सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक शनिबार नै समाप्त गर्ने गरी तयारी भएको छ।
एक सातादेखि जारी रहेको स्थायी समितिको बैठकमा समितिमा सदस्यहरुले उठाएको प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै सक्ने योजनासहित तयारी गरिएको हो। ‘प्रतिवेदन तथा अन्य विषयमा उठेको विषयमा अध्यक्षले जवाफ दिने र अन्य निर्णयहरु गर्दै भोलीनै बैठक सक्ने योजना रहेको छ,’ महासचिव विष्णु पौडेलले नेपालखबरसँग भने।
बैठकका विषयमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। ‘आजको छलफलमा संसदीय दलको बैठकका विषयमा बढी केन्द्रित थियो’ महासचिव पौडेलले भने। बिहीबारको बैठकमा अध्यक्ष दाहाल र महासचिव पौडेल बाहेक सबै नेताहरुले धारणा राखेका छन्।
यसअघि बैठकमा अधिकांश सदस्यहरुले सरकार तथा पार्टी प्रभावकारी हुन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए। बैठकमा अमेरिकासँग भएको मेलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सहितका विषय सबैभन्दा टड्कारो रुपमा उठेको थियो।
नेताहरुले एमसीसी अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक स्टाट्रेजीका अंग भएको वा नभएको, सम्झौता संसदबाट अनुमोदन गरिनु पर्ने कारण, सरकारले जनमुखी काम गर्न नसकेको, पार्टीले सरकार नभै सरकारले पार्टी चलाएको जस्तो भएको बताएका थिए। एक वर्षपछि बसेको स्थायी समितिको बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
स्थायी समितिको बैठकमा सचिवालय समावेशी नभएको भन्दै समावेशी बनाउनका लागि त्यसलाई विस्तार गर्नुपर्ने धारणा पनि सांसदहरुले राखेका थिए। बैठकमा स्थायी कमिटीका सदस्यहरुले लिखित तथा मौखिक रुपमा अध्यक्षको प्रतिवेदनमाथि टिप्पणी गरेका थिए।
Shares

प्रतिक्रिया