ad ad

राजनीति


नयाँ सरकारका विषयमा माओवादीमा तीन धार

आफ्नै नेतृत्वमा बाहेक सरकारमा जान नहुने मत बलियो
नयाँ सरकारका विषयमा माओवादीमा तीन धार

सागर न्यौपाने
मंसिर ११, २०७९ आइतबार २१:२२, काठमाडौँ

निर्वाचन परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुग्दै गर्दा नयाँ सरकार गठनको कसरत सुरु भएको छ। दुई ठूला शक्ति नेपाली कांग्रेस र नेकपा एमालेले तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रलाई आआफ्नो पक्षमा तान्ने प्रयास थालेका छन्। 

त्यसका लागि औपचारिक/अनौपचारिक संवाद भइरहेका छन्। तर, नयाँ सरकारको विषयमा माओवादीभित्रै भने तीन धार देखिएको छ। सरकारमा जाने कि नजाने र कसको नेतृत्वमा जाने भन्ने विषयमा माओवादी नेताहरुको मत अलगअलग छ।

एकथरी नेताहरु आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्थामा मात्र सरकारमा जानुपर्ने बताउँछन्। त्यस्तो अवस्थामा नयाँ गठबन्धन भए पनि बनाउनुपर्ने उनीहरुको भनाइ छ। नयाँ गठबन्धन भनेको एमालेसँग गठबन्धन हो। पार्टीभित्र यो मत सबैभन्दा बलियो छ।

अर्काथरी नेताहरुको राय छ– जनमत हाम्रो पक्षमा छैन। सरकारमा जानै हुँदैन।

र, तेस्रो धार भने बहुमत पुर्याउन पहल गर्ने पार्टीलाई समर्थन गर्ने तर आफू सरकारमा जान नहुने अडानमा छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने अधिकांश नेताहरुले यी तीन विकल्प सुझाइरहेका छन्। प्रत्यक्ष र समानुपातिक तर्फको चुनावी नतिजा सन्तोषजनक नआएकोले तत्काल नयाँ सरकार निर्माणको कुनै गतिविधि नगर्न प्रचण्डलाई नेताहरुले सुझाव दिएका छन्। 

‘सरकार बनाउनसक्ने जनादेश हामीलाई प्राप्त छैन,’ उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नेपालखबरसँग भने, ‘कांग्रेस र एमालेले सरकार बनाउने सिट पाएका छन्। एक्लै सरकार बनाउन सक्ने अवस्था नभएकोले उनीहरुबाट सहकार्यको प्रस्ताव आइरहेको छ तर उनीहरुको पार्टीभित्र अन्तरसंघर्ष छ।’ 

प्रतिनिधि सभा र प्रदेश सभामा चुनावमा गठबन्धन गरेरै होमिएकाले अहिलेकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने अर्काे पक्षको सुझाव छ।

‘यो गठबन्धन तत्काल यताउता हुने देखिँदैन,’ अर्का पदाधिकारीले भने, ‘दुईचार दिनपछि पदाधिकारी वा स्थायी समिति बैठक बस्छ। अनि चुनावी समीक्षा, आगामी रणनीतिबारे एउटा ठोस कार्ययोजना बन्छ।’

नयाँ सरकार गठनको गृहकार्य गरिरहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए। उनले गठबन्धन कायम राखेर जानुपर्ने बताएका थिए। तर, प्रचण्डले सबै मतपरिणाम आएपछि मात्र विस्तृत छलफल गर्ने जवाफ दिएका थिए।

‘प्रधानमन्त्री र अध्यक्षबीच हिजो छलफल भएको थियो, प्रधानमन्त्रीले गठबन्धनको सरकार बनाउने कुरामा आशंका नगर्न भन्नुभएको रहेछ,’ पार्टी सचिव देवेन्द्र पौडेलले भने, ‘गठबन्धनकै सरकार बन्ने सम्भावना छ तर, पार्टीले निर्णय के गर्छ, यसै भन्न सकिँदैन।’

नयाँ सरकारको नेतृत्व गर्न पाउने सर्तमा नयाँ गठबन्धन बनाउन तयार हुनुपर्ने सुझाव केही नेताले प्रचण्डलाई दिएका छन्।

‘हामीले प्रधानमन्त्री चाहिन्छ भन्दैनौँ, दाबी गर्ने आधार पनि छैन,’ प्रवक्ता महराले थपे, ‘तर, पाएको अवस्थामा नेतृत्व किन नगर्ने, गर्नुपर्छ भन्ने मत बलियो छ।’

अर्का एक पदाधिकारी नेतृत्व नपाए सरकारलाई समर्थन दिए पनि आफू सहरकारमा सहभागी हुन नहुने धारणा राख्छन्।

‘आफ्नै नेतृत्वमा पाए जाने नत्र नजाने, बरु सरकारलाई समर्थन मात्र गर्छौ,’ अर्का एक पदाधिकारीले नेपालखबरसँग भने, ‘त्यसबेला प्राथमिकता यही गठबन्धन हुन्छ।’ 

प्रचण्ड भने अहिले पार्टीका नेताहरुसँग निरन्तर छलफलमा छन्।

‘चुनावी परिणाम सोचेजस्तो नआएकोले के गर्ने भनेर अध्यक्षले विभिन्न नेताहरुसँग छलफल गरिरहनुभएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सकिएपछि निर्णय हुन्छ।’

प्रत्यक्षमा १७ सिट जितेको माओवादीले समानुपातिकतर्फ १० लाख मत पाएको छ। यही दर कायम रहे माओवादीले समानुपातिकमा १२ लाख आसपास मत पाउने अपेक्षा गरेको छ।

चुनाव भएका १६५ मध्ये दोलखाको मतगणना भएको छैन। माओवादीको भागमा परेको दोलखामा अन्य क्षेत्रमा जस्तो ‘धोका’ नभए जितिने माओवादीको विश्लेषण छ।

त्यसो हुँदा सरकार निर्माणको निर्णायक एउटा शक्ति माओवादी पनि हुनेछ।

अहिलेसम्मको अवस्थालाई हेर्दा सरकार बनाउने शक्ति कांग्रेस र एमालेसँग भए पनि बहुमत छैन। तर, यी दुई दलभित्र एकमत नदेखिउन्जेल सहकार्यको लागि माओवादी खुलिहाल्ने पक्षमा देखिँदैन।

भित्रभित्र सरकार निर्माणको कसरत चलिरहेका बेला माओवादीका केही नेताहरु अब जनतातिर फर्किनुपर्ने तर्क गरिरहेका छन्।

‘अब सत्ताको दौडमा माओवादी लाग्नुहुन्न, सबै छोडेर पार्टी बनाउन लाग्नुपर्छ,’ प्रचण्डनिकट अर्का एक नेताले भने, ‘बाहिर बसेर पार्टी बनाए मात्र बलियो बनिन्छ भन्ने हाम्रो ठम्याइ अध्यक्षलाई राखेका छौँ।’

मन्त्री भएकैहरु चुनावमा नराम्ररी हारेको र जनताको पक्षमा काम गर्न नसकेको कारण पार्टी ध्वस्त भएको उनीहरुको भनाइ छ।

‘सत्तामा गए पनि सिट बढेन, जनताका पक्षमा काम गरेको अनुभूति नभएसम्म पार्टी बन्दैन, सबैतिर भद्रगोल भयो, संगठन चलेन, अध्यक्षलाई सरकार बनाउन मात्र निर्णायक बनाइयो,’ शनिबार प्रचण्डलाई भेटेर दिएको सुझाव उधृत गर्दै ती नेताले थपे, ‘अब पाँच वर्ष पार्टी बनाउन लाग्यौँ भने हामी पहिलो बन्छौँ।’

खुमलटार निवास पुगेका नेताहरुसँग प्रचण्डले सरकार निर्माण आफनो प्राथमिकता नहुने र फेरि पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .