २, चितवन ३, सिन्धुपाल्चोक १ र भक्तपुर १, काठमाडौं २, ७, ९ र १० गरी बागमतीका १२ क्षेत्रमा उम्मेदवार उठाएको छ। काठमाडौं १० बाहेक सबै क्षेत्रमा गठबन्धन छ। १० मा माओवादीले मैत्रीपूर्ण प्रतिस्पर्धा गरेको छ। 

गठबन्धन दलहरूको आकलन, सुरक्षा निकायका रिपोर्ट र पछिल्लो चुनावी माहोल विश्लेषण गर्दा ललितपुर ३, काठमाडौं ७, नुवाकोट १, काभ्रे १, सिन्धुली २, सिन्धुपाल्चोक १ र दोलखामा माओवादी जित नजिक छ।

काठमाडौं २ मा माओवादी उम्मेदवार ओनसरी घर्ती अहिलेसम्म बलियो अवस्थामा छिन्।माओवादीले काठमाडौँ २ लाई कांग्रेसको भोट ट्रान्सफरको एउटा मापदण्ड बनाउन खोजेको छ। गठबन्धन दलहरूको विश्लेषणमा कांग्रेसको भोट राम्रोसँग ट्रान्सफर भएको अवस्थामा घर्ती विजयी हुनेछिन्। 

काठमाडौं ९, १०, चितवन ३ र भक्तपुर १ मा भने माओवादी ‘एल्लो जोन’ मा छ।

काठमाडौं १० मा मैत्रीपूर्ण प्रतिस्पर्धा भएकाले एमाले, कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा छ। त्यहाँ अहिलेसम्म कांग्रेस अगाडि छ। यो क्रम ४ गतेसम्म कायम रहन्छ कि रहँदैन यसै भन्न सकिन्न।

कांग्रेसको सबै मत ट्रान्सफर भए काठमाडौं ९ जित्ने सम्भावना अझै रहेको माओवादीका नेताहरु बताउँछन्। गठबन्धनसँग २१ हजार १६८ मत छ। तर, अघिल्लो चुनावमा सो क्षेत्रमा एमाले बलियो थियो। एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार ८५२ मत पाएर निर्वाचित हुँदा कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत मात्र पाएका थिए। 

स्थानीय तह निर्वाचनको वडाअध्यक्षले पाएको मतअनुसार कांग्रेसको १९ हजार ९१६, माओवादीको ६९५, एकीकृत समाजवादीको ४६५ मत देखिन्छ। 

एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१ र जसपाले ९२ मत छ। त्यही भएर सो क्षेत्रमा माओवादी उम्मेदवार कल्पना धमलालाई गाह्रो पर्ने देखिन्छ। 

समाजवादीका ४ वटै सिट सुरक्षित 
नेकपा एकीकृत समाजवादी पार्टीले धादिङ १, मकवानपुर २, ललितपुर २ र काठमाडौँ ८ समेत ४ क्षेत्रमा उम्मेदवार उठाएको छ।

कांग्रेस–माओवादीको ५० प्रतिशत मत ट्रान्सफर भए यी सबै क्षेत्रमा समाजवादी जित्ने जित्ने देखिन्छ। यसमध्ये तीव्र प्रतिस्पर्धा हुने ठानिएको काठमाडौं ८ मा कांग्रेसको मत निर्णायक छ।

२०७४ मा सो क्षेत्रमा तत्कालीन एमालेका नेता जीवनराम श्रेष्ठ १३ हजार ३९७ ल्याई जित्दा कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए। 

अहिले एकीकृत समाजवादीसहित माओवादी केन्द्र र कांग्रेसको गठबन्धन छ। एमालेबाट शिवसुन्दर राजवैद्य र स्वतन्त्रबाट सुमन सायमी बलिया प्रतिस्पर्धी हुन्। 

यो निर्वाचन क्षेत्रमा स्थानीय तहमा वडा अध्यक्षको मत कांग्रेसको १० हजार ८७२, एमालेको ९ हजार २३५, एकीकृत समाजवादीको ५ हजार १४२, माओवादीको १८९ आएको थियो।

यसलाई हेर्दा एमालेको भन्दा गठबन्धनको ७ हजार ६५ मत बढी छ। यही मत कायम राख्न सके समाजवादीबाट श्रेष्ठले जित्न सक्छन्।

मकवानपुर २ का विरोध खतिवडा र ललितपुर २ मा कृष्णलाल महर्जन यसअघि जितेकै उम्मेदवार हुन्। धादिङ १ मा भने बागमती प्रदेशको मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डे उम्मेदवार छन्। उनलाई गठबन्धनको अधिकांश मत खस्ने गठबन्धनका नेताहरु दाबी गर्छन्।

यसरी हेर्दा बागमतीका ३३ मध्ये २१ क्षेत्रमा गठबन्धनले जित हात पार्ने सम्भावना छ। अन्य १२ क्षेत्रमा एमाले नेतृत्वको गठबन्धनका उम्मेदवारसँग कडा प्रतिस्पर्धा देखिएको छ।

बागमतीका १३ जिल्लामा सत्ता गठबन्धनका चार दल, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ३६ दल र ६ सय ६८ उम्मेदवार प्रतिस्पर्धामा छन्। बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता छन्।

नेपालखबर चुनाव ब्रिफिङ :

मधेशका २१ सिटमा सत्ता गठबन्धन, ७ वटामा एमाले–जसपा जित नजिक

कर्णालीका ८ क्षेत्रमा गठबन्धनको जित सुनिश्चित, चार क्षेत्र ‘एल्लो जोन’ मा

गण्डकीका ८ क्षेत्रमा गठबन्धनको जित पक्का, बाँकी १० क्षेत्रमा पनि एमाले ‘रेड जोन’ मा

सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .