राजनीति


मसालको ठहर : कांग्रेसको कोइराला पक्ष गठबन्धन हराउन लाग्यो, केही जिल्लामा माओवादीभित्र अन्तर्घात

मसालको ठहर : कांग्रेसको कोइराला पक्ष गठबन्धन हराउन लाग्यो, केही जिल्लामा माओवादीभित्र अन्तर्घात

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १८:४७, काठमाडौँ

नेकपा (मसाल) ले नेपाली कांग्रेसको शेखर कोइराला पक्ष देशब्यापी गठबन्धन र आफ्नै पार्टीको संस्थापन पक्षका उम्मेदवारलाई हराउन लागिपरेको ठहर गरेको छ। 

मसालको हालै सम्पन्न बैठकले चुनावबारे समीक्षा गर्दै पाँचदलीय गठबन्धनलाई सोचेजस्तो सफलता नहुनुमा कांग्रेसको विपक्षी समूहको हात रहेको ठहर गरेको हो। साथै, माओवादीभित्र पनि कतिपय जिल्लामा अन्तर्घात भएको मसालको ठहर छ। 

महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा प्युठान र अर्घाखाँचीमा माओवादीको एक पक्ष गठबन्धनका उम्मेदवारलाई हराउन लागि परेको बताइएको छ। त्यही कारण प्युठानमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेलका साथै माओवादी केन्द्रका प्रदेश उम्मेदवार कृष्ण अधिकारीको हार भएको वक्तव्यमा उल्लेख छ।

मसालले मंसिर ४ गतेको निर्वाचनले प्रतिगमनलाई पराजित गरेको बताएको छ। 

मसालले गठबन्धनभित्रका कतिपय कमजोरी, अन्तरविरोध वा गलत सोचाइका कारणले गठबन्धनलाई पूर्ण सफलता प्राप्त हुन नसकेको पनि स्पष्ट पारेको छ। 

‘नेकाभित्रको प्रतिपक्षले गठबन्धन वा आफ्नै पार्टीका उम्मेदवारलाई पनि हराउने जुन नीति लिएको थियो, त्यसका दुईओटा उद्देश्यहरु भएको कुरा प्रष्ट छः प्रथम– चुनावपछि आफ्नो पार्टीको संस्थापन पक्षलाई नेतृत्वमा आउन नदिने। द्वितीय– गठबन्धनलाई पूरा बहुमतमा आउन नदिने र त्यसरी नेकाको एमालेसित गठबन्धन सरकारको निर्माणका लागि आधार तयार पार्ने’ वक्तव्यमा भनिएको छ, ‘नेकाभित्रको प्रतिपक्षले एमालेसित त्यस प्रकारको गठबन्धन सरकारको सम्भावनाको पक्षमा पनि अभिव्यक्ति दिएका कैयौँ उदाहरण पाइन्छन्। त्यसका लागि नै उनीहरूले विभिन्न निर्वाचन क्षेत्रहरुमा गठबन्धन पक्षका वा आफ्ना पार्टीका पनि कैयौँ उम्मेदवारलाई हराउन वा एमालेका उम्मेदवारलाई जिताउन षड्यन्त्र गरेको पाइन्छ। त्यसैले पाँचदलीय गठबन्धन चुनावमा प्रतिगमनलाई पराजित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सफल भएपनि त्यो चुनावपछि जसरी सशक्त रूपमा अगाडि आउन सक्दथ्यो, पर्दथ्यो वा सम्भव थियो, त्यो हुन सकेन।’

यस्तै, मसालले विदेशी चलखेल बढ्दै गएको ठहर पनि गरेको छ। विदेशी चलखेल निर्वाचनमा समेत प्रकट भएको मसालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .