ad ad

राजनीति


‘लालकिल्ला’ भत्काएका प्रकाशमानको चौथो जित

‘हारमा ह्याट्रिक गर्न आए’ भनिएका प्रकाशमान जितेको जित्यै
‘लालकिल्ला’ भत्काएका प्रकाशमानको चौथो जित

केशव सावद
मंसिर ६, २०७९ मंगलबार १८:५४, काठमाडौँ

संघीय राजधानी काठमाडौंको मुटु मानिने क्षेत्र नम्बर १ कुनै बेला कम्युनिस्टको ‘लालकिल्ला’ मानिन्थ्यो। काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ नम्बर वडाहरु समेटेर निर्धारण गरिएको क्षेत्र नम्बर १ मा निरन्तर कम्युनिस्टहरुले जित्दै आएका थिए। तर, त्यो ‘लालकिल्ला’ २०६४ मा तोडिएको थियो। 

काठमाडौं–१ लाई कम्युनिस्टको हातबाट खोस्ने श्रेय प्रकाशमान सिंहलाई जान्छ। जो कांग्रेसका संस्थापक नेता गणेशमानका छोरा हुन्। पार्टीकै केही नेता–कार्यकर्ताको असहयोग रहँदारहँदै पनि प्रकाशमान २०६४ मा काठमाडौं–१ जित्न सफल भएका थिए।

कम्युनिस्टसँग लगातार हार्दै आएको कांग्रेस २०६४ को संविधान सभा निर्वाचनमा भारी मतका साथ विजयी भएको थियो। उक्त निर्वाचनमा साविक विजेता प्रदीप नेपालले ६ हजार ७८९ मत पाउँदा प्रकाशमानले १४ हजार ३१८ मत ल्याएका थिए। 

उनै प्रकाशमान मंगलबार फेरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै उनी चौथो पटक संसद् भवन छिर्न सफल भएका हुन्।

आइतबार सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १० मत खसेको थियो। जसमध्ये प्रकाशमानले ७ हजार १४३ र मिश्रले ७ हजार १८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, नेकपा एमालेका किरण पौडेलले ३ हजार ५३२ र नेपाल सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत ल्याएका छन्। 

२०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रकाशमानले उनै मिश्रलाई पराजित गर्दै काठमाडौं–१ मा ‘ह्याट्रिक’ गरेका थिए। उनले १० हजार ९३६ मतसहित तत्कालीन विवेकशील साझाका उम्मेदवार मिश्रलाई हराएका थिए।

मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्र थियो। नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई टिकट दिएको थियो। उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भएका थिए। एमालेले माओवादीसँग गठबन्धन गरेर अनिललाई सघाएको थियो।

त्यसअघि २०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं–१ मा प्रकाशमान र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहालबीच चुनावी प्रतिस्पर्धा भएको थियो। प्रकाशमानले रेनु दाहाललाई हराउँदै दोस्रोचोटि बाजी मारेका थिए। प्रकाशमानले १५ हजार १३८ मत पाउँदा रेनुले ४ हजार ६४ मत पाएकी थिइन्। १० वर्ष अघिसम्म वर्चस्व कायम गरेको एमाले दोस्रो स्थानमा समेत आउन सकेन। 

काठमाडौं–१ मा एमाले कमजोर देखिएको छ। २०७० सालमा रेनु दाहाल उठेका बेला कमजोर उम्मेदवार उठाएर भित्रीरुपमा प्रकाशमानलाई सघाउन खोज्दा यो क्षेत्रमा एमालेको मतदाता घट्न थालेका हुन्। 

प्रकाशमानको काठमाडौं–१ यात्रा
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचनको तयारी चलिरहेको थियो। नेपाली कांग्रेसका नेताहरु आफूले लड्दै आएको निर्वाचन क्षेत्रका मतदाता आ–आफ्नो पक्षमा पार्न प्रयासरत थिए।

राजधानी काठमाडौंको मुटुमा रहेको निर्वाचन क्षेत्र नम्बर १ मा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला लड्ने गाइँगुइँ चल्यो।

२०४८ पछिको उपनिर्वाचनमा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई हराउँदा अन्तरघात गर्ने कांग्रेसका मतदाताको बाहुल्य रहेका कारण पनि यो क्षेत्र गिरिजाप्रसाद कोइरालाका लागि छुट्टयाइएको पार्टीकै नेता–कार्यकर्ताहरु बताउँथे।

२०४८ र २०५१ का दुई वटा संसदीय निर्वाचनमा पराजय बेहोरिसकेका नेता प्रकाशमान सिंह पनि २०६४ को संविधान सभा चुनावमा सुरक्षित स्थानको खोजीमा थिए। तर, क्षेत्र नम्बर १ बाट तत्कालीन प्रधानमन्त्री कोइराला उठ्ने हल्ला सुनेर उनी निर्णयमा पुग्नसकेका थिएनन्।

एकदिन सिंह समय मागेर कोइरालालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे। उनले काठमाडौं–१ मा आफूले निर्वाचन लड्न चाहेको कुरा प्रधानमन्त्री समक्ष राखे। कोइरालाबाट सकारात्मक संकेत पाएपछि उनी बालुवाटारबाट फर्किए। र, निर्वाचनको तयारीमा जुटे। पार्टीले प्रकाशमानलाई काठमाडौं–१ को उम्मेदवार बनायो।

टिकट लिएर काठमाडौं–१ मा गए पनि उनलाई तत्कालीन संस्थापन पक्षीय नेता–कार्यकर्ताहरुले सजिलै स्वीकारेनन्। कांग्रेसकै नेता–कार्यकर्ताहरुले भने– ‘प्रकाशमान हारमा ‘ह्याट्रिक’ गर्न यहाँ आए।’

कारण थियो– २०४८ र २०५१ मा उनले निर्वाचनमा बेहोरेको पराजय। प्रकाशमानले २०४८ मा नेकपा एमालेका साहना प्रधान र २०५१ मा मनमोहन अधिकारीसँग पराजय भोगिसकेका थिए।

उनले २०४८ मा काठमाडौं–४ बाट प्रधानसँग र २०५१ मा अधिकारीसँग काठमाडौं–३ बाट प्रतिस्पर्धा गरेका थिए। २०४८ मा प्रकाशमानले १९ हजार ५०४ मत पाउँदा विजयी साहना प्रधानको पक्षमा २८ हजार ६८० मत खसेको थियो।

यस्तै, २०५१ मा अधिकारी १५ हजार ६९२ मतका साथ विजयी हुँदा उनले ११ हजार ३७८ मत प्राप्त गरेका थिए। २०५१ मा अधिकारी काठमाडौं–१ बाट पनि देशभर नै सर्वाधिक मत ल्याएर विजयी भएका थिए।

पार्टीभित्रैका नेता–कार्यकर्ताले हारमा ‘ह्याट्रिक’ गर्न आएको भनिएका प्रकाशमानले अहिले काठमाडौं–१ बाट जितमा ‘ह्याट्रिक’ गरिसकेका छन्। उनी २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लगातार तीनपटक काठमाडौं–१ बाट विजयी भइसकेका छन्।

निरन्तर घेराबन्दी, तर वर्चस्व कायम
प्रकाशमानलाई काठमाडौं–१ मा २०६४ देखि नै पार्टीभित्रबाट आन्तरिक असहयोग हुँदै आएको थियो। जसको नेतृत्व गरेका थिए नेता हरिबोल भट्टराईले। २०५६ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका भट्टराईले मात्र २६ मत पाएका थिए। 

त्यसअघि उनी २०५१ मा पनि यो क्षेत्रमा निर्वाचन लडेका थिए। २०५१ मा उनले एमालेका मनमोहन अधिकारीसँग प्रतिस्पर्धा गरेका थिए। अधिकारी २५ हजार ६२७ मत ल्याएर विजयी हुँदा भट्टराईले कांग्रेसबाट १३ हजार ६४८ मत पाएका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि प्रकाशमानसँग प्रतिस्पर्धामा उत्रिएका भट्टराईले १९६ मत पाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .