राजनीति


कांग्रेस विभाजन भए त्यसको जिम्मेवारी गगन थापाले लिनुपर्छ: शशांक

कांग्रेस विभाजन भए त्यसको जिम्मेवारी गगन थापाले लिनुपर्छ: शशांक

नेपालखबर
साउन ६, २०८३ बुधबार १६:५१, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिष्पर्धा समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।

बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। उनले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताए।

‘अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ’, कोइरालाले भने।

उनले अहिले मुलुकले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेको बताउँदै बीपी कोइरालाले लामो निर्वासनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै यी चुनौतीहरूको सामना गर्ने सामर्थ्य आज कांग्रेसले राख्न सक्नुपर्ने उल्लेख गरे। 

उनले भने, ‘लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप चिर्दै मुलुकलाई सही दिशा दिन जिम्मेवार राजनीतिक शक्तिहरूले परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता हो।’

उनले लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ्य प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्न नहुने बताए।

पूर्वमहामन्त्री कोइरालाले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएको बताउँदै विचारको भिन्नतालाई विभाजनको आधार होइन, साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad