ad ad

राजनीति


सत्ताको दौडधुप : कांग्रेस र एमालेका दूत खुमलटार धाउँदा प्रचण्ड कोटेश्वरतिर

सत्ताको दौडधुप : कांग्रेस र एमालेका दूत खुमलटार धाउँदा प्रचण्ड कोटेश्वरतिर

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०७९ सोमबार १८:९, काठमाडौँ

मंसिर ४ को निर्वाचनबाट स्पष्ट बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनलाई सरकार बनाउन अफ्ठ्यारो पारेको छ।

बहुमत नल्याए पनि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले सरकार निर्माण तयारी अघि बढाइसकेको छ। 

प्रत्यक्षको परिणाम सकिएर समानुपातिकको अन्तिम चरणमा पुगिरहँदा गठबन्धन दलका नेताहरु स्पष्ट बहुमत जुटाउन साना दल तान्ने कोसिसमा छन्।

तर त्योभन्दा पनि पेचिलो विषय गठबन्धनमा प्रधानमन्त्रीका धेरै आकांक्षीका कारण भएको छ।

गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्रीको आकांक्षा राखेका छन्।

माओवादी र समाजवादी अध्यक्षद्वय सजिलै संसदीय दलको नेता बन्ने अवस्था छ। तर यता कांग्रेसमा देउवालाई महामन्त्री गगनकुमार थापा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितले चुनौती दिने सम्भावना छ।

दलको नेतामा दुईभन्दा धेरै दाबेदार देखिएको कांग्रेसले आफैं सरकारको नेतृत्व लिने गरी गठबन्धन दललाई फकाउन लागिरहेको छ।

सरकार निर्माणको रस्साकस्सी चलिरहँदा सोमबार प्रधानमन्त्रीसमेत रहेका देउवाले दुईजना दूतलाई प्रचण्डनिवास खुमलटार पठाए।

अपरान्ह सत्ता गठबन्धन बैठक बस्नुअघि सुरुमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की खुमलटार पुगे।

नयाँ सत्ता समीकरणका लागि निर्णायक बनेको माओवादी अध्यक्ष प्रचण्ड निवासमा सोमबार बिहान कार्कीले संवाद गरेका हुन्। 

कार्कीले प्रचण्डसँग सम्भावित सत्ता साझेदारी र पद बाँडफाँटसहितका विषयमा देउवाको सन्देशसहित लामो छलफल गरेका थिए। 

गठबन्धन बैठकअघि देउवाका अर्का विश्वास पात्र गृहमन्त्री बालकृष्ण खाणले पनि खुमलटार पुगे। 

दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

नयाँ जनमतमा तेस्रो दल बनेको माओवादीले अध्यक्ष प्रचण्डलाई कांग्रेससँगको समझदारीमा प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेको छ।

एमाले दूत पनि 
अर्कातिर यो निर्वाचनबाट दोस्रो दलका रुपमा जनमत पाएको नेकपा एमालेका एकजना नेता पनि सोमबार खुमलटार पुगे।

महासेठले खुमलटार पुगेर प्रचण्डसँग संवाद गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका एकजना विश्वासपात्र महासेठले प्रचण्डलाई भेटेको पुष्टि गरेका छन्। 
 

महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिएको बताएका छन्। उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकट सम्बन्ध रहेकाले आफू खुमलटार पुगेको खुलाएका छन्। 

तर उनले सत्ता गठबन्धनबारे कुनै कुरा नभएको बताएका छन्। यद्यपि उनी एमाले अध्यक्ष ओलीका दूतका रुपमा खुमलटार पुगेका थिए। 

पछिल्लो समय सरकार गठनलाई लिएर दलहरुबीच तानातान छ। यसअघि निर्वाचनलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए। 

त्यसक्रममा ओलीले अब मिलेर जान सकिने प्रस्ताव गरेको दाबी प्रचण्डको सचिवालयले गरेको थियो। तर प्रचण्डले ओलीलाई केही समय कुरेर अघि बढ्ने जवाफ त्यसबेला दिएका थिए। 

दाहाल कोटेश्वरमा
कांग्रेस र एमालेका दूत खुमलटारमा धाइरहेका बेला प्रचण्ड भने बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्नुअघि कोटेश्वर पुगे। 

प्रचण्डले कोटेश्वर पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग अलग्गै वार्ता गरे। 

गत भदौमै पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति गरेका यी दुई दलका नेताबीच गठबन्धन बैठकअघि भएको वार्तालाई अर्थपूर्ण भनिएको छ।

कोटेश्वरमा भएको उक्त वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। त्यही वार्ताका क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि मिसिन पुगेका थिए।

प्रचण्ड खुमलटारमा एमाले र कांग्रेसका दूतहरुसँग संवादपछि अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका थिएन्। त्यसपछि उनीहरु त्यहाँ वार्ता सकेर अलग अलग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निस्किए।

मंसिर ४ को निर्वाचनबाट धक्का ब्यहोरेको माओवादी अहिलेकै गठबन्धन अघि बढाउने या नयाँ विकल्पमा जानेबारे अझै अलमलमा छ।

शनिबार र आइतवार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा माओवादी नेताहरुबीच कांग्रेससहितको गठबन्धनमै रहने या विकल्पमा जाने भन्नेमा मतान्तर भएको थियो। 

बहुमत जुटाउन पनि मुस्किल पर्ने सिट आएको अवस्थामा सत्ता गठबन्धनबाट शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल तीनै शीर्ष नेता प्रधानमन्त्रीको दौडमा देखिएका छन्। 

देउवाले पहिलो दल भएकाले आफूले सरकारको नेतृत्व गर्नुपर्न मत राखेका छन्। उता माओवादी अध्यक्ष प्रचण्ड पनि सके यही गठबन्धबाट नभए अर्को गठबन्धन बनाएर भए पनि प्रधानमन्त्री हुने दौडमा देखिएका छन्। 

मत खुम्चिन पुगेपछि प्रचण्ड र माधव नेपालबीच पार्टी एक बनाएर जाने दिशामा पनि छलफल जारी छ। तर माओवादीसँग मिल्ने कुरालाई लिएर समाजवादीमा ठूलो विवाद छ। 

राउत सत्ता गठबन्धनका लागि बहुमत पुर्‍याउने महत्वपूर्ण हिस्सा भएका छन्। उनलाई सत्ता गठबन्धनले निरन्तर फकाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .