मंसिर ४ को निर्वाचनपछि सरकार निर्माणमा जटिलता बढिरहेका बेला सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छुट्टै वार्ता भएको छ।
प्रचण्ड खुमलटारबाट अध्यक्ष नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। त्यसपछि उनीहरु त्यहाँ वार्ता सकेपछि अलग अलग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निस्किएकाछन्।
मंसिर ४ को निर्वाचनबाट धक्का ब्यहोरेको माओवादी अहिलेकै गठबन्धन अघि बढाउने या नयाँ विकल्पमा जानेबारे अझै अलमलमा छ।
शनिबार र आइतवार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा माओवादी नेताहरुबीच कांग्रेससहितको गठबन्धनमै रहने या विकल्पमा जाने भन्नेमा मतान्तर भएको थियो।
बहुमत जुटाउन पनि मुस्किल पर्ने सिट आएको अवस्थामा सत्ता गठबन्धनबाट शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल तीनै शीर्ष नेता प्रधानमन्त्रीको दौडमा देखिएका छन्।
देउवाले पहिलो दल भएकाले आफूले सरकारको नेतृत्व गर्नुपर्न मत राखेका छन्। उता माओवादी अध्यक्ष प्रचण्ड पनि सके यही गठबन्धबाट नभए अर्को गठबन्धन बनाएर भए पनि प्रधानमन्त्री हुने दौडमा देखिएका छन्।
मत खुम्चिन पुगेपछि प्रचण्ड र माधव नेपालबीच पार्टी एक बनाएर जाने दिशामा पनि छलफल जारी छ। तर माओवादीसँग मिल्ने कुरालाई लिएर समाजवादीमा ठूलो विवाद छ।
कोटेश्वरमा भएको उक्त वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। त्यही वार्ताका क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि मिसिन पुगेका थिए।
राउत सत्ता गठबन्धनका लागि बहुमत पुर्याउने महत्वपूर्ण हिस्सा भएका छन्। उनलाई सत्ता गठबन्धनले निरन्तर फकाइरहेको छ।
प्रतिक्रिया