ad ad

राजनीति


प्रदेश १ मा सत्ता गठबन्धन १८, एमाले १० सिटमा जित नजिक

गठबन्धनको आकलन : १३ ‘ग्रिन जोन’, ११ ‘एल्लो जोन’ र ४ ‘रेड जोन’
प्रदेश १ मा सत्ता गठबन्धन १८, एमाले १० सिटमा जित नजिक

केशव सावद
मंसिर १, २०७९ बिहिबार ८:३१, काठमाडौँ

मुलुक संघीयतामा गइसकेपछि दोस्रो निर्वाचन हुनै लाग्दा पनि प्रदेश १ को नामाकरण हुन सकेको छैन। पूर्वका १४ जिल्लाको भूगोल समायोजन गरेर प्रदेश–१ बनाइएको छ। 

यो प्रदेशमा ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवा सभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, इलामका २, उदयपुरका २, सुनसरीका ४, झापाका ५ र मोरङका ६ गरी २८ प्रतिनिधि सभा क्षेत्र रहेका छन्। 

जसमध्ये सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले १९ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य उम्मेदवार खडा गरेको छ। साझेदार दलहरु नेकपा माओवादी केन्द्रले ७ र नेकपा एकीकृत समाजवादीले २ निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन्।  

सत्ता गठबन्धनले गरेको भागबण्डामा पाँचथर, इलाम–२, संखुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर–१, झापा–२ बाहेकका ४ क्षेत्र, मोरङ–१ र ५ बाहेक ४ क्षेत्र तथा सुनसरी–१ बाहेकका ३ निर्वाचन क्षेत्र कांग्रेसको भागमा परेका छन्। ताप्लेजुङ, भोजपुर, खोटाङ, झापा–२, मोरङ–४, मोरङ–५, सुनसरी–१ माओवादी केन्द्रले तथा इलाम–१ र उदयपुर–२ एकीकृत समाजवादीले पाएको छ। 

कांग्रेसले पाँचथरमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे, इलाम–२ मा डम्बर खड्का, संखुवासभामा दीपक खड्का, तेह्रथुममा सीता गुरुङ, धनकुटामा सुनिलबहादुर थापा, सोलुखुम्बुमा बलबहादुर केसी, ओखलढुंगामा रामहरि खतिवडा र उदयपुर–१ मा डा. नारायण खड्का उम्मेदवार बनाएको छ। 

यस्तै, झापा–१ मा महामन्त्री विश्वप्रकाश शर्मा, झापा–३ मा कृष्णप्रसाद सिटौला, झापा–४ मा देउकुमार थेवे, झापा–५ मा डा. खगेन्द्र पाण्डव अधिकारी, मोरङ–१ मा डिगबहादुर लिम्बु, मोरङ–२ मा सुजाता कोइराला, मोरङ–३ मा डा. सुनिल शर्मा, मोरङ ६ मा डा. शेखर कोइराला, सुनसरी–२ मा सीताराम मेहता, सुनसरी–३ मा विजयकुमार गच्छदार र सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की कांग्रेसका तर्फबाट उम्मेदवार छन्।  

ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, भोजपुरमा सुदन किराँती, खोटाङमा रामकुमार राई, झापा–२ हरिकुमार रानामगर, मोरङ–४ मा अमनलाल मोदी, मोरङ–५ मा शिवकुमार मण्डल (केवट), सुनसरी–१ मा मुक्सामहाङ्ग सुब्बा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार छन्।

सत्ता गठबन्धनले इलाम–१ मा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र उदयपुर–२ मा एकीकृत समाजवादीकै प्रवक्ता जगन्नाथ खतिवडालाई साझा उम्मेदवार बनाएको छ। 

एमालेले ताप्लेजुङमा योगेशकुमार भट्टराई, पाँचथरमा वसन्तकुमार नेम्वाङ, धनकुटामा राजेन्द्रकुमार राई, तेह्रथुममा विजय सुब्बा, संखुवासभामा राजेन्द्रप्रसाद गौतम, भोजपुरमा शेरधन राई, सोलुखुम्बुमा मानवीर राई, ओखलढुंगामा यज्ञराज सुनुवार र खोटाङमा विशाल भट्टराईलाई खडा गरेको छ। 

इलाम–१ मा महेश बस्नेत, इलाम–२ मा सुवासचन्द्र नेम्वाङ, उदयपुर–१ मा मञ्जुकुमारी चौधरी, उदयपुर–२ मा अम्बरबहादुर रायमाझी, सुनसरी–२ मा भीमप्रसाद आचार्य, सुनसरी–३ मा भगवती चौधरी र सुनसरी–४ मा जगदीशप्रसाद कुसियत एमालेका तर्फबाट उम्मेदवार छन्।  

झापा–१ मा अग्निप्रसाद खरेल, २ मा देवराज घिमिरे, ४ मा लालप्रसाद साँवा लिम्बू, ५ मा अध्यक्ष केपी शर्मा ओली, र मोरङ–१ मा घनश्याम खतिवडा, २ मा ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल, ४ मा विनोदप्रसाद ढकाल तथा ६ मा लालबाबु पण्डित एमालेका तर्फबाट प्रतिनिधि सभा निर्वाचन लड्दैछन्।  

एमालेले झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई, सुनसरी–१ मा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोककुमार राई, र मोरङ–५ मा जसपाका राजकुमार यादवलाई सघाइरहेको छ। 

झापा–३ मा अध्यक्ष लिङ्देनलाई सघाएपछि राप्रपाले झापाका अन्य निर्वाचन क्षेत्रमा एमालेलाई सघाउन उम्मेदवार उठाएको छैन। यस्तै, जसपाले सुनसरी र मोरङमा एमालेका उम्मेदवारलाई सघाइरहेको छ। 

गत स्थानीय निर्वाचनको नतिजाअनुसार सत्ता गठबन्धन प्रदेश १ का २८ मध्ये १८ सिटमा अगाडि देखिन्छ। एमाले नेतृत्वको गठबन्धन भने १० सिटमा अगाडि छ। झापा र सुनसरीमा एमालेको वर्चस्व देखिँदा मोरङ र पहाडी जिल्लाहरुमा सत्ता गठबन्धनको पकड देखिन्छ।

तर सत्ता गठबन्धनले सुरक्षा निकायका रिपोर्ट र आफ्नो जिल्ला तहका रिपोर्टका आधारमा मंगलबार तयार गरेको एक प्रतिवेदनमा भने प्रदेश १ मा १३ क्षेत्रलाई मात्रै ‘ग्रिन जोन’ अर्थात जितिने सूचीमा राखेको छ। 

झापा
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा झापा–१ मा एमाले ३१,२३२, कांग्रेस २४,०५९, राप्रपा ५,९२२, माओवादी ३,९०५, एकीकृत समाजवादीे १,२५२ र लोसपाको १६२ मत छ। जसअनुसार यहाँ एमाले र राप्रपाको कुल मत ३७ हजार १५४ देखिन्छ। जुन कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको भन्दा ७ हजार ७७६ ले बढी हो। 

यहाँ सत्ता गठबन्धनबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेबाट अग्निप्रसाद खरेलबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ। यो क्षेत्रमा दलीयतर्फ १२ र ३ स्वतन्त्र गरी १५ उम्मेदवार प्रतिनिधि सभा सदस्यका लागि चुनावी स्पर्धामा उत्रिएका छन्। 

२०७४ को निर्वाचनमा कांग्रेस महामन्त्री शर्मा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए। उक्त निर्वाचनमा कार्कीले ३६ हजार १७३ र शर्माले ३३ हजार ३१० मत पाएका थिए।

शर्मा र खरेलबीच चर्को प्रतिस्पर्धा रहेको यो क्षेत्रमा कस्तो परिणाम निस्कन्छ भन्ने टुंगो छैन। त्यसैले यो क्षेत्र ‘एल्लो जोन’ मै छ। 

झापा–२ मा एमाले ३६,३९६, कांग्रेस ३२,६७२, राप्रपा ९,५३१, माओवादी २,४३७, जसपा ५०६ र एकीकृत समाजवादीको १७३ मत छ। यहाँ एमाले र राप्रपाको मत ४५ हजार ९२७ छ भने सत्ता गठबन्धनको ३५ हजार २८२ मत देखिन्छ। झापा–२ मा एमाले नेतृत्वको गठबधन सत्ता गठबन्धनभन्दा १० हजार ६४५ मतले अगाडि छ। 

यहाँ पनि सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार हरिकुमार राना मगर र एमाले उम्मेदवार देवराज घिमिरेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपि, यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रप्रसाद नेपालको पनि मतदातामाझ राम्रो प्रभाव छ। उनी स्वागत नेपालका नामले चिनिन्छन्। 

२०७४ को निर्वाचनमा झापा–२ मा एमाले नेतृ पवित्रा निरौला खरेल विजयी भएकी थिइन्। उनी ४५ हजार ८१७ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा कांग्रेस उम्मेदवार उद्धव थापाले ३२ हजार ५० मत पाएका थिए। 

झापा–३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र एमालेको साथ पाएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आमनेसामने छन्। २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा लिङ्देन ४४ हजार ६१४ मतसहित विजयी भएका थिए। सिटौलाको पक्षमा ३१ हजार १७१ मत खसेको थियो। 

गत स्थानीय तह निर्वाचन परिणाम अनुसार यहाँ कांग्रेसको २५ हजार ९४९, राप्रपाको २१ हजार १५९, एमालेको २१ हजार ८५, माओवादीको ६ हजार ६८८, जसपाको ५३७ र लोसपाको २०८ मत छ। जसअनुसार यहाँ सत्ता गठबन्धनको ३२ हजार ८४५ र एमाले–राप्रपाको ४२ हजार २४४ मत छ। यो क्षेत्रमा पनि एमाले नेतृत्वको गठबन्धन ९ हजार ३९९ मतले अगाडि देखिन्छ। 

झापा–४ मा एमाले ३१,२७२, कांग्रेस २८,१६५, माओवादी ६,३८२, राप्रपा ४,५५६, एकीकृत समाजवादी ७०२, लोसपा २४८ र जसपाको ११० मत छ। यो क्षेत्रमा एमाले–राप्रपाको ३५ हजार ८२८ र सत्ता गठबन्धनको ३५ हजार २४९ छ। यहाँ एमाले नेतृत्वको गठबन्धन मात्र ५७८ मतले अघि छ। 

यो क्षेत्रमा एमालेले लालवप्रसाद सावाँ लिम्बु र कांग्रेसले देउकुमार थेवेलाई उठाएका छन्। यो उनीहरुबीचको दोस्रो भेट हो। २०७४ मा लिम्बु ४३ हजार ५१५ मतसहित विजयी हुँदा थेवेले २६ हजार ८२२ मत ल्याएका थिए। अहिले पनि यो क्षेत्रमा एमाले नै जित नजिक छ। 

झापा–५ एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र हो। यहाँ कांग्रेसले उनीविरुद्ध डा. खगेन्द्र पाण्डव अधिकारीलाई अघि सारेको छ। यो क्षेत्रमा दलीयतर्फ १३ र १२ स्वतन्त्र उम्मेदवार छन्। यो क्षेत्रमा युग पाठक नामले चिनिने राजनीतिक विश्लेषक दीपककुमार पाठक पनि उम्मेदवार छन्।

२०७४ को निर्वाचनमा ओली ५७ हजार १३९ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अधिकारीले १८ हजार २९७ मत प्राप्त गरेका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचको परिणामअनुसार झापा–५ मा एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र एकीकृत समाजवादीको १ हजार ९८८ छ। यो क्षेत्रमा एमाले–राप्रपाको ४९ हजार ९७२ मत छ। जुन सत्ता गठबन्धनभन्दा १५ हजार १७४ ले बढी हो।

यो क्षेत्रमा एमाले अध्यक्ष ओलीको जित सुनिश्चित छ। 

सुनसरी
सुनसरी–१ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता मुक्सामहाङ्ग सुब्बा र एमालेको समर्थनमा जसपाका नेता अशोककुमार राई प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा दलका ९ र ११ स्वतन्त्र गरी २० उम्मेदवारहरु उठेका छन्।

२०७४ को निर्वाचनमा एमालेका जयकुमार राई ४४ हजार ५२८ मतसहित विजयी भएका थिए। तत्कालीन संघीय समाजवादी फोरमबाट लडेका अशोककुमार राईको २२ हजार १२३ मत आएको थियो। 

स्थानीय तह निर्वाचन परिणाममा सुनसरी–१ मा एमालेको ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको ७ हजार १८, राप्रपाको ४ हजार ७४, जसपाको २ हजार ६४९ मत देखिन्छ। यहाँ एमाले–जसपाको कुल मत ३६ हजार १०३ छ। जुन सत्ता गठबन्धनभन्दा २ हजार ४२१ ले बढी हो।

सुनसरी–२ मा कांग्रेस उम्मेदवार सीताराम महतो र एमालेका उम्मेदवार भीमप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुने देखिन्छ। यहाँ राजनीतिक दलआबद्ध १६ र स्वतन्त्र ११ गरी २७ जना उम्मेदवार छन्।

२०७४ मा कांग्रेसका अहिलेका उम्मेदवार महतो माओवादी उम्मेदवार डम्मरु सुवेदीलाई हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। महतोले ४१ हजार ४९५ र सुवेदीले ३५ हजार ३४९ मत लयाएका थिए।  

यहाँ कांग्रेसको पक्षमा ३७ हजार ७३७, एमालेको पक्षमा ३६ हजार ४७२, जसपाको पक्षमा ७ हजार ८५५, माओवादीको पक्षमा ३ हजार २५०, राप्रपाको पक्षमा ३ हजार ११०, एकीकृत समाजवादीको पक्षमा २ हजार ११९ मत छ। यहाँ एमाले–जसपा गठबन्धन सत्ता गठबन्धनभन्दा १ हजार ४९१ मतले अगाडि छ।  

सुनसरी–३ मा कांग्रेस नेता विजयकुमार गच्छदार र एमाले नेत्री भगवती चौधरी फेरि आमनेसामने भएका छन्। २०७४ मा पनि उनीहरुबीच नै प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनमा गच्छदार झिनो मतले विजयी भएका थिए। गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेका थिए। 

सुनसरी–३ मा एमालेको ३५ हजार ५३, कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हजार ५१६, माओवादीको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१, एकीकृत समाजवादीको ६२६ मत देखिन्छ। यो क्षेत्रमा एमाले–जसपा गठबन्धन सत्ता गठबन्धनभन्दा २ हजार ५७२ मतले बलियो छ।  

सुनसरी–४ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र हो। यहाँ एमालेले जगदीशप्रसाद कुसियतलाई उम्मेदवार बनाएको छ। २०७४ को निर्वाचनमा ३२ हजार ३४७ मतसहित कार्की विजयी भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी एमाले नेता रमेश श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए। 

स्थानीय तह निर्वाचनको मतपरिणामले सुनसरी–४ मा भने सत्ता गठबन्धन २ हजार ६२६ मतले अगाडि देखिएको छ। स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले २८ हजार ७५६, एमालेले २३ हजार ६१३, जसपाले ९ हजार ८६३, एकीकृत समाजवादीले ३ हजार ७००, माओवादीले ३ हजार ६४६ मत पाएका थिए।

सुनसरीका ४ वटै क्षेत्र गठबन्धनले जित्ने सूचीमा राखे पनि १ र ३ गठबन्धन र एमाले दुवैका लागि ‘एल्लो जोन’ मा छन्। 

मोरङ
मोरङ–१ मा एमालेका घनश्याम खतिवडा र कांग्रेसका डिगबहादुर लिम्बुदोस्रो पटक प्रस्पिर्धामा उत्रिएका छन्। उनीहरु २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धी थिए। उक्त निर्वाचनमा खतिवडा ३७ हजार ५२४ मतसहित विजयी भएका थिए। लिम्बुले ३१ हजार ४३६ मत पाएका थिए। 

स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार मोरङ–१ मा एमालेको ३२ हजार ३६६, कांग्रेसको ३१ हजार ४१३, माओवादीको ६ हजार ५८३, राप्रपाको २ हजार ८९०, एकीकृत समाजवादीको १ हजार ९३ र जसपाको ४९४ मत छ। यो क्षेत्रमा सत्ता गठबन्धन एमाले नेतृत्वको गठबन्धनभन्दा ६ हजार २२९ मतले अगाडि छ। 

मोरङ–२ मा सत्ता गठबन्धनले कांग्रेस नेतृ सुजाता कोइरालालाई चुनावी मैदानमा उतारेको छ। यहाँ उनलाई रोक्न एमालेले ऋषिकेश पोखरेललाई अघि सारेको छ। यो क्षेत्रमा १० दलीय र ३ स्वतन्त्र उम्मेदवार प्रतिनिधि सभा सदस्यका लागि स्पर्धामा छन्। 

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता डा. मिनेन्द्र रिजाल ३५ हजार ८१९ मतसहित विजयी भएका थिए। उनीसँग प्रतिस्पर्धामा उत्रिएका एमालेका अहिलेकै उम्मेदवार पोखरेलले ३४ हजार १४ मत पाएका थिए। 

मोरङ–२ पनि सत्ता गठबन्धन ४ हजार ७३३ मतले अगाडि देखिन्छ। 

मोरङ–३ मा एमालेले साविक विजेता भानुभक्त ढकाललाई दोहोर्याएर उम्मेदवार बनाउँदा कांग्रेसले उनीसँग पराजित नेता सुनिलकुमार शर्मालाई नै उम्मेदवार बनाएको छ। २०७४ मा ढकाल ४२ हजार ४१३ मतसहित विजयी हुँदा शर्माको पक्षमा ४० हजार ५०६ मत खसेको थियो। 

यो क्षेत्रमा राप्रपाले नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री रेखा शर्मालाई उम्मेदवार बनाएको छ। यहाँ १९ जना स्वतन्त्र र १२ जना दलीय उम्मेदवारहरु छन्। 

स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार मोरङ–३ मा एमालेको ३७ हजार ४१०, कांग्रेसको ३६ हजार ९१६, माओवादीको ७ हजार ३७३, राप्रपाको २ हजार १२१, एकीकृत समाजवादीको १ हजार ८५५, जसपाको ४६३ मत छ। 

मोरङ–३ मा सत्ता गठबन्धन ८ हजार २७१ मका साथ अगाडि छ। 

मोरङ–४ मा सत्ता गठबन्धनले माओवादी नेता अमनलाल मोदीलाई उम्मेदवार बनाएको छ। यहाँ एमालेबाट विनोदप्रसाद ढकाल उम्मेदवार छन्। २०७४ को निर्वाचनमा मोदी ३३ हजार ५२९ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महेश आचार्यले २६ हजार ८०० मत पाएका थिए।  

स्थानीय तह निर्वाचन परिणामअनुसार मोरङ–४ मा एमालेको पक्षमा २५ हजार ७३०, कांग्रेसको पक्षमा २१ हजार ८९४, माओवादीको पक्षमा ९ हजार ९९०, राप्रपाको पक्षमा ४ हजार ६७४, जसपाको पक्षमा ३ हजार ११२ र एकीकृत समाजवादीको पक्षमा १ हजार २५५ मत खसेको थियो। यो क्षेत्रमा पनि सत्ता गठबन्धन २ हजार ५९२ मतले अगाडि छ। 

मोरङ–५ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता शिवकुमार मण्डल (केवट) उम्मेदवार छन्। यहाँ जसपाले एमालेको समर्थनमा राजकुमार यादवलाई उम्मेदवार बनाएको छ। २०७४ को निर्वाचनमा मण्डलले कांग्रेस नेता अमृतकुमार अर्याललाई हराएका थिए। मण्डलले २२ हजार ९४५ र अर्यालले १९ हजार १५३ मत पाएका थिए। 

यो क्षेत्रमा कांग्रेसको १९ हजार ४९८, एमालेको १५ हजार ६८०, जसपाको १३ हजार २४९, माओवादीको ११ हजार ६२८, राप्रपाको १ हजार ८८७, लोसपाको ७५२ र एकीकृत समाजवादीको ६०८ मत देखिन्छ। यहाँ पनि एमाले नेतृत्वको गठबन्धनभन्दा सत्ता गठबन्धनको २ हजार ८०५ मत बढी छ। 

मोरङ–६ मा यसपालि पनि कांग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितका बीचमा प्रतिस्पर्धा हुँदैछ। २०७४ को निर्वाचनमा पण्डित कोइरालालाई झिनो मतले पराजित गर्न सफल भएका थिए। उनी ३३ हजार ९४१ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा कोइरालाको पक्षमा ३३ हजार २६६ मत थियो। 

यहाँ कांग्रेसको २७ हजार ८६, एमालेको २४ हजार ५५६, माओवादीको ४ हजार ९९६, जसपाको ३ हजार ९३९, राप्रपाको ३ हजार ११५, एकीकृत समाजवादीको २ हजार ३५५, लोसपाको ८९५ छ। यहाँ पनि सत्ता गठबन्धन ७ हजार ६ सय ५८ मतले अगाडि छ। 

स्थानीय तहको नतिजाअनुसार झापा र सुनसरीमा एमाले नेतृत्वको गठबन्धन अगाडि देखिन्छ। झापाका पाँच वटै क्षेत्र र सुनसरीका चारमध्ये तीनमा प्रतिपक्षी गठबन्धनको मत ज्यादा छ। 

मोरङमा भने ६ वटै सिटमा सत्ता गठबन्धन अगाडि देखिन्छ। तर गठबन्धनले १, ४ र ५ लाई ‘एल्लो जोन’ मा राखेको छ। 

पहाडी जिल्लाका १३ निर्वाचन क्षेत्र : ११ मा सत्तापक्ष र २ मा प्रतिपक्ष अगाडि  
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रदेश १ का ११ जिल्लाका १३ निर्वाचन क्षेत्रमध्ये ११ मा सत्ता गठबन्धन र २ मा एमाले अगाडि देखिएको छ। 

जसअनुसार तेह्रथुममा सत्ता गठबन्धन झिनो मतले मात्रै अगाडि देखिन्छ। यहाँ सत्ता गठबन्धन र एमालेबीचको मतअन्तर मात्र ८३१ छ। ताप्लेजुङ र धनकुटामा एमाले पनि सत्ता गठबन्धनभन्दा झिनो मतले अगाडि छ। एमाले ताप्लेजुङमा २०६ र धनकुटामा ९६८ मतले मात्रै सत्ता गठबन्धनभन्दा अगाडि देखिन्छ।  

सत्ता गठबन्धन इलाम–२ मा ३ हजार ४४५, उदयपुर–२ मा ४ हजार ४ सय इलाम–१ मा ४ हजार ८८५, संखुवासभामा ६ हजार १६१ र पाँचथरमा ८ हजार ७६ मतले अगाडि छ। भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर–१ मा भने सत्ता गठबन्धन एमालेभन्दा १० हजारभन्दा बढी मतले अगाडि देखिन्छ। 

नेपालखबर चुनाव ब्रिफिङ :

बागमतीका २१ क्षेत्रमा गठबन्ध ‘ग्रिन जोन’ मा, १२ क्षेत्रमा एमालेको कडा टक्कर

मधेशका २१ सिटमा सत्ता गठबन्धन, ७ वटामा एमाले–जसपा जित नजिक

कर्णालीका ८ क्षेत्रमा गठबन्धनको जित सुनिश्चित, चार क्षेत्र ‘एल्लो जोन’ मा

गण्डकीका ८ क्षेत्रमा गठबन्धनको जित पक्का, बाँकी १० क्षेत्रमा पनि एमाले ‘रेड जोन’ मा

सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .