राजनीति


सरकार र वकिलहरुको अवरोधपछि सर्वोच्चमा हाजिर गर्न आएनन् चोलेन्द्र

सरकार र वकिलहरुको अवरोधपछि सर्वोच्चमा हाजिर गर्न आएनन् चोलेन्द्र

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७९ बुधबार १६:३०, काठमाडौँ

सरकार र वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बुधबार सर्वोच्च अदालत फर्किन सकेनन्। 

संसद सचिवालयका महासचिव भरतराज गौतमले २०७८ फागुन १ गते संसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि चोलेन्द्र सर्वोच्च फर्किने तयारीमा थिए।

तर चोलेन्द्र फर्किने खबर पाएपछि सर्वोच्चमा फुलकोर्ट बसेको थियो भने नेपाल बारका पदाधिकारीको पनि बैठक भयो।

बारका पदाधिकारीहरु बैठकलगत्तै चोलेन्द्रलाई रोक्न सर्वोच्चको गेटमा धर्ना बसे। संसद सचिवालयले महाअभियोग निष्प्रभावी भइसकेको पत्र दिए पनि सरकारले उनलाई सर्वोच्च छिर्न नदिन निर्देशन नै दियो। 

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा छिर्न खोजे रोक्न निर्देशन दिएको थियो। 

सरकारको निर्देशन र वकिलहरुको पनि अवरोधका कारण जबरा सर्वोच्च फर्किन सकेनन्। उनले दिउँसो ३ बजे आफू सर्वोच्चमा हाजिर हुने बताएका थिए।

बिहीबार सार्वजनिक बिदा भएकाले बुधबार नै सर्वोच्च पुगेर हाजिर गर्ने तयारीमा उनी थिए। तर बुधबार कार्यालय समय सकिँदासम्म सर्वोच्चमा आएनन्। 

उनी नआउने भएपछि धर्नामा बसेकामध्ये अधिकांश वकिलहरु त्यहाँबाट हिँडेका छन्। जबरलाई रोक्न सरकारको निर्देशन आएसँगै सर्वोच्चको गेटमा ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो। 

यसअघि गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिँदा पनि चोलेन्द्रले सर्वोच्च फर्किन खोजेका थिए।

तर उनलाई बालुवाटारस्थित निवासमै सुरक्षाकर्मी परिचालन गरेर त्यसबेला पनि रोकिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .