ad ad

राजनीति


यी १५ मध्ये ७ जना बन्दैछन् राप्रपाबाट समानुपातिक सांसद

यी १५ मध्ये ७ जना बन्दैछन् राप्रपाबाट समानुपातिक सांसद

केशव सावद
मंसिर २२, २०७९ बिहिबार ६:४३, काठमाडौँ

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट सात राजनीतिक पार्टीहरु राष्ट्रिय दल बनेका छन्। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी राष्ट्रिय पार्टी बनेका हुन्।

राष्ट्रिय पार्टी बन्न प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनुपर्छ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। जसबाट ३२ समानुपातिक सांसद थप्दै कांग्रेस ८९ सिटसहित प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको छ। 

प्रत्यक्षमा ४४ सिट जितेर दोस्रो भएको एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। जसबाट ३४ समानुपातिक सांसद थपिँदा एमाले ७८ सिटका साथ प्रतिनिधि सभामा दोस्रो दल बनेको छ। अघिल्लो चुनावमा भने एमाले पहिलो दल बनेको थियो। 

प्रत्यक्षमा १८ सिट जितेको माओवादी केन्द्र समानुपातिकतर्फको ११ लाख ७५ हजार ६ सय ८४ मतबाट १४ सिट थपेर ३२ सिटका साथ प्रतिनिधि सभामा तेस्रो शक्ति बनेको छ।

पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ। उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएको छ। जसबाट १३ सिट थप्दै कुल २० सिटका साथ राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बनेको छ। 

राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा राष्ट्रिय राजनीतिको पाँचौँ शक्ति बन्न सफल भएको छ। २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिटमा खुम्चिएको राप्रपाले यसपालि ७ सिट जितेको छ। उसले समानुपातिकतर्फ पाएको ५ लाख ८८ हजार ८ सय ४९ मतबाट थप ७ सिट जोडेर कुल सिट संख्या १४ पुर्याएको छ। 

राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा प्रतिनिधि सभामा समानुपातिकतर्फ सदस्यहरु चुनिने छन्। संवैधानिक व्यवस्थाअनुसार तीमध्ये राप्रपाले बन्दसूचीमा परेका दुई महिलालाई अनिवार्य प्रतिनिधि सभा सदस्य बनाउनु पर्ने छ। 

सबै दलले कम्तीमा ३३ प्रतिशत महिला सांसद अनिवार्य निर्वाचित गराउनै पर्ने संवैधानिक व्यवस्था छ। दलहरुले यो ३३ प्रतिशत अनुपात राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर पुर्याउनु पर्ने हुन्छ। 

प्रतिनिधि सभाका तीन ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले समानुपातिकतर्फ सांसद बनाउने महिलाको नाम लगभग तय भए पनि राप्रपाले भने नाम अझै तय नभएको जनाएको छ। 

‘अहिले नै समानुपातिकतर्फ को–को सांसद बन्नुहुन्छ भन्ने बारेमा टुंगो लाग्ने कुरो होइन,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नेपालखबरसँग भने, ‘निर्वाचन आयोगले भनेअनुसार पार्टीले क्लस्टरहरुबाट समानुपातिक सांसदमा प्रतिनिधित्व गराउँछ।’ 

विद्यमान संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभामा आदिवासी–जनजाति २८.७० प्रतिशत, खस–आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी १५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ। जसअनुसार विभिन्न क्लस्टरअन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा नाम समावेश भएका १५ जनाबाट राप्रपाले ७ सदस्य छान्नु पर्ने देखिन्छ। 

विभिन्न क्लस्टरअन्र्तगत पहिलो नम्बरमा बन्दसूचीभित्र पर्न सफल बुद्धिमान तामाङ, बिना लामा, सुमित्रा गुरुङ, पशुपति शमशेर जबरा, रोशन कार्की, देवकुमारी पराजुली, कृष्णमाया हिताङ, गिरिधारीप्रसाद चौधरी, शिलाकुमारी थारु, ऋषिबाबु परियार, अनिसा नेपाली, प्रह्लादप्रसाद साह, बिना जयसवाल, अन्जरा आलम र नाजिया खातुन मध्ये ७ जना समानुपातिक सांसद हुने निश्चित छ। 

बुद्धिमान तामाङ आदिवासी–जनजाति क्लस्टरअन्तर्गत पुरुषबाट र बिना लामा महिलाबाट पहिलो नम्बरमा पार्टीको बन्दसूचीमा परेका छन्। पशुपति शमशेर जबरा खस–आर्य क्लस्टरमा पुरुषतर्फ र रोशन कार्की महिलातर्फ बन्दसूचीको १ नम्बरमा राखिएका छन्। 

पिछडिएको क्षेत्रबाट आदिवासी–जनजाति क्लस्टरअन्तर्गत महिलातर्फ सुमित्रा गुरुङ, खस–आर्य क्लस्टरमा महिलातर्फ कृष्णमाया हिताङ तथा पुरुषतर्फ श्यामबहादुर शाहीको नाम बन्दसूचीको पहिलो नम्बरमा समावेश छ।

खस–आर्य क्लस्टरमा अपाङ्गता भएकाबाट देवकुमारी पराजुलीलाई, थारु क्लस्टरमा पुरुषतर्फ गिरिधारीप्रसाद चौधरी र महिलातर्फ शिलाकुमारी थारुलाई, दलित क्लस्टरमा पुरुषतर्फ ऋषिबाबु परियार र महिलातर्फ अनिसा नेपालीलाई १ नम्बरमा राखेर राप्रपाले बन्दसूची बुझाएको छ। 

यस्तै मधेशी क्लस्टरमा पुरुषबाट प्रह्लादप्रसाद साह र महिलाबाट बिना जयसवाल तथा मुस्लिम क्लस्टरमा पुरुषबाट अन्जरा आलम र महिलाबाट नाजिया खातुनको नाम बन्दसूचीमा पहिलो क्रममा सूचीकृत छ। 

राप्रपाबाट राजेन्द्र लिङ्देन (झापा–३), धवलशमशेर जबरा (बाँके–२), दीपक बोहरा (रुपन्देही–३), विक्रम पाण्डे (चितवन–३), ज्ञानेन्द्रबहादुर शाही (जुम्ला), दीपकबहादुर सिंह (मकवानपुर–१) र धु्रवबहादुर प्रधान (नवलपरासी–२) प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने सांसदमा पर्दछन्। 

दलको नेता सर्वसम्मत चयन गरिने
राप्रपाले संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने तयारी गरेको छ। प्रवक्ता श्रेष्ठले दलको नेता सर्वसम्मत चयन हुने जानकारी दिए। उनले अध्यक्ष लिङ्देन नै दलको नेता हुने पनि दाबी गरे। अध्यक्ष लिङ्देनको नेतृत्वमा चुनावमा गएको राप्रपा ठूलो फड्को मार्न सफल भएका कारण उनी नै दलको नेता हुने श्रेष्ठको भनाइ छ। 

‘हाम्रो पार्टीले सर्वसम्मत नै दलको नेता चयन गर्छ। अरु आकांक्षी देखिएका छैनन्,’ उनले नेपालखबरसँग भने, ‘अध्यक्षको नेतृत्वमा चुनावमा गयौं। समाप्त प्रायः भएको पार्टी उहाँकै नेतृत्वमा ठूलो फड्को मार्न सफल भएको छ। अध्यक्ष नै दलका नेता बन्नुहुन्छ।’

उनले एक सिटे राप्रपा १४ सिट पुर्याएर पाँचौँ शक्ति बन्नुको सम्पूर्ण श्रेय अध्यक्ष लिङ्देनलाई जाने पनि जिकिर गरे। 

‘यसअघि हाम्रो प्रत्यक्षतर्फ एक सिट मात्रै थियो। हामी राष्ट्रिय पार्टी थिएनौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘आज पाँचौँ ठूलो दल बन्न सफल भएका छौं। अध्यक्षको नेतृत्वमा चुनावमा गयौँ। यसको जस स्वाभाविक रुपमा उहाँले नै पाउनुहुन्छ भन्ने धारणा पार्टीपंक्तिको छ।’

गत मंसिर तेस्रो साता सम्पन्न महाधिवेशनपछि पार्टीले नयाँ नेतृत्व पाएसँगै जनतामा नयाँ विश्वास जागृत भएको राप्रपाको ठहर छ। 

‘गएको मंसिर १९ मा सम्पन्न भएको महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सफल भयौं। लगभग समाप्तिको दिशामा गएको पार्टी अहिले सकारात्मक सन्देश दिन सफल भएको छ,’ श्रेष्ठले भने, ‘जनमत सिर्जना भयो। राजसंस्था र हिन्दु राष्ट्रका पक्षधर सुषुप्त अवस्थामा थिए। उनीहरु पनि जागरुक भए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .