ad ad

राजनीति


विजय गच्छदार–भगवती चौधरीबीच दुईचोटि भइसक्यो लफडा, यसपालि के होला?

गणनामा धाँधली भयो भनेर भगवतीले हालेको रिटमा फैसला नहुँदै आइपुग्यो चुनाव
विजय गच्छदार–भगवती चौधरीबीच दुईचोटि भइसक्यो लफडा, यसपालि के होला?

केशव सावद
मंसिर १, २०७९ बिहिबार १६:६, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–३ बाट मात्र ३२१ मतले पराजित भएपछि नेकपा एमालेकी नेतृ भगवती चौधरीले २०७४ पुस ११ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। उनले पुनः मतगणनाको माग गर्दै सर्वोच्चको संवैधानिक इजलासमा रिट दायर गरेकी थिइन्। 

मुद्दा परेको तेस्रो दिन अर्थात् पुस १४ मा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्यो। तर, २०७४ को निर्वाचनमा विजयी उम्मेदवार विजयकुमार गच्छदार (नेता, नेपाली कांग्रेस) कार्यकाल पुरा गरेर अर्को निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा उत्रिसक्दा पनि मुद्दाको फैसला हुन सकेको छैन। 

उक्त निर्वाचनमा सुनसरी–३ मा ८५ हजार ३४ मत खसेको थियो। खसेको मध्ये ७२ हजार मतगणना भइसक्दा गच्छदार ६३ मतले पछाडि थिए। २९ हजार ९८८ मतगणना हुँदा २२ सय मतले गच्छदार पछाडि परेका थिए। 

३५ हजार मतगणना हुँदा गच्छदार २८ सयले पछाडि परे। झण्डै आधा मतगणना हुँदा २८ सयले पछाडि परेको अवस्थालाई उल्टाएर उनी विजयी भए। अन्तिम मतपरिणाम अनुसार एमाले नेतृ चौधरीले ३८ हजार ६५१ मत र गच्छदारले ३८ हजार ९७२ मत ल्याए।

झिनो मतले पराजित भएपछि चौधरी सर्वोच्च अदालत गएकी थिइन्। सर्वाेच्चमा दायर गरिएको मुद्दामा उनले लत्पतिएको र बदर मतपत्र समेत रुख चिह्नमा गणना गर्न लगाएको आरोप लगाएकी थिइन्। 

त्यसअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयको तालिम केन्द्रमा २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनको मतगणना चलिरहेको थियो। झण्डै ३ हजार ५०० मत गणना हुन बाँकी हुँदा एमाले नेतृ चौधरी ३६५ मतले अगाडि थिइन्। 

पर्यवेक्षक, पत्रकारहरू मतगणना स्थलभन्दा अगाडिको सानो कोठामा परिणामका लागि कुरिरहेका थिए। मतगणनास्थल बाहिर ठूलो संख्यामा दुवै पक्षका कार्यकर्ता नाराबाजी गर्दै थिए। अपरान्ह ४ बज्न लागेको थियो। एक्कासि सशस्त्र र जनपद प्रहरी बढाइयो।  मतगणनास्थल नजिकै कोठाका पत्रकार र पर्यवेक्षकलाई बाहिर निकालियो। 

बाहिर निस्कन नमान्ने पत्रकारमाथि लाठीचार्जसमेत भयो। जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालीन प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले माथिको आदेश भन्दै बल प्रयोग गरेर पत्रकारहरुलाई कोठाबाट निकाले। 

केही समय मतगणना स्थगित गरियो। पुनः सुचारु भयो। यसपछि भएको मतगणनामा ३ सय ६२ मतले गच्छदार विजयी भएको घोषणा गरियो। गच्छदारले १७ हजार ५ सय २४ मत ल्याए। भगवतीले १७ हजार १६२ मत ल्याएर पराजित भइन्। 

तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले चुनाव जित्दा कांग्रेसकी गोमा अन्सारी पराजुलीले १० हजार ८ सय ६ मत पाएकी थिइन्। ३५ सय मतगणना हुँदा सूर्य चिन्हमा खसेको ३ सय मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको थियो। 

यसअघिका दुई निर्वाचनमा अन्तिम समयमा आएर विजयी भएका गच्छदार र पराजित भएकी चौधरी यसपालि पनि सुनसरी क्षेत्र नम्बर ३ बाटै आमनेसामने छन्। दुई निर्वाचनमा ‘लफडा’ परिसकेको उक्त निर्वाचन क्षेत्रमा यस पटक कस्तो परिस्थिति बन्ला, यो जान्न मंसिर ४ कुर्नै पर्ने हुन्छ। 

मतगणना सुरु हुँदा गच्छदार पछाडि पर्ने र अन्तिम परिणाम आउँदा उल्टाएर जित्दै आएका कारण थारु समुदायका यी दुई अगुवालाई राजनीतिक आस्था र चुनावी प्रतिस्पर्धाले ‘कट्टर दुश्मन’ बनाएको छ। 

एमाले नेतृ चौधरीले २०७० र ०७४ को निर्वाचनमा गच्छदारले ‘सत्ता र शक्तिको आडमा’ हराएको आरोप लगाएकी थिइन्। यद्यपि, चौधरीको आरोपका बीच गच्छदारको विजय यात्रामा भने पूर्णविराम लाग्न सकेको छैन। उनले २०४८ सालयता निर्वाचन जित्दै आएका छन्। 

कांग्रेस नेता गच्छदारले सुनसरीबाट २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा निर्वाचन जितिसकेका छन्। उनी २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट र २०७० मा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए।

२०४८, २०५१ र २०५६ मा कांग्रेसबाटै विजयी भएका गच्छदारले २०७४ को प्रतिनिधि सभा निर्वाचनको संघारमा आफूले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए। उनी १८ पटक मन्त्री बनिसकेका छन्। जसमा गच्छदारले ५ पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। 

कांग्रेस नेता गच्छदार र एमाले नेतृ चौधरी एकै समुदायका हुन्। उनीहरुको गाउँ पनि एउटै हो। दुवै सुनसरीको तत्कालीन भलुवा गाविसमा जन्मिएका हुन्। दुहवी नगरपालिकाभित्र पर्ने भलुवामा उनीहरु छिमेकी हुन्। 

उमेर र राजनीतिक यात्राका हिसाबले गच्छदार चौधरीभन्दा सिनियर हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फको उम्मेदवारीको विवरण’ अनुसार गच्छदार ६८ र चौधरी ५१ वर्षका भए। 

२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका गच्छदार २०५२, २०५३ र २०५६ मा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजनपछि गठित नयाँ दल नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा उनी महामन्त्री भएका थिए। अघिल्लो वर्ष सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा नेता गच्छदार उपसभापतिमा धनराज गुरुङसँग २ मतले पराजित भएका थिए। संस्थापन समूहबाट उम्मेदवार बनेका गच्छदारले १ हजार ९०६ र गुरुङले १ हजार ९०८ मत ल्याएका थिए। 

सत्ता र शक्तिमा रहने गच्छदार भ्रष्टाचार मुद्दाका कारण यसपटक भने समस्यामा छन्। उनीविरुद्ध बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलनसँग सम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। २०७६ माघ २२ मा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

मुद्दा दायर भएपछि गच्छदारको सांसद पद निलम्बनमा परेको थियो। मुद्दा चलेपछि उनी फरार सूचीमा रहे पनि प्रहरीले पक्राउ भने गरेको थिएन। कांग्रेस  सभापति देउवाको नेतृत्वमा सरकार गठन भएको एक दिनपछि अर्थात् २०७८ असार २८ गते उनी विशेष अदालतमा हाजिर भएका थिए। त्यही दिन विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सुनसरी–३ मा एमाले ३५ हजार ५३ मतका साथ पहिलो दल देखिन्छ। यहाँ कांग्रेसको ३३ हजार ५७१, जनता समाजवादी पार्टी (जसपा) को ५ हजार ५१६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३ हजार ३३१ मत छ। 

यस्तै सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रको ३ हजार ८०० र नेकपा एकीकृत समाजवादीको ६२६ मत छ। यो क्षेत्रमा एमाले–जसपा गठबन्धन सत्ता गठबन्धनभन्दा २ हजार ५७२ मतले बलियो छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .